वीरगंज, जहाँ साहित्य टुहुरो छ । यहाँ साहित्यकारहरू छन्, तर साहित्यिक संस्था छैन । व्यक्तिगत रुचिका आधारमा खुलेका एकाध साहित्यिक संस्थाबाहेक वीरगंजको साहित्यलाई पछिल्लो दिनमा महानगरले टेवा दिन खोजेको त देखिन्छ, तर त्यसलाई एकाङ्गी बनाइएको छ । समग्र साहित्यको, बहुभाषी साहित्यकारहरूको सङ्गमस्थल बनाउन सकिएन । नहुनु मामाभन्दा कानो मामा निको भनेजस्तै भोजपुरी प्रतिष्ठानको अस्तित्वले यहाँ सानै परिधिको भए पनि साहित्यको मलयानिल आकर्षित गर्ने प्रयास गरेको छ । साहित्य र कलाको विशेषता लताजस्तै हुन्छ । लताले जति ठूलो रूखको सहारा पाउँछ, त्यतिकै उचाइ र विस्तारमा यसको अस्तित्व चम्कन्छ । सशक्त रूखको सहायताबेगर साहित्य मर्न त मर्दैन तर यसकोे विकाशले उच्चता प्राप्त गर्न सक्दैन । साहित्यको सन्दर्भमा प्रत्यक्ष रूख त्यो संस्था हो जसले साहित्य लेखन, वाचन, प्रकाशनलाई अभिप्रेरित गर्दछ, तिनको निकासको मार्ग प्रशस्त गर्दछ, परोक्ष रूख भनेको त्यो संस्था हो जसले रूख हुर्काउन मलजल गर्दछ ।

यस अर्थमा भोजपुरी भाषाकै लागि मात्र भए पनि भोजपुरी प्रतिष्ठान प्रत्यक्ष्F रूख र वीरगंज महानगरपालिका परोक्ष रूख बनेर उभिन पुगेका छन् । वीरगंजमा साहित्यको खडेरी चाहिं कहिले पनि रहेन । बितेका दिनमा वीरगंजले श्यामप्रसाददेखि, भीम विराग, मदनमणि दीक्ष्Fित, धनुषचन्द्र र ध्रुवचन्द्र गौतम, विमल, वरुण, रमेशहरूलाई जन्माएकै हो । आज पनि सर्वभाषा साहित्यको सङ्गम बनेर प्रभात काव्य यात्रा निरन्तर चलिरहेको छ । हो, ठोस साहित्यिक कार्यलाई निरन्तरता दिने काम चाहिं भइरहेको छैन । साहित्य एक्लैले मात्र पुग्दैन । समाजलाई सभ्य र संस्कृत बनाउने रङ्गमञ्च नै दरकार छ, यहाँ । रङ्गकर्मीहरूको सङ्गम बनाउने आवश्यकता छ, जसले यस क्षेत्रलाई जीवन्त बनाउन सकोस् । वीरगंज आज एकाङ्गी बाँचिरहेको छ । जुन स्थान जति ठूलो हुँदै जान्छ, त्यहाँ जीवनका सामल विशाल र विस्तार हुनुपर्छ । यहाँ खेल छैन, साहित्य छैन, रङ्गमञ्च छैन । यसो त वीरगंज पूर्णतः दायित्वहीन छैन, यसले आफ्नो भूगोलको धर्म निर्वाह गरिरहेको छ । यहाँको व्यापार, व्यवसाय, उद्योगले राष्ट्रिय जीवनमा रङ्ग भर्ने काम गरिरहेको छ । साहित्य क्षेत्रमा पनि  त्यस्तै कीर्तिमान कायम हुन सके सुनमा सुगन्धको उपमा सटिक हुनेछ ।

यसो त वीरगंजमा साहित्यिक संस्थाहरू नभएका होइनन् तर ती कसैकसैको पेवा बनेर घरभित्र मात्र होइन, दराजको एउटा खण्डमा निस्सासिइरहेका छन् । वीरगंज साहित्य परिषद्, नारायणी वाङ्मय प्रतिष्ठानहरूले एकताका वीरगंज मात्र होइन, नारायणी अञ्चलकै प्रतिनिधित्व गर्दथे साहित्यको क्ष्Fेत्रमा । यस्तो बेला वीरगंजमा एकजना महिलाको तत्परतामा साहित्यिक कार्यक्रम भएको छ र वीरगंजको साहित्यिक गतिविधिबारे सम्झना हुन गएको छ । वीरगंजमैं बसेर राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय साहित्यिक संस्था ‘साहित्यिक चौतारी’को नेतृत्व गरिरहेकी गीता भण्डारीको प्रयासमा वीरगंजमा बितेको शनिवार सातै प्रदेशका स्रष्टाहरू भेला गराएर प्रकाशित ग्रन्थहरू विमोचन र रचना वाचन गराइएको थियो । व्यक्तिको हकसम्म यस्ता प्रयास हुँदा धन्यवाद त दिन सकिन्छ तर संस्थागतरूपमा वीरगंजमा सबल र सक्षम साहित्यिक संस्थाको आवश्यकता टडकारो महसूस हुन गएको छ । सम्बद्ध सबैको ध्यान आकृष्ट भए सुनसान बनेको साहित्यरूपी वापी तरङ्गित हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here