- बैधनाथ श्रमजीवी
यसै हप्ता ८ मार्चको दिन संसारभरि ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो । ८ मार्च खासगरी महिला जागरूकतासम्बन्धी दिवस हो । यसको सुरुआत राजनीतिक अधिकार प्राप्तिको कोणबाट भएको भएपनि यतिबेला महिलाले पाउनुपर्ने सम्पूर्ण अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरण् जस्ता अनेकौं सवाल महिला दिवसका विषयहरू हुने गरेका छन् ।
सन् १९०९ फेब्रुअरी २८ मा सर्वप्रथम महिला दिवस मनाइएको थियो । तत्पश्चात् सन् १९१० मा महिलाहरू पनि पुरुषजस्तै मत हाल्न पाउनुपर्छ भन्ने मतको अधिकार सुनिश्चित गरेर महिला दिवसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास पल्टाउँदा सन् १९०८ मा १५ हजार महिलाले अमेरिकाको न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने तथा मतदानको अधिकार पाउनुपर्ने मागसहित विशाल जुलुस प्रदर्शन गरेका थिए । यसको ठीक एक वर्षपछि अमेरिकाकै समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
यस क्रममा सन् १९१० मा कोपेनहेगनमा भएको कामकाजी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा लारा जेटकिनले राष्ट्रिय महिला दिवसलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउनुपर्ने सुझाव पेश गरेकी थिइन् । त्यसपछि अस्ट्रिया, जर्मनी, डेनमार्क, स्वीट्जरल्यान्डलगायतका युरोपेली देशहरूले अन्तर्राष्ट्रिय महिला दिवसकै रूपमा मनाउन थालेपछि बल्ल सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा ग¥यो । सन् १९०८ देखि २०२२ सम्म आइपुग्दा संसारभरि महिलाहरूले अपेक्षाकृतरूपमा थुप्रै अधिकार पाएका छन् तर के ती अधिकार पुरुषले उपभोग गर्दै आएको अधिकारको बराबरीमा छ ?
यस प्रश्नको सहजै नकारात्मक उत्तर भेटिन्छ । अझै पनि महिलाहरूले संसारका कुनै पनि देशमा पुरुषसरह समान अधिकार पाइसकेका छैनन् । अझै त्यसमा खासगरी नेपालको कुरा गर्ने हो भने यहाँ महिला र पुरुषमा लैङ्गिक असमानता अत्यन्तै धेरै छ । हुनत भन्नलाई हाम्रो समाज धर्मकर्ममा विश्वास राख्ने समाज हो । हाम्रFे संस्कृति र चाडपर्वमा केही अपवादबाहेक सबका सब धार्मिकताबाट प्रभावित चाडपर्वहरू नै छन् । यस अर्थमा हामी बाहिरबाट हेर्दा पूरै धार्मिक नैतिकवान् देखिन्छौं तर वास्तवमा हाम्रो व्यवहार ठीक उल्टो छ ।
महिलाहरूप्रति धार्मिक दृष्टिकोणसमेत सकारात्मक नभएको स्पष्ट हेर्न सकिन्छ । भन्नलाई यहाँ ज्ञानकी देवी सरस्वती, शक्तिकी देवी दुर्गा, काली, भगवती तथा धनकी देवी लक्ष्मी भनेर महिलाहरूको पूजा गर्न सिकाउने हाम्रो धर्म र समाज दुवै ठाउँमा कतै पनि पुरुषसरह महिलालाई अधिकार दिएको देखिंदैन । यतिबेला सामाजिक सञ्जाल होस् वा विभिन्न प्रकारका सञ्चारमाध्यमहरूले सर्वत्र महिला हिंसा, विभेद, उत्पीडन, दमन र शोषणका घटनाहरूबाट दिनहुँ सुसूचित गरिरहन्छन् ।
एकातर्फ आशाराम बापु, रामपाल, रामरहिमजस्ता धर्मगुरुहरूको पाखण्डीपन धार्मिकताको अन्धविश्वासमा कति हदसम्म चलेको रहेछ भन्ने कुरा सबैले बुझेकै विषय हो भने अर्कोतिर अझै समान कामको लागि पुरुषको समान महिलाको ज्याला कायम हुन सकेको छैन । संविधानभित्र आमाको नामबाट नागरिकता जारी गर्न मिल्ने भनिए पनि व्यवहारमा सोको कार्यान्वयन एकदमै फितलो रहेको कुरा जगजाहेर नै छ । समाजभित्रका अन्धविश्वासले यति गहिरो गरी जरो गाडेको छ कि अझैसम्म जन्मोत्सवदेखि मृत्यु संस्कारसम्मका काम कुराहरूमा महिलाहरूलाई चरम भेदभाव तथा अपहेलना गरिन्छ । महिला भनेको कमजोर, अबला, कम बोल्ने, घुम्टोभित्र बस्नुपर्ने, दाँत देखाएर हास्न नपाउने जस्ता मनुस्मृतिका सामाजिक व्यवस्थापनले प्रत्येक वर्ष नारी दिवसको खिल्ली उडाउँदै आएको छ ।
केवल भन्नको लागि मात्रै भनेको छ हाम्रो समाजले महिला–पुरुष एक रथका दुई पाङ्ग्रा । तर व्यवहारमा कतै पनि हाम्रो समाजले नारी र पुरुषलाई समान अधिकार दिएको छैन । अझै पनि हाम्रा चेलीबेटीहरू पितृसत्तात्मक सोचको सामाजिकताले गर्दा अशिक्षा, गरीबी, विभेदपूर्ण कानूनी व्यवस्था, जबरजस्ती करणी, यौन दुव्र्यवहार, तेजाब आक्रमण, आगो लगाउने, सामाजिक अपहेलना, बोक्सीप्रथा, घरेलु हिंसा, दाइजोलगायतका अमानवीय व्यवहारको शिकार भइरहेका छन् । त्यसैले यस्ता विभेदको डरलाग्दो अवस्थामा नेपाली दिदीबहिनीहरूले कसरी नारी दिवसलाई एउटा उत्सवको रूपमा मनाओस् ?
केही सम्भ्रान्त परिवारका महिलाहरूले तारे होटलमा ठूलठूला पोस्टर, ब्यानर लगाएर बिजुलीबत्तीको झकिझकाउ सजावट गरेर ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस किमार्थ नेपाली आम श्रमिक किसान, उत्पीडित महिलाहरूको लागि उत्सव हुन सक्दैन । बरु अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिला विभेद र उत्पीडनमा पारिएका नारीहरूको लागि सङ्घर्ष गर्ने आन्दोलनको एउटा कोसेढुङ्गा पो हो भन्दा अलि सही हुन जान्छ । ८ मार्चलाई महिलाहरूलाई लैङ्गिक हिंसाविरुद्ध सङ्गठित गर्ने तथा दलाल पूँजीवादी व्यवस्थाविरुद्ध हुँकारको गर्जन गर्ने ठूलो सङ्गठित आवाज बनाउनु सक्नुपर्छ ।
नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको सङ्घीय संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था गरे तापनि व्यवहारमा यसको प्रयोग कसरी भइरहेको छ त ? आउनुस् यसतर्फ थोरै चर्चा गरौं ।
नेपालको प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित नेपाली काङ्ग्रेस होस् वा गणतान्त्रिक पार्टीको रूपमा स्थापित कम्युनिस्ट पार्टीहरू होस् वा राजावादी पार्टीको रूपमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी होस् वा मधेसमैत्री पार्टीको रूपमा स्थापित मधेसवादी पार्टीहरू नै किन नहोस् । सबै पार्टीले आफ्नो उम्मेदवार तोक्दा प्रायः प्रमुख (मेयर) पुरुषलाई र उपप्रमुख (उपमेयर) महिलालाई तोक्ने गरेका छन् । कुल ७६६ स्थानीय तह रहेकामा नेपालभरिमा एक दर्जनको सङ्ख्यामा पनि महिला प्रमुख भेट्टाउन गा¥हो पर्ने अवस्थाले हाम्रो समाजमा पितृसत्ताको जयजयकार भइरहेको छ । त्यसैले यस्तो अवस्थामा महिलाहरूले नारी दिवस उत्सवको रूपमा मनाउने बेला अझै टाढा भन्दा कुनै अतिशयोक्ति नहोला ।
नेपालका राजनीतिक पार्टीहरूमा केन्द्रीय कमिटीदेखि तल्लो एकाइसम्म महिलाको प्रतिनिधित्व उनीहरूले के कसरी गराएका छन् भन्ने कुराले समेत नारीहरूप्रतिको उनीहरूको चिन्तन स्पष्ट हुन आउँछ । आफ्नो पार्टीभित्र पनि महिलाहरूलाई लैङ्गिकरूपमा समान दर्जा (शक्ति)मा पहुँच राख्न दिइएको छैन । ३३ प्रतिशत महिला सिट भनिए पनि पाँच/सात प्रतिशत महिला पाउन गा¥हो रहेको तथ्य कोहीबाट लुकेको छैन ।
नेपालमा अहिलेसम्म गरिएका सबै प्रकारका आन्दोलन, विद्रोह, क्रान्ति, युद्ध सबैमा महिलाहरूले पुरुषहरूलाई काँधमा काँध मिलाएर महŒवपूर्ण भूमिका खेलेर साथ दिंदै आएको भए तापनि पुरुषहरू आजसम्म साँच्चै नै महिलाहरूलाई आफूसरहको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अधिकार दिन नचाहनुले पनि आमूल परिवर्तन हुन सकेको छैन । अन्तर्राष्ट्रिय महिला दिवस फेरि पनि नेपाली चेलीहरूले लैङ्गिक असमानता र उत्पीडनविरुद्धको आवाजको रूपमा नै मनाएका
छन् । नेता भनिएका पुरुषहरूको दिमागी सोचमा समेत परिवर्तन आउन जरुरी छ । अनिमात्र उत्सवको रूपमा महिलाहरूले ८ मार्चलाई मनाउन पाउनेछन् ।