नयाँ दिल्ली, ९ वैशाख/एएनआई

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् ।

दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो ।

 “यो भारत–बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानोबीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो  सम्बन्ध पहिले कहिल्यै  थियो, जुन अहिले छ”–जोनसनले भने ।

बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो–प्यासिफिकमा सुरक्षा सहयोग अगाडि बढाउने विषयमा गहिरो वार्ता गर्न भारत भ्रमणको शुरूआतमा जोनसन बिहीवार गुजरात आइपुगेका थिए ।

 “उनीहरू (गुजरातका मानिसहरू) ले हाम्रो शानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन ।”

 “मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलोपटक तपाईंको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो”–जोनसनले भने ।

यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गाँधीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशङ्करसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि हैदराबाद हाउसमा करीब १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here