पर्सा जिल्लाको ठोरी गाउँपालिका मधेस प्रदेशको  पहिलो पर्यटकीय क्ष्Fेत्र घोषणा भएको छ र सोसँगै पटेर्वासुगौली गापाको पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलभित्र रहेको दुग्धेश्वर महादेव मन्दिर रहेको रामभौरी भाठा धार्मिक पर्यटकीय क्षेत्र घोषणा भएको छ । मधेस प्रदेश सरकारको मन्त्रिमण्डल पहिलोचोटी राजधानी बाहिर ठोरीमा रहेको ठोरी जङ्गल रिसोर्टमा बैठक बसी यो निर्णय गरेको हो । ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेसँगै पर्यटकीय क्षेत्र विकासको लागि दश करोड रकम पनि विनियोजन गरेको छ । कुनै बेला सडक सञ्जालको अभावमा ठोरी, सुगम जिल्लाको दुर्गम स्थानको रूपमा परिचित थियो । तर अहिले त्यो अवस्था छैन । ठोरीवासीले ०५३ सालमा पहिलोचोटी बस सेवा पाएका थिए । उत्तिखेर ठोरी जानका लागि कठिन बाटो काट्नुपर्दथ्यो र यही कारण सरकारी कर्मचारी र आमजनता भारतको भिखनाठोरीसम्म रक्सौलबाट रेलयात्रा गरी जाने गर्दथे । रमणीय भएर पनि ठोरी दुर्गम थियो । ठोरीलाई चारैतिरबाट नदी परिवेष्टित भएकोले बाटो निर्माण सुगम थिएन ।

अहिले त्यो अवस्थामा निकै परिवर्तन भएको छ । कच्ची, ग्रेभलपछि अहिले ठोरीसम्म हुलाकी पक्की सडक सञ्जाल बनिसकेको छ । कालोपत्रबाट करीब ५७ किलोमिटरको यात्रा अहिले सहज भएको छ र डेढ घण्टामा पुग्न सकिन्छ । डाँडा, जङ्गल, नदीले भरिएको ठोरी प्राकृतिकरूपमैं सुन्दर भएकोले सीमावर्ती भारतीयहरूको बिदा मनाउने गन्तव्य बनेकै थियो । अहिले पर्सा, बारा, सर्लाही, मकवानपुर, चितवनलगायतका मानिसहरूको पनि गन्तव्य बन्दैछ । यसैकारण अहिले ठोरीमा विभिन्न उत्सव मनाउन जाने क्रम बढेको छ । अहिले ठोरी जङ्गल रिसोर्ट बनेर सञ्चालनमा आएको छ भने यस अघि नै प्रदेशको पहिलो होमस्टे सञ्चालन भएको थियो । हुलाकी सडकको निर्माणपछि ठोरीमा विभिन्न बहानामा रमाइलो गर्न जानेहरूको सङ्ख्या अप्रत्याशितरूपमा बढेको छ । पटेर्वासुगौली गापाको भाठास्थित दुग्धेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गरिएको छ । तर अहिलेसम्म ठोरीबाट सो स्थानसम्म पुग्ने सरल सडक निर्माण हुन सकेको छैन । जसले गर्दा ठोरीलाई गन्तव्य बनाउने पर्यटकहरू सो स्थानसम्म सहज पुग्न सकिरहेका छैनन् । नेपाल–भारतमा दुग्धेश्वर महादेव मन्दिरको प्रसिद्धि छ । भाठा मेला भर्नका लागि नेपालका विभिन्न स्थान र भारतको सीमावर्ती शहरहरूबाट ठूलो सङ्ख्यामा मानिसहरू आउने गर्छन् । सडक विस्तार र यातायातको सहज व्यवस्था हुने हो भने ठोरीसँगै भाठाको विकास पनि समानरूपमा हुन्थ्यो ।

पर्सा, बारा र रौतहटका विभिन्न स्थानहरूलाई पर्यटकीय स्थल बनाउन यस अघि तराई पर्यटन विकास समितिले पनि काम गरेको थियो । उसले तीन जिल्लाका पर्यटकीय र धार्मिक पर्यटनका सम्भावना बोकेका स्थानहरूको पहिचान गरेर सोसम्बन्धी गुरुयोजना पनि तयार गरेर तत्कालीन सरोकारवाला निकायमा बुझाएको थियो । तर नेपालमा राम्रो काम गर्नका लागि पनि समान राजनीतिक आस्था बोकेका मानिसहरू हुनैपर्छ । हैन भने फरक राजनीतिक धारका मानिस सत्तामा रहेको बेला तयार भएका राम्रा कार्यहरूको अर्काे विपरीत राजनीतिक आस्था राख्नेले कार्यान्वयन गर्दैनन् । ठोरी र भाठाको विकासका लागि प्रदेश सरकारले गरेको निर्णयको हकमा यस्तो नहोस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here