गठबन्धनको शाब्दिक अर्थ एकै उद्देश्यका लागि भेला भएका विभिन्न व्यक्तिहरूको समूहको रूपमा गर्न सकिन्छ । यस अर्थमा यो तात्कालिक मित्रताजस्तै हो । अहिले देशमा पाँच राजनीतिक दलहरूको सत्ता गठबन्धन बनेको छ । अर्थात् सत्तामा बस्नका लागि पाँच विभिन्न राजनीतिक मत भएका दलहरूबीच मित्रता भएको छ । सबैको समान उद्देश्य छ–सत्तामा बस्नु र यसै मेसोमा स्थानीय तहमा आफ्नो पहुँच बढाउनु । सोही उद्देश्यका लागि गठबन्धनभित्रका दलहरूले देशका महानगरपालिका र उपमहानगरपालिकाहरूमा साझा उम्मेदवार उठाउने फैसला गरे । पाँच दलका शीर्ष नेताहरूले पार्टीको स्वार्थ देखाएर कार्यकर्ताहरूलाई सन्तुष्ट पार्ने कोशिश गरेका छन् तर गठबन्धनको पछिल्लो कार्ययोजनाले समाहित साना दलहरूमा नैराश्य छाएको छ । साना दलहरू, खासगरी नेकपा (एस) गठबन्धनका दुई ठूला दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले अधिकांश पद आफ्नो पक्षमा पारेको, परस्पर उपगठबन्धन गरेको र साना दलहरूलाई बेवास्ता गरेको बताइरहेको छ । आज भोलिमा अन्य साना दल पनि नेकपा (एस)को मनोदशामा पुग्ने ठोकुवा गर्न सकिन्छ ।

गठबन्धन तात्कालिक मित्रता हो । मित्रता भनेको परस्पर विश्वास, त्याग र सहयोगमा टिकेको हुन्छ । त्यसैले भनिन्छ मित्रता आफू बराबरसँग गर्नुपर्छ । आफूभन्दा ठूलो–शक्तिशालीसँग ग¥यो भने उसले सबै भाग खाइदिन्छ र सानोसँग ग¥यो भने जहिले पनि कचिङ्गल र मनोमालिन्य भइरहन्छ । भइ पनि त्यस्तै रहेको छ । केन्द्रको सत्ता जोगाउन नेपाली काङ्ग्रेस र माओवादीलाई साना दलहरूको आवश्यकता रहेको हो । स्थानीयस्तरमा त उनीहरू दुईबीच मात्र मेल भयो भने पुग्छ । यसले गर्दा धेरै ठाउँमा कार्यकर्ताहरूको असन्तुष्टि झेल्नुपर्दैन । अहिले मनोनयन दर्ता भइसकेको छैन, तर गठबन्धनले गरेको निर्णयमा तिनकै कार्यकर्ताहरू चरम असन्तुष्ट बनेका छन् । वीरगंजजस्तो नेपाली काङ्ग्रेसको गढ र यसपालि जित्ने पक्कापक्की रहेको ठाउँमा गठबन्धनको चित्त बुझाउन ठाउँ छाड्नुप¥यो । यसले काङ्ग्रेसमा चरम उदासीनता देखिएको छ । त्यस्तै पोखरामा भएको छ, भरतपुरमा भएको छ । साना दलहरूले पारस्परिक सहयोग गर्दै साझा उम्मेदवार उठाउनुको पछाडि मेरो सहयोगले तिमी त्यहाँ जित र तिम्रो सहयोगले म यहाँ जित्छु भन्ने हो । उनीहरूसँग सबै ठाउँमा उठाउनका लागि मानिस पनि हुँदैन । तर ठूला दलले त आफ्नै कार्यकर्ताको घाँटी रेट्नुपर्छ । जित्ने ठाउँ छोड्नुपर्ने बाध्यता त हुन्छ नै, सबै कार्यकर्तालाई निर्वाचनरूपी तालीममा जान दिन पनि सकिन्न ।

अहिलेको गठबन्धनको परिभ्राटले कस्तो परिस्थिति जन्माउँछ, त्यो हेर्नको लागि निर्वाचन परिणाम त कुर्नैपर्छ । गठबन्धन गर्नेबित्तिकै जीत नै हुन्छ भन्ने पनि छैन । अनुशासित कार्यकर्ताले नेतृत्वको अनुज्ञा पालन गर्ला तर नेपाली काङ्ग्रेसप्रति आस्था राख्ने र समर्थकहरूले पनि गठबन्धनले रोजेको व्यक्तिलाई भोट दिन्छ भन्ने जरूरी छैन । यसले गर्दा भोलि विपरीत परिणाम आयो भने गठबन्धनभित्रका दलभित्रै मनोमालिन्य देखिन सक्छ । निर्वाचन परिणाम आउनु अघि नै देखिएको यथार्थले पछिको अवस्थाको आकलन गर्न गा¥हो छैन । यस्तो दुःखद प्रसङ्गको एउटा सुखद परिणति भने नेपाली जनताले पाउँछ । हैसियत बाहिर पार्टी खोल्ने, तिकडम गरेर सत्तामा पुग्ने दलहरू बिस्तारै बहिष्कृत हुँदै जान्छन् । गठबन्धन असफल भयो भने साना दल विस्थापित हुँदै जान्छन् र सिद्धान्तनिष्ठ दलहरू बाँचिरहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here