प्रस, सेढवा, ३ वैशाख /
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्साको जगरनाथपुर गाउँपालिकामा चुनावी चहलपहल बढेको छ ।
यस पालिकामा अध्यक्ष पदका लागि नेकपा एमालेका तर्फबाट वर्तमान अध्यक्ष जालिम मियाँका भाई महमद सलिम मन्सुरीको नाम चर्चामा छ ।
अध्यक्ष पदका लागि जसपाबाट कृष्णमोहन यादव र नेपाली काङ्ग्रेसबाट श्रीकान्त यादवको नाम चर्चामा छ ।
यी दुईजना गत वर्षको निर्वाचनमा पराजित भएका थिए र नेकपा माओवादी केन्द्रबाट जालिम मियाँ अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी दुई महीनाअघि मात्र एमालेमा प्रवेश गरेका थिए ।
उपाध्यक्षका लागि नेकपा एमालेले दलित समुदायबाट मीनादेवी राम चमारको नाम चर्चामा ल्याएको छ भने जसपाबाट उपाध्यक्षका लागि जलेखा खातुनको नाम चर्चामा छ । खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीकी पत्नी हुन् । त्यस्तै, नेकाबाट उपाध्यक्षका लागि तीनजना अम्ब्या खातुन, नैनूल नेशा र रीता सिंह क्षत्रीको नाम चर्चामा छ ।
नेकपा एमालेका तर्फबाट वडाध्यक्षका लागि क्रमशः मङ्गरू राउत गद्दी, समसुल मियाँ मन्सुरी, मदिस राउत गद्दी, प्रभुप्रसाद नुनिया, बच्चु साह तेली र अयोध्या पटेलको नाम चर्चामा छ भने नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा लक्ष्मी साह, नेपाली कुशवाहा, सुभाष यादव, दीपेन्द्र चौहान, बिहारी महतो नुनिया र लक्ष्मणप्रसाद कुर्मीको नाम चर्चामा छ ।
जसपाबाट वडाध्यक्षमा गोरा महतो थारू, अवधेश पटेल, नगिनाप्रसाद यादव, दीपेन्द्रप्रसाद चौधरी, उपेन्द्रकुमार बिनको नाम चर्चामा छ ।