दूधको देखभाल बिरालोसँग गर्न लगाएपछि परिणाम पछुताउनुबाहेक केही हुन्न भन्ने पुरानो कथन छ । अहिलेसम्म धेरै परिवेशमा यो कथन सुहाउँदै आएको पनि छ । बिरालोलार्ई दूध प्रिय हुन्छ अनि उसैलाई त्यसको देखभाल गर्न दिनु भनेको मूर्खताबाहेक केही होइन । कुरा पर्सा जिल्लामा रहेका सरकारी अस्पतालहरूको हो । केन्द्रीय अस्पतालको दर्जामा रहेको नारायणी अस्पताल होस् अथवा जिल्ला अस्पतालमा परिणत पोखरिया अस्पताल, दुवै अस्पतालको समस्या समान छन् । सरकारी अस्पताल भएको कारण नारायणी अस्पतालमा सरकारी अनुदानका उपकरणहरू र विदेशी दातृसंस्था तथा स्थानीय सङ्घसंस्थाहरूको सहयोग सामग्रीहरू पर्याप्त मात्रामा आउने गरेका छन् । तर ती उपकरणहरू सञ्चालनमा आउँदैनन् । कारण सरकारी अस्पतालमा ती उपकरणहरूको प्रयोग भएको खण्डमा निजी क्लिनिक, अस्पताल, ल्याबहरू मुनाफामा जाँदैनन् । सरकारी दर सस्तो हुन्छ र निजीमा सोही सेवा महँगो पर्न जान्छ । नारायणी अस्पताल अथवा पोखरिया अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरूका औषधिपसल, क्लिनिक, ल्याब, अस्पताल छन् । अब सरकारी अस्पतालमा कार्यरत उनीहरूले आफ्ना निजी क्लिनिक, ल्याब, अस्पतालमा असर पर्ने सरकारी अस्पतालका यन्त्रहरूलाई सञ्चालनमा ल्याउन रुचाउँदैनन् । नारायणी अस्पतालमा यस प्रकारका घटनाहरू नौलो होइन । भर्खरै सिटी स्क्यान मेशिन सञ्चालनमा आयो । यो मेशिन यसअघि पनि आएको थियो तर थोरै समय सञ्चालनमा आएर बिग्रियो । बिग्रियो भन्ने दलील अस्पतालमा सो यन्त्र सञ्चालन गर्ने पक्षको हो तर अस्पतालले बिग्रेको मेशिन मर्मत गर्नेतर्फ चासो देखाएन र करोडौं मूल्यको यन्त्र बिग्रिएर गयो । फेरि सोही मेशिन दुई वर्षपछि आएको छ र सञ्चालनमा छ महीना बढी ढिला भयो । यो सबैले देखेका सुनेका कुरा हुन् ।
यस्ता अदृश्य घटनाहरू कति होलान् । अस्पतालमा सेवा लिन जानेहरू अपहरणमा पर्ने र अन्यत्र निजी अस्पतालमा पु¥याउने काम अहिले पनि जारी छ । सरकारी अस्पतालमा सेवा लिंदा सस्तोमा हुने तर निजी अस्पतालमा सोही सेवा महँगो हुने हुँदा जसको क्लिनिक छ, प्रयोगशाला छ, अस्पताल छ, ती व्यक्तिहरूबाट यस प्रकारका कामहरू भइरहेकै छन् भने अन्य कर्मचारीहरू पनि कमिशनको लोभमा सरकारी सेवाका लागि आउने बिरामीलाई अन्यत्र निजी क्षेत्रमा पु¥याउने काम गर्दैछन् । यस प्रकारका गतिविधिहरू भएको लामो समय भइसकेको छ । यसबारेमा प्रायः सबैजना जानकार भइसकेका छन् । तर पनि मानिस निर्लज्ज भइदिएपछि कसको के लाग्छ । अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीहरू प्रायः राजनीतिक ओतमा बसेका हुन्छन् । कुनै काम बिगारेमा पनि राजनीतिक ओतको कारण उनीहरूमाथि कारबाही हुँदैन । कारबाही नभएपछि मनोबल उच्च हुन्छ, यही विकृति नारायणीमा मौलाएको छ ।
नारायणीको विकृति अहिले जिल्ला अस्पताल पोखरियामा सर्दैछ । कहिले एक्स–रे मेशिन बिग्रन्छ भने कहिले ल्याबको केमिकल सकिन्छ । औषधालयमा औषधि अभाव सामान्य भइसक्यो । बाहिर उपलब्ध यी सेवाहरू अस्पतालभित्र सहज हुँदा सबैको कमाइ मर्छ । त्यसैले सबैको स्वार्थ जोडिएकाले यस प्रकारका घटनाहरू हुँदैछन् । यसका लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी अन्यत्र काम गर्न नपाउने व्यवस्था गर्नैपर्छ । हैन भने सरकारी अस्पतालले भोग्दै आएका यी समस्याहरूको निराकरण सम्भव नै छैन ।