- उमाशङ्कर द्विवेदी
दुर्योधनको मुखबाट त मैले कैंयनपल्ट सुनेको छु कि कर्ण बलवान् छन्, शूरवीर हुन्, बडो धनुर्धर हुन् र उनले परिश्रमलाई केही पनि ठान्दैनन्। उनको सहायता पाएपछि देउताहरूले पनि संग्राममा मलाई जित्न सक्दैनन्, पाण्डवहरूको त के नै कुरा ? जब उनै कर्णलाई भीमसेनको हातबाट परास्त युद्धभूमिबाट भाग्दै गरेको हेरेर दुर्योधनले के भने ? सञ्जय, भीमको सामु परेपछि त्यहाँ टिक्न सक्ने साहस कसले पो गर्न सक्दछ ? यमराजको घरबाट फर्की आउन सम्भव छ तर भीमको सामु परेपछि कोही पनि फर्केर आउन सक्दैन। जो मूर्ख मोहको वशीभूत भएर भीमको सामु जान्छ ऊ त मानौं फट्याङ्ग्रोझैं आगोमा खसिहाल्दछ। भीमसेनले पूर्ण सभामैं सम्पूर्ण कौरवको सामु मेरा पुत्रहरूलाई मार्ने प्रतिज्ञा गरेको थियो। त्यस प्रतिज्ञालाई सम्झेर कर्णको पराजयलाई हेरी दुर्योधन र दुश्शासन त डरले भागि नै गएका होलान्। कर्णलाई रथहीन र भीमको हातबाट पराजित भएको हेरेर दुर्योधनलाई श्रीकृष्णको अपमान गरेकोले पश्चत्ताप भएको होला ? युद्धमा भीमको हातमा परेर आफ्ना भाइहरूको वध भएको हेरेर उसलाई आफ्नो अपराधको लागि अवश्य नै बडो सन्ताप भएको होला। आफ्नो जीवनको रक्षा चाहने यस्तो कुन प्राणी होला, जो साक्षात् कालको समान उभिएको भीमको सामु जान हिम्मत गर्न सकोस्। मेरो त यस्तो निश्चय छ कि वनडढेलोको ज्वालामा परेर कोही बाँच्न सक्दछ तर भीमसेनको सामु गएपछि कोही पनि जीवित बाँच्न सक्दैन। त्यसैले सञ्जय, अब मेरा पुत्रहरूको जीवन सङ्कटमा नै छ।
सञ्जयले भने– कुरुराज, यस महाभय उपस्थित भएको बेला तपाईंले फिक्री गरिरहनुभएको छ तर यसमा कुनै सन्देह छैन कि संसारको यस भीषण संहारको मूल जड तपाईं नै हुनुहुन्छ। आफ्ना पुत्रहरूको कुरामा परेर तपाईंले नै यो महान् वैरको स्थापना गर्नुभएको छ। तपाईंसित धेरै कुरा भनिएको पनि छ तर मरणासन्न व्यक्तिले जसरी हितकारक औषधि ग्रहण गर्दैन, त्यसै प्रकार तपाईंले पनि कसैको कुनै कुरा सुन्नुभएन। राजन्, तपाईं स्वयम्ले यो दुर्जर कालकूट विषसेवन गर्नुभएको छ, त्यसैले अब तपाईंले नै यसको सम्पूर्ण फल भोग गर्नुहोस्।
अस्तु, अब जुन प्रकारले अगाडि युद्ध भयो त्यसबारे म सुनाउँदैछु, कृपया सुन्नुहोस्। कर्णलाई भीमसेनको हातबाट परास्त भएको हेरेर तपाईंका पाँच पुत्र दुर्मषण, दुस्सह, दुर्मद, दुर्धर र जयले सहन गर्न सकेनन् र ती जम्मै एकैसाथ भीमसेनमाथि जाइलागे। तिनीहरूले भीमसेनलाई चारैतिरबाट घेरा हाली आफ्नो बाणबाट सलहदलझैं सम्पूर्ण दिशालाई व्याप्त पार्न थाले। भीमसेनले उनीहरूलाई अकस्मात् आइरहेको हेरेर हाँस्दै स्वागत गरे। कर्णले तपाईंका पुत्रहरूलाई भीमसेनतिर गइरहेको हेरेर उनी पनि त्यहीं आइपुगे। अब कौरवहरूले भीमसेनलाई चारैतिरबाट घेरा हाली उनीमाथि बाण वर्षा गर्न थाले तर भीमसेनले पच्चीसवटा बाण हानेर उनीहरूका घोडा र सारथिसहित ती पाँचजना भाइलाई पनि यमलोकमा पु–याइदिए। त्यति बेला हामीले भीमसेनको बडो नै अद्भुत पराक्रम हे–यौं। एकातिर त उनले आफ्नो बाणबाट कर्णलाई रोकिराखेका थिए र अर्कोतिर तपाईंका पुत्रहरूको संहार गरिरहेका थिए।
सञ्जयले भने– राजन्, प्रतापी कर्ण तपाईंका पुत्रहरूलाई मरिरहेको हेरेर बडो नै कुपित भए, उनलाई आफ्नो जीवन भार स्वरूप लाग्न थाल्यो। उनले हेर्दाहेर्दै तपाईंका पुत्रहरूलाई मारिदिए, यसबाट कर्ण आफूलाई अपराधीझैं ठान्न थाले। यत्तिकैमा कर्णलाई हेरेर कुपित भई भीमसेनले कर्णमाथि भयङ्कर बाण वर्षा गर्न थाले। अनि कर्ण मुस्काउँदै भीमसेनमाथि पहिले पाँच र पछि सत्तरीवटा बाण हानेर घाइते पारिदिए। यसको जवाफमा भीमसेनले अत्यन्त तीक्ष्ण बाणबाट कर्णको मर्मस्थललाई छेडेर एउटा भल्लबाट उनको धनुषलाई काटिदिए। यसबाट कर्ण अत्यन्त खिन्न भएर अर्को धनुष हातमा लिई भीमसेनमाथि बाणवर्षा गर्न थाले। यत्तिकैमा भीमसेनले उनको सारथि र घोडाहरूलाई पनि मारिदिएर धनुषलाई पनि टुक्राटुक्रा पारिदिए। अब महारथी रथबाट हाम्फालेर क्रोधित हुँदै हातमा एउटा अत्यन्त भयङ्कर गदा उचालेर भीमसेनमाथि हाने तर भीमसेनले सम्पूर्ण सेनाको सामु नै त्यस गदालाई आफ्नो बाणबाट रोकिदिए।
अब कर्णले भीमसेनमाथि पच्चीसवटा बाण हाने, जसको जवाफमा भीमसेनले पनि नौवटा बाण हाने। ती बाणहरू कर्णको कवचलाई च्यातेर उनको दाहिने भुजालाई छेड्दै भुइँमा छिरे। यस प्रकार भीमसेनको बाणबाट निरन्तर आच्छादित भएर कर्ण फेरि युद्धबाट पछि हट्न थाले। यो हेरेर दुर्योधनले आफ्ना भाइहरूसित भने– हरे, चारैतिरबाट सावधान भएर कर्णतिर बढ। दाजुको कुरा सुनेर तपाईंका पुत्र चिक्र, उपचित्र, चित्राक्ष, चारुवीर, शरासन, चित्रायुध र चित्रवर्मा बाणहरूको वर्षा गर्दै भीमसेनमाथि जाइलागे तर भीमसेनले उनीहरूलाई आइरहेको हेरेर उनीहरूलाई एक/एक वटा बाण हानेर नै उनीहरूलाई धराशयी पारिदिए। तपाईंका महारथी पुत्रहरूलाई यस प्रकारले मारिइरहेको हेरेर कर्णको नेत्रमा जल भरिएर आयो र उनलाई विदुरजीको कुराको सम्झना हुन थाल्यो तर अलिकबेरमैं उनी अर्को रथमा चढेर भीमसेनको सामु आइपुगेर उनीमाथि बाणवर्षा गर्न थाले। क्रमशः…