प्रस, वीरगंज, १६ चैत/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले आफू सदैव पत्रकारको हकहितको विषयमा चिन्तित रहेको र आगामी दिनमा पनि यो पेशालाई अगाडि बढाउन इमानदार प्रयास गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल, पर्सा शाखाको बैठकमा उनले सो कुरा जाहेर गरेका हुन् । उनले प्रेस चौतारीलाई प्राथमिकतामा राखेर सबै पत्रकारहरूको हकहितमा काम गर्दै आएको र काम गर्ने पनि प्रतिबद्धता जाहेर गरे । पत्रकारहरू आर्थिक समस्याबाट जुझिरहेका र आफ्नो कार्यकालमा पत्रपत्रिकाहरूलाई सहयोग पुग्नेगरी सञ्चार ऐन ल्याएको बताए ।
आगामी स्थानीय चुनावमा आफू एमालेबाट वीरगंज महानगरमा पुनः नगरप्रमुख पदमा चुनाव लड्ने र त्यसका लागि पत्रकारिता क्षेत्रबाट सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सह–इन्चार्ज शत्रुघ्न नेपाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले आगामी स्थानीय चुनावमा पर्साका चौधवटै पालिकामा एमालेका उम्मेदवारहरूलाई सहयोग पुग्नेगरी समाचार तयारी गर्न र उम्मेदवारहरूलाई जिताउने रणनीति बनाउन सुझाएका थिए ।
यसैगरी यही चैत २२ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको वीरगंजमा हुने आमसभा भव्यरूपमा सम्पन्न गर्न पत्रकारहरूलाई आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।
बैठकमा तुलसी भण्डारी, युवराज खड्का, सन्तोष पटेल, आशिक अन्सारी, सञ्जयसाह कानूलगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र सिंह नेपालीले गरेका थिए ।