प्रस, वीरगंज, १० वैशाख/
वीरगंजमा महिलाहरूले स्थानीय निर्वाचनमा दलहरूले गठबन्धन गरेर आफ्नो संवैधानिक अधिकारमाथि कुठाराघात गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
सत्तापक्ष नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेको तथा हाल आएर एमाले, लोसपा र राप्रपा नेपालसमेतले गठबन्धन गरेका कारण महिलाहरूको उम्मेदवार हुने अवसर गुमेको उनीहरूको आरोप थियो ।
सबै दलसँग आबद्ध महिलाहरूले घण्टाघरबाट ¥याली निकालेर माईस्थान परिक्रमा गरी पुनः घण्टाघरमा पुगेर कोणसभा गरेका थिए ।
कोणसभामा नेपाली काङ्ग्रेसकी नेत्री वर्तमान उपप्रमुख शान्ति कार्की, उपप्रमुखका दाबेदारहरू डा सुषमा तिवारी द्विवेदी, किरण सरकार, रम्भा मिश्र, मुन्नी श्रीवास्तव, गुड्डी जोशी, प्रभा श्रेष्ठलगायतले दलहरूबीच भएको गठबन्धनका कारण महिलाहरूको अधिकार कुण्ठित भएको बताए ।
उनीहरूले एक दलले प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिंदा कुनै एक पदमा महिलाको उम्मेदवारी संविधानले अनिवार्य व्यवस्था गरेपनि दलहरूको गठबन्धनले एक दलबाट प्रमुख र अर्को दलबाट उपप्रमुखको उम्मेदवारी दिंदा महिलाहरू संवैधानिक अधिकारबाट वञ्चित भएको जिकिर गरे ।
महिला अधिकारविरुद्धका यस्ता गतिविधिको विरोधमा निरन्तर सङ्घर्षरत रहने उनीहरूले
बताए ।