- उमाशङ्कर द्विवेदी
धर्मको मर्म न जानेर कसैले पनि अर्काको निन्दा गर्नुहुँदैन । मैले तपाईंको सशस्त्रभुजा काटेर कुनै अधर्म गरेको होइन । बालक अभिमन्युको हातमा न कुनै हतियार थियो तथा कवच र रथ पनि नष्ट भइसकेको थियो र पनि तपाईंहरू मिलेर उसलाई मारिदिनुभयो । यस कुकर्मलाई कुन धर्मात्मा पुरुषले राम्रो भन्नेछ ? अर्जुनको यस्तो कुरा सुनेर भूरिश्रवा त्यही निहुरमुन्टो लगाएर बसिरहे ।
अनि अर्जुनले भने–मेरो जति प्रेम धर्मराज, महाबली भीमसेन र नकुल–सहदेवप्रति छ त्यति नै तपाईंप्रति पनि छ । म र श्रीकृष्ण तपाईंलाइ आज्ञा दिंदैछौं कि तपाइ उशीनरका पुत्र शिबिको समान पुण्यलोक प्राप्त गर्नुहोस् ।
श्रीकृष्णले भने–राजन्, तपाईं निरन्तर अग्निहोत्र गर्ने मनस्वी हो । जुन लोक सर्वदा प्रकाशमान छ तथा ब्रह्मादि देवगण पनि जसका लागि लालायित रहन्छन्, त्यसमा तपाईं मेरै वाहन गरुडमाथि सवार भएर जानुहोस् ।
यसै बेला सात्यकि उठेर निर्दोष भूरिश्रवाको सिर काट्न तरबार उचाले । उनलाई श्रीकृष्ण, अर्जुन, भीमसेन, युधामन्यु, उत्तमौजा, अश्वत्थामा, कृपाचार्य, कर्ण, वृषसेन र जयद्रथ–जम्मैले रोके तर सबैले कराइरहँदा पनि उनले अनशन–व्रतधारी भूरिश्रवाको मस्तक छिनालिदिए । फेरि उनले आफ्नो निन्दा गर्ने कौरवहरूलाई हकार्दै भने–हरे, धर्मिष्ठताको गुणगान गाउने पापीहरू हो, तिमीहरूले धर्मको नाममा मैले भूरिश्रवालाइ मार्नुहुँदैन भनिरहेका छौ तर जुन बेला तिमीहरूले सुभद्राको पुत्र शस्त्रहीन बालक अभिमन्युको हत्या गरेका थियौ त्यति बेला गोहीको आँसु चुहाउने तिमीहरूको धर्म कता गएको थियो ? मेरो त यो प्रतिज्ञा थियो कि यदि कुनै पुरुषले युद्धमा मेरो तिरस्कार गरेर भुइँमा घिसार्दै जीवित अवस्थामैं लात्ती हान्नेछ उ फेरि मुनिव्रत धारण गरेर किन न बसोस्, उसलाई म अवश्य मार्नेछु ।
राजन्, सात्यकिले यस्तो भनेपछि फेरि कौरवहरूमध्ये कसैले पनि केही बोलेन तर मुनिझैं वनवासी यशस्वी भूरिश्रवाको यस प्रकारले वध गर्नु कसैलाई पनि मन परेन । भूरिश्रवाले आफ्नो जीवनममा सहस्रौ दान गरेका थिए र उनको कैयनपल्ट मन्त्रपूत जलले अभिषेक भएको थियो । अतः उनी देह–त्याग गरेर आफ्नो पुण्यको तेजले उद्दिप्त भएर सम्पूर्ण पृथ्वी र आकाशलाई आलोकित गर्दै उध्र्वलोक गए ।
राजा धृतराष्ट्रले सोधे–सञ्जय, भूरिश्रवा मारिएपछि कुन प्रकारले युद्ध भयो, त्यो मलाइ सुनाऊ ।
सञ्जयले भने–महाराज, भूरिश्रवाको परलोक प्रस्थानपश्चात् महाबाहु अर्जुनले श्रीकृष्णसित भने–माधव, अब जहाँ राजा जयद्रथ छन् उतै घोडा हाँक्नुहोस् । आज जयद्रथको सामु तीनवटा गति छन्–यदि उनी युद्धभूमिमा युद्ध गर्दागर्दै मर्छन् भने तत्काल स्वर्ग प्राप्त गर्नेछन्, यदि युद्ध गर्ने बेला पिठ््यूँ देखाएर भाग्दाभाग्दै मेरो वाणको शिकार भए भने नर्कमा जाकिने छन् र यदि युद्धभूमिबाट भागे भने अपयशको भागी हुनेछन् । अब सूर्य भगवान अस्ताचलतर्फ ओर्लिंदै थिए । त्यसैले तपाईंले मेरो प्रतिज्ञा सफल पार्ने प्रयत्न गर्नुपर्ने हुन्छ । तपाईं घोडाहरूलाई यति त्वरित गतिमा हाक्नुहोस् कि सूर्य अस्त हुनुअगावै मेरो प्रतिज्ञा पूर्ण होओस् र म जयद्रथलाई मार्न सकूँ ।
अनि अश्वविद्यामा कुशल भगवान् श्रीकृष्णले घोडाहरूलाई जयद्रथको रथतिर हाँके । अर्जुनलाई जयद्रथको वध गर्ने उद्देश्यले अगि बढिरहेको देखेर राजा दुर्योधनले कर्णसित भने–वीरवर, अब दिन अलिक बेरको मात्रै छ । आज आफ्नो वाणबाट शत्रुमाथि प्रहार गर्नुहोस् । कुनै पनि प्रकार आजको दिन बितेपछि निश्चित नै हाम्रो विजय हुनेछ, किनकि सूर्यास्तसम्म जयद्रथको रक्षा भएपछि अर्जुनको प्रतिज्ञा भूmटो हुनेछ र उनी स्वयं अग्नि प्रवेश गर्नेछन् । अनि अर्जुन नरहँदा उनका भाइ तथा अनुयायीहरू एक मुहूत पनि बाँच्न सक्ने होइनन् । यस प्रकार हामीले निष्कण्टक भएर राज्य भोग्नेछौं । अतः तपाईं अश्वत्थामा, कृपाचार्य, शल्य तथा मलाई र अर्का योद्धाहरूलाई साथमा लिइ अर्जुनसँग पूर्ण शक्तिका साथ युद्ध गरौं ।
दुर्योधनको कुरा सुनेर कर्णले भने–प्रचण्ड प्रहार गर्ने, महान् धनुर्धर, वीरवर भीमसेनले आफ्नो वाणबाट मेरो शरीर धेरै जर्जरित गरिदिएका छन् र पनि ‘युद्धमा डटि रहनुपर्दछ’ भन्ने नियमको कारणले नै म यहाँ उभिएको छु । भीमको विशाल वाणबाट व्यथित हुनाको कारण मेरो शरीरमा हिंडडुल गर्न सक्नेसम्मको शक्ति छैन, तथापि अर्जुन जयद्रथलाई मार्न न सकून्–यसै उद्देश्यले म यथाशक्ति युद्ध गर्नेछु, किनकि मेरो जीवन त तपाइकै लागि छ । क्रमशः..।