- शीतल गिरी
गताङ्कको बाँकी…
ईसाको सातौं शताब्दी पुग्दा नपुग्दै महायान पनि मनुष्यलाई दुरुह मार्ग भयो, आचार र नियमका सारा बाँध तोडेर सहजयानको अर्को भेल चल्यो । मुक्तिका निमित्त कठोर आचार गर्नुपर्दैन, मानवको उपभोगको निमित्त बनेका सम्पूर्ण वस्तुको उपभोग बाधा–बन्धनहीन भएर गर्नाले मुक्ति पाइन्छ भन्ने मत भएको सम्प्रदायलाई सहजयानको उचित संज्ञा दिइयो । जातपातको भेदहीनता त बौद्ध–धर्मको मूल आचार नै हो । त्यसकारण निम्न कुल र उच्च कुल भन्ने प्रश्न सहजयानीहरूको सामुन्ने नरहनुपर्ने हो । तर जाति र कुल भेद बताउने ब्राह्मणवाद जीवित अवस्थामैं थियो । गम्यागम्य र भक्षाभक्षको भेद नमान्ने सहजयानीहरूले निम्न कुलकी स्त्रीलाई मुक्तिको सबभन्दा ठूली साध्या बनाइदिए । यसै क्रममा स्त्री जति अगम्य र निन्द्य भई त्यति ठूली साध्या मानिई । मदिरापान गर्ने र स्त्रीलाई महामुद्रा बनाएर साधना गर्ने मुक्तिद्वार खोल्ने सम्प्रदाय नै खडा भयो र यो सम्प्रदाय ईसाको सातौं शताब्दीदेखि तेह्रौं चौधौं शताब्दीसम्म फैलिइरह्यो । शेष प्रभाव त अझै पनि छँदैछ ।
यस यानका चौरासी सिद्धमध्ये केही सिद्ध त नेपालकै पनि छन् । यी चौरासी सिद्धमध्येका गोरखनाथ नेपालमा आज पनि इष्ट देवता झैं पूजिन्छन् । यी केवल सहजयानी थिएनन् । बज्रयान, मन्त्रयान र सहजयानबाट प्रभावित शैवमार्गी सन्त थिए ।
नेपालको आफ्नो कुरा जोसमनि सन्त परम्परा हो । जोसमनि मत नेपालकै माटोमा उब्जेर विकसित भएको हो । नेपालमा प्रचलित अनेक धार्मिक सम्प्रदायहरूको अस्तित्व धेरै समाप्त भइसकेको छ र कैयौं सम्प्रदाय दिनदिनै क्षीण हुँदैछन्, तर जोसमनि सम्प्रदाय उत्तरोत्तर वृद्धिमा
छ । यसबाट यस मतको उपयोगिता र जीवनशीलता सिद्ध हुन्छ । अरू सम्प्रदाय प्रायः बाहिरी प्रभावबाट यहाँ विकसित भएका थिए ।
यो मत केवल ‘मत’ नभएर यसको साहित्य पनि पर्याप्त छ । नेपाली भाषाको साहित्यको दृष्टिले पनि जोसमनी सन्त–साहित्य नेपाली साहित्यको ठूलो अङ्गको रूपमा उपस्थित हुन्छ । आजकल ‘जोसमनी’ धर्म सम्प्रदायका व्यक्तिहरू आफूलाई ‘जसमनी’ भनेर चिनाउने गरेका छन् ।
शशिधर स्वामीजीका अनेक नामहरूमध्ये ‘यशोमणि’ पनि एक रहेकोले उनका अनुयायीहरूले आप्mना गुरुको नाममा यो सम्प्रदायको नाम नै ‘जोसमुनि’ र ‘जसमनी’ चलाएको देखिन्छ । अर्थात् स्वामी शशिधरकै नामबाट जोसमनी धर्म सम्प्रदाय शुरू भएको हो भन्ने बुझिन्छ ।
डा. प्रपन्नाचार्यले ‘सद्योगसार’ को भूमिकामा यसो भनेका छन् ः
“जोस्मणि शब्द विश्लेषण गर्नुभन्दा पूर्व ‘जोस्मणि’ शब्दको मूल के हो ? भन्ने प्रश्न स्वतः
आउँछ । किनभने यो शब्द शुद्ध संस्कृत भाषाको होइन । शब्द बन्दा तत्समबाट तद्भव भई अपभ्रंश भएको हुन्छ । यस ‘जोस्मणि’ शब्दको मूलरूप ‘यशोमणि’, ‘सच्चिदानन्दलहरी’ भन्ने ग्रन्थमा लेखेको पाइन्छ । यो ग्रन्थ गढवालका महाराजा कीर्तिशाहको पुरानो राजधानी टेहरीको ‘पुरानो लाइब्रेरी’ मा पाइन्छ । यो ग्रन्थ संस्कृत भाषामा लेखिएको छ । त्यस ग्रन्थको पुष्पिकामा ‘ज्योतिमुनिशिष्ययशोमणि कृत सच्चिदानन्दलहरीईति सम्पूर्ण’ भनेर लेखेको छ । यस पुष्पिकाले के बुझाउँछ भने शशिधरका आध्यात्मिक गुरु महासिद्ध ज्योतिमुनि भुरेबाबाले ‘योगपट’ अर्थात् योगनाम ‘यशोमणि’ राखेका रहेछन् । तर कालान्तरमा त्यो नाम कारणवश र उच्चारणवश यस्तो हुन गयो होला । ‘सद्योगसार’ ग्रन्थमा भने चतुर्थ प्रकरणको प्रारम्भमा शिष्य मोक्षमण्डलको प्रश्नको उत्तर दिंदा ‘जोस्मणिवाच’ लेखेको पाइन्छ । यहाँ प्रस्ट र छोटकरीमा भन्नुपर्दा ‘सद्योगसार’ ग्रन्थको द्वितीय र तृतीय प्रकरणमा ‘शशिधर र हरिसाम्ब’ नाम लेखिएको छ । ‘सद्योगसार’ को पुष्पिकामा सर्वत्र ‘जोस्मणिसद्योगसार’ लेखेको पाइन्छ । ‘गुरुपञ्जा’ मा पनि ‘भेष नाम जोस्मणि’ भनेर प्रस्ट लेखेको पाइन्छ । अतएव शशिधर र हरिसाम्ब अर्थात् हरिहर धरका नाम थिए भन्ने बुझिन्छ । अर्घाखाँची अर्घावामरूकमा बस्दा शशिधर र हरिहर नामले पुकारिन्थे । यसको प्रमाण जोस्मणिले आप्mनै रचना ‘सद्योगसार’ को छैठौं प्रकरणको पुष्पिकामा प्रस्ट पारेका छन् । जोस्मणि भन्छन्—
लालमणिसुपुत्रस्य दिशैशर्माद्विजोत्तमः ।
तस्य पुत्रो महायोगी वर्तमाने कलौ युगे ।।६७।।
शशिधरो जन्मनामाहं हरिसाम्वो द्वितीयकम् ।
तृतीयं जोस्मणिर्नाम चतुः ब्रह्मपदं स्वयम् ।।६८।।
यसरी जोसमणिले आफ्ना बाजे र बाबुको नामसमेत उल्लेख गरेर आफूलाई आफैंले ‘महायोगी’ पनि लेखेका छन् । यी प्रमाणहरूले के बुझिन्छ भने ‘जोस्मणि’ नाम अप्रामाणिक होइन ।
भेष धारण गरेपछि जोस्मणिले प्रारम्भिक ग्रन्थ ‘सच्चिदानन्दलहरी’ लेखेका रहेछन् भन्ने बुझिन्छ । किनभने मूल रूपमा ‘यशोमणि’ नाम ‘सच्चिदानन्दलहरी’ मा पाइएको छ । परन्तु ‘योगात्मबोध’ भन्ने ग्रन्थमा भने जोस्मणिको ‘ज’ मा ‘य’ नै लेखिएको छ । ‘योगात्मबोध’ ग्रन्थमा जोस्मणिका प्रिय शिष्य ‘दिलमय’ को उत्तर दिंदा ‘योस्मणिउवाच’ भनेर लेखिएको छ ।” (सद्योगसार, २०६१ ः ९) । (समाप्त)