- उमाशङ्कर द्विवेदी
श्रीकृष्णका यस्तोे कुरा सुनेर अर्जुनले त्यो बज्रतुल्य बाण हानिदिए । त्यस बाणले सिन्धुराज जयद्रथको शिर काटेर हुचिल चराझैं लिई आकाशमा उड्दै समन्तपञ्चक क्षेत्रको बाहिर लिएर गई सन्ध्योपासन गरिरहेका राजा वृद्धक्षत्रको काखमा खसालिदियो । राजा वृद्धक्षत्रले यसबारे चालै पनि पाएनन् । उनी सन्ध्योपासन गरेर उठ्ने बित्तिक्कै जयद्रथको काटिएको शिर उनको काखबाट ढलेर भुइँमा खस्यो तथा त्यो शिर भुइँमा खस्ने बित्तिक्कै राजा वृद्धक्षत्रको शिरको एक सयवटा टुक्रा
भयो ।
राजन्, यस प्रकार अर्जुनले जयद्रथलाई मारिदिएपछि श्रीकृष्णले त्यस अन्धकारलाइ हटाइदिए । अनि तपाईंका पुत्रहरूले थाहा पाए कि यी सबै त श्रीकृष्णले रचेको माया मात्र थियो । यस प्रकार अर्जुनले आठ अक्षौहिणी सेनाको संहार गरेर तपाईंको ज्वाइँ जयद्रथको वध गरे । जयद्रथ मारिएको हेरेर तपाईंका पुत्रहरूले बलिन्द्र धारा अश्रु चुहाउन थाले । उनीहरू आफ्नो विजयको विषयमा निराश भए । यता जयद्रथको वध भएपछि श्रीकृष्ण, अर्जुन, भीमसेन, सात्यकि, युधामन्यु र उत्तमौजाले आआफ्नो शङ्ख बजाए । त्यस महान् शङ्खनादको गम्भीर स्वर सुनेर अर्जुनले सिन्धुराज जयद्रथलाई मारिदिए भन्ने कुरा धर्मराजले थाहा पाइहाले । अनि उनले विभिन्न थरीका बाजा बजाउन लगाएर आफ्ना योद्धाहरूलाई हर्षित पारे । उनले द्रोणाचार्यसित युद्ध गर्नको निम्ति द्रोणाचार्यमाथि आक्रमण गरे । गोधूली बेलामा सोमकहरूका साथ आचार्य द्रोणको रोमाञ्चकारी युद्ध हुन थाल्यो । ती सबै द्रोणको प्राणको ग्राहक भई उनीसित युद्ध गर्न थाले । यता वीरवर अर्जुन पनि आफ्नो प्रतिज्ञा पूर्ण गरेर चारैतिरबाट तपाईंका सेनाको संहार गर्न थाले ।
धृतराष्ट्रले सोधे– सञ्जय, अर्जुनले जयद्रथलाई मारेपछि मेरो पक्षका योद्धाहरूले के गरे ?
सञ्जयले भने– महाराज, सिन्धुराजलाई युद्धमा अर्जुनको हातबाट मारिएको हेरेर कृपाचार्यले क्रोधित भई उनीमाथि भीषण बाणवर्षा गर्न आरम्भ गरे । अर्कोतिरबाट अश्वत्थामाले पनि आक्रमण गरे । अनि दुवैतिरबाट अर्जुनमाथि बाणवर्षा हुन थाल्यो । यसबाट अर्जुनलाई बडो व्यथा भयो । कृपाचार्य अर्जुनका गुरु थिए भने अश्वत्थामा गुरुपुत्र । अतः अर्जुनले ती दुवैको प्राणहरण गर्न चाहिरहेका थिएनन्, त्यसैले उनी तिनीहरूमाथि बिस्तारै बाण हानिरहेका थिए तापनि अर्जुनले हानेका कम्ता घातक बाणहरूबाट पनि उनीहरूलाई अत्यन्त भीषण चोट पु¥याउँदथ्यो । अधिक बाण लाग्नाको कारण उनीहरूलाई अत्यन्त वेदना भयो । कृपाचार्य त रथको पछाडिको भागमा गई बसे तथा मूर्छित भइहाले । यो हेरेर उनको सारथिले रथलाई युद्धस्थलबाट बाहिर लिएर गयो । उनी युद्धस्थलबाट हट्ने बित्तिक्कै अश्वत्थामा पनि युद्धस्थलबाट भागिहाले । कृपाचार्यलाई आफ्नो बाणको पीडाले मूर्छित भएको हेरेर अर्जुनलाई उनीप्रति दया लागेर आयो, उनको आँखाबाट अश्रुधारा बग्न थाल्यो तथा उनी धेरै दीन भएर रथमाथि बसेर विलाप गर्न थाले– पापी दुर्योधन जन्मदै महाबुद्धिमान् विदुरजीले राजा धृतराष्ट्रसित भनेका थिए– यो बालक आफ्नो वंशको नाश गर्ने खालको छ, यसलाई मृत्युको जिम्मा सुम्पिदिए मात्र कुशल हुनेछ । यसबाट कुरुवंशका प्रमुख महारथीहरूलाई महान् भय प्राप्त हुनेछ । ती सत्यवादी महात्माले भनेको कुरा आज प्रत्यक्ष भएको छ । दुर्योधनको कारणले नै आज मैले आफ्ना गुरुलाई बाणशøयामाथि सुतिरहेको हेर्नुपरिरहेको छ । क्षत्रियहरूको यस्तो आचार र बलपौरुषलाई धिक्कार छ । मजस्तो कुन मानिसले ब्राह्मण, आचार्यसित द्रोह गर्नेछ ? हरे, शरद्वान ऋषिका पुत्र, मेरो आचार्य र गुरु द्रोणका परम सखा यी कृप आज मेरै बाणबाट पीडित भई रथमा मूर्छित अवस्थामा परेका छन् । इच्छा नहँुदा नहँुदै पनि यिनलाई मैले बाणबाट धेरै घाइते पारिदिएको छु । अब यिनलाई व्यथित भएको हेरेर मलाई बडो कष्ट भइरहेको छ । पहिलेको कुरा हो, एक दिन अस्त्रविद्याको शिक्षा दिंदै आचार्य कृपले मसित भनेका थिए–पाण्डुनन्दन, शिष्यले गुरुमाथि कुनै पनि किसिमको प्रहार गर्नुहँुदैन । ती साधु, महात्मा एवं आचार्यको त्यस आदेशलाई आज मैले युद्धमा पालन गर्न सकिनँ, गोविन्द, मलाई धिक्कार छ ।
अर्जुनले यस प्रकार विलाप गरिरहँदा राधानन्दन कर्ण सिन्धुराजलाई मारिएको हेरेर अर्जुनमाथि आइलागे । यो हेरेर पाञ्चालराजका दुवै पुत्र र सात्यकिले कर्णमाथि धावा गरे । महारथी अर्जुनले कर्णलाई आइरहेको हेरेर हाँस्दै देवकीनन्दन श्रीकृष्णसित भने– जनार्दन, यो हेर्नुहोस्, कर्ण सात्यकिको रथतिर हानिंदै गइरहेको छ । युद्धमा सात्यकिले भूरिश्रवालाई मारिदिएका छन्, जसलाई कर्णले सहन गर्न सकिरहेका छैनन् । अतः जहाँ कर्ण गइरहेका छन्, तपाईंले रथलाई उतैतिर हाँक्नुहोस् । अर्जुनले यस्तो भनेपछि भगवान् श्रीकृष्णले यस्तो समयोचित कुरा भने– पाण्डुनन्दन, कर्णको लागि सात्यकि एक्लै नै पर्याप्त छन्, फेरि पाञ्चालराजका दुईटा छोरा पनि त छँदैछन् । यतिबेला तपाईंले कर्णसित युद्ध गर्न उचित हँुदैन, किनकि उनीसित इन्द्रले दिएको अमोघ शक्ति छ, तपाईंलाई मार्नको लागि कर्णले बडो यत्नका साथ त्यसलाई आफूसित राख्दछन् र नियमित त्यसको पूजा गर्दछन् । अतः कर्णलाई जस्तै भएपनि सात्यकिको छेउमा जान दिनुहोस् । म त्यस दुरात्माको अन्तकालको बारेमा जान्दछु, समय आएपछि त्यसबारेमा भन्नेछु, अनि तपाईंले आफ्नो बाणबाट उसलाई यस भूतलमा मारी सोत्तर पार्नुहुनेछ । क्रमशः…