प्रस, वीरगंज, ८ वैशाख/

पर्साका १३ वटै पालिकामा बिहीवार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगंज महानगरबाहेक १३ वटा पालिकामा कार्यालय सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । उनले वीरगंज महानगर तथा जिल्ला समन्वय समितिको निर्वाचन मुख्य निर्वाचन अधिकृतले गराउने तथा अन्य पालिकाको हकमा निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको बताए ।

मुख्य निर्वाचन अधिकृत पौडेलले  पर्सागढीमा केशव पौडेल, पोखरियामा पद्मबहादुर कार्की, बहुदरमाई नगरपालिकामा कैलाशप्रसाद भट्टराई, छिपहरमाईमा मुकुन्द निरौला, जगरनाथपुरमा चिन्तामणि शर्मा, धोबिनीमा कैलाश दाहाल, पकहामैनपुरमा कृष्णप्रसाद खड्का, विन्ध्यवासिनीमा अरुणकुमार कोइराला, सखुवाप्रसौनीमा डा सूर्यप्रसाद पौडेल, कालिकामाईमा प्रकाश कोइराला, जीराभवानीमा झविन्द्रप्रसाद पाण्डे, ठोरीमा विश्वराज न्यौपाने र पटेर्वासुगौलीमा गौतम भण्डारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकी पठाएको जिल्ला निर्वाचन कार्यालय, पर्साका प्रमुख रञ्जीता झाले बताइन् ।

आजदेखि सञ्चालनमा आएका निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल गरी निर्वाचनलाई सभ्य तथा मर्यादित बनाउनका लागि सुझाव सङ्कलन गरेको प्रमुख झाले बताइन् । तर वीरगंज महानगरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन भएकोले भोलि सर्वदलीय बैठक बोलाइ छलफल गर्ने उनले बताइन् ।

रामेश्वर मेहता, सिम्रौनगढ/

बाराको सिम्रौनगढ नगरपालिकामा बिहीवार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

सिम्रौनगढ नपा कार्यालयभित्र स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले गरेका थिए । सो अवसरमा उनले स्थानीय तह निर्वाचन प्रयोजनको लागि आजदेखि कार्यालय सञ्चालनमा आएको र निर्देशन बमोजिमका कार्यहरू गरिने जानकारी गराए । कार्यक्रममा सिम्रौनगढ नपाका प्रमुख प्रशासकीय अधिकृत एव सहायक निर्वाचन अधिकृत हरिओमप्रसाद जयसवाल, नेपाल पत्रकार महासङ्घ, बाराका उपाध्यक्ष रामबाबू मेहतालगायतको सहभागिता थियो ।

शैलेन्द्र झा, रौतहट/

रौतहटका १८ वटा स्थानीय तहमा बिहीवार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, रौतहटद्वारा आयोजित राजनीतिक दल तथा सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा १८ वटै स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी गराइएको हो ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटेका निर्वाचन कार्यालय, रौतहटका प्रमुख छोटेलाल दासले बताए । कार्यक्रममा उनले आचारसंहिताबारे जानकारी गराएका थिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृतलगायत सम्पूर्ण निर्वाचन अधिकृत, राजनीतिक दल तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

जीतलाल, निजगढ/

स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि बिहीवार निजगढ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निजगढ नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृत शम्भुप्रसाद बरालको कार्यालय स्थापना गरिएको हो ।

यही वैशाख ३० गते सम्पन्न गर्न तोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गर्न अधिकृत बराललाई सरकारले खटाएको हो ।

निर्वाचन अधिकृत बराललाई निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले स्वागत गरेका थिए । सो कार्यालय निजगढ नपा–७ को कार्यालयमा स्थापना गरिएको छ । अधिकृत बरालले आजै विभिन्न स्थानीय राजनीतिक दल, सुरक्षा कार्यालयका प्रमुख, सञ्चारकर्मीहरूको सर्वदलीय बैठक राखी निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न गर्न राजनीतिक दल तथा उम्मेदवारहरूले पालना गर्नुपर्न आचारसंहितालगायतका विषयमा छलफल गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here