प्रस, वीरगंज, १२ वैशाख/

वीरगंज महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दोस्रो दिन मुख्य दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमाले, लोसपा र राप्रपा नेपालको गठबन्धनबाट नगरप्रमुखमा निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेलगायतको गठबन्धनबाट चारवटा वडामा लोसपा र राप्रपा नेपालले उम्मेदवारी दर्ता गराएका छन् भने २८ वटा वडामा एमालेतर्फबाट वडाध्यक्ष र वडासदस्यको उम्मेदवारी दर्ता भएको बताइएको छ।

सत्तारूढ गठबन्धनबाट जसपाका नेता राजेशमान सिंहले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। सोही गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेता इम्तियाज आलमले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ गठबन्धनबाट वीरगंज महानगरपालिकाको ३२ वटा वडामा भागबन्डा अनुसार वडाध्यक्ष र वडासदस्यहरूको उम्मेदवारी दर्ता गराएको नेकालगायत गठबन्धन दलका नेताहरूले बताएका छन्।

वीरगंज महानगरको प्रमुखमा राप्रपाबाट पत्रकार गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा सोही पार्टीबाट वीणा जयसवालको उम्मेदवारी परेको छ।

अन्तिम दिन सोमवार बिहान १० देखि साँझ ५ बजेसम्मको उम्मेदवारी दर्ताको लागि समयतालिका रहे तापनि मुख्य दलहरू अपराह्न २ बजेपछि मात्रै उम्मेदवारी दर्ताका लागि जुलुस लिएर पुगेका थिए। विभिन्न पार्टीका उम्मेदवारहरू बाजागाजासहित नारा जुलुस लगाउँदै उम्मेदवारी दर्ता गर्न जिल्ला समन्वय समितिस्थित निर्वाचन कार्यालय पुग्दा सो क्षेत्रमा चुनावी मेला लागेको थियो।

दर्जनौं आकाङ्क्षीहरूले लाम लागेर उम्मेदवारी दर्ता गराएका कारण वीरगंज महानगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्यलगायत पदमा कतिजनाको उम्मेदवारी प–यो भन्ने विषयमा अबेर रातिसम्म तथ्याङ्क आउने निर्वाचन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here