काठमाडौं, १७ चैत/रासस
शहीद स्मारक बी डिभिजन लिग फूटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको २१औं मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको ३१औं मिनेटमा भगवती युथ क्लबका खेलाडी सन्तोष केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५५औं मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।
खेलको ८३औं मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए । खेलको ८९औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४–१ को बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा भगवती युथका राजु गुरुङले गोल गरेपनि खुमलटार ४–२ ले विजयी भयो । यस जितसँगै खुमलटारले १० खेलमा १५ अङ्क जोडेको छ । यता पराजित भगवतीले समान १० खेलमा १४ अङ्क जोडेको छ ।