भर्खरै फागु सकिएको छ । फागुको शुभकामना साटासाट गर्न आयोजित धेरै कार्यक्रमहरूमा परम्परागत फागु वा होलीको स्मरण गरेर त्यसको अभावको रोदन चल्यो । साथै होली मनाउने त हो, यसमा रास–रङ्ग हुनुपर्छ भन्ने शैलीका कार्यक्रमहरू पनि आयोजन गरिए । परम्परागत होली वा कुनै पनि सांस्कृतिक चाड अब शास्त्रीय शैलीमा हुन्छ भनी सोच्नु समयलाई पछि फर्काउने धृष्टता मात्र हुन सक्छ । किनकि परम्पराको जगेर्ना दिने र लिनेबीचको एकात्मभावले मात्र सम्भव हुन्छ । परम्परा निरन्तरतामा बाँच्छ, जसको अभाव हाम्रो समाजमा स्पष्ट देखिन थालेको छ । संस्कृतिको सम्बन्ध समुदायको अविछिन्नतामा टिकेको हुन्छ, जसको आज टडकारो अभाव छ । यो कुनै व्यक्ति, समाज वा राज्यले गरेर भएको होइन, आजको समयले ल्याएको परिवर्तनले हो । होलीका विभिन्न उद्देश्यमध्ये एउटा मनोरञ्जन पनि हो । मनोरञ्जन पनि उपभोग्य वस्तु बनेको छ, आजको युगमा । आज समाज ‘तयारी वस्तु’को उपभोक्ता बनेको छ । नाश्ता बनाउने झन्झट बेहोर्नुको साटो चाउचाउ, टोस्ट अमलेट खाने, दालभात, तरकारी, अचार बनाउनुको साटो सबै स्वाद सम्मिश्रित पिजा, बर्गर खाने युगमा मनोरञ्जन पनि त रेडिमेड उपलब्ध छ । टिभीको कुनै च्यानल खोल्नुस्–चाड अनुसारका कार्यक्रमहरू प्रस्तुत भइरहेका हुन्छन् । टिभीभन्दा पर हुनुहुन्छ भने पनि हाते टिभी (मोबाइल) मा जहाँ पनि र जुन बेला पनि उपलब्ध हुन्छन् यस्ता सामग्री ।
दीपावलीमा माटोको दियो बाल्ने फुर्सद कसलाई छ ? तम्तयार बिजुलीको झिलिमिली छाडेर धिपधिपे दियो कसले बाल्ने ? कागज र प्लास्टिकका रङ्गबिरङ्गी र सजिलै उपलब्ध माला छाडेर फूल रोप्ने, टिप्ने, माला गाँस्ने कुरा त आज मूर्खताको प्रतीक मात्र मानिन्छ । दशैंमा नवरात्रिभरि मालसिरीको धुनमा मन्दिरमा गई भजन–कीर्तन किन गाउनुप¥यो, टिभीमा दिनरात सुन्न सकिहालिन्छ । यसर्थ हिजोआज चाडपर्वहरू त छन्, मनोयोगले मनाइन्छ पनि तर चाडपर्वहरूका जुन उद्देश्य हुन्छ, त्यो हराएको छ । सबै चाडलाई होली र सबै पर्वलाई दशैं मनाउने मनोविज्ञान प्रबल भएको छ । होलीमा महीनाभरि गाइने जोगिरा हराउँदै गएको छ । किनकि अब सबै काम पेशा बनिसकेको छ । हिजो स्वान्त सुखायः जोगिरा गाइन्थ्यो, अब पैसा तिर्नुपर्छ । पैसा तिरेर गीत सुन्ने हो भने टिभी–मोबाइल नै राम्रो ! किनकि मौसम अनुसार गीत–राग गाउनेहरू अब थोरै मात्र छन् । नयाँ पुस्ता फिल्मी गीत मात्र गाउन र सिक्न चाहन्छ । जोगिरा वा चैती सिक्ने युवा पीढी नै छैन, किनकि यो बिक्दैन । अनि कसरी हुन्छ परम्परा हस्तान्तरण ? हस्तान्तरणको अभावमा एउटा पीढीपछि परम्परा हराएर जान्छ ।
वीरगंजमा यस्तै एउटा कार्यक्रममा होलीको पारम्परिकता हराउँदै जाने सन्दर्भमा नगरप्रमुखले आगामी वर्षदेखि त्यसको जगेर्नाका लागि पाइला चाल्ने बताएका छन् । कला क्षेत्र राज्यको संरक्षणविना हुर्कन सक्दैन । कलाको पहिलो आश्रयदाता राज्य हो र दोस्रो समाज, जसले कलालाई एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्न प्रोत्साहित गर्छ । यस कारण जरूरी छ हामी आधुनिकतामा पनि रमाउँ र परम्परालाई पनि मर्न नदिउँ । यसमा वीरगंज महानगरपालिका र वीरगंजेली समुदाय अघि सर्नुपर्छ । शुभकामना आदानप्रदान गरेर मात्र होइन, होली गीत गाउँदै घरघर डुलेर रङ्ग–अबीर दलेर यसको जगेर्ना हुन सक्छ ।