काबुल, १२ वैशाख/एएनआई
अफगानिस्तानको सामंगन प्रान्तमा अज्ञात बन्दूकधारीहरूले आक्रमण गर्दा कोइलाखानीमा कार्यरत कामदार मारिएका प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएको छ ।
स्थानीय तालिबानी अधिकारीहरूका अनुसार उक्त घटना मङ्गलवार दिउँसो बाल्ख प्रान्तको सिमानामा रहेको प्रान्तको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो ।
एक सरकारी समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरूमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो । मारिनेहरू सबै जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ । उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
यसैबीच अफगानिस्तानभरि हालैका घटनाहरूमा थुप्रै सर्वसाधारणको हत्या भएको छ ।
अफगानिस्तानका थुप्रै शहरहरूमा बम विस्फोटको स्ट्रिङले युद्धग्रस्त देशका जनतालाई आतङ्कमुक्त प्रशासन प्रदान गर्ने तालिबानीहरूको दाबीबारे प्रश्न उब्जाएको छ । विश्व समुदाय भने अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानबारे चिन्तित छ ।
अफगानिस्तानमा तालिबानी शासनले बारम्बार विजयको दाबी गरेको र अफगानिस्तानमा शान्ति र स्थायित्वको आश्वासन दिए पनि धेरै शहरहरूमा बम विस्फोट र आक्रमणको शृङ्खलाले त्यसलाई थप चिन्तित तुल्याएको छ ।
हालैका दिनमा भएका आक्रमणको क्रमको संयुक्त राष्ट्रसङ्घ, पूर्व अफगान राजनीतिज्ञहरू साथै मानव अधिकार समूहहलगायत विश्व समुदायले निन्दा गरेको छ । रासस