– समीर पाख्रिन
भारत अधीनस्थ काश्मीरको सीमावर्ती एउटा गाउँ। जहाँ दिनहुँजसो दोहोरो गोलाबारी चल्ने गरेको छ। गाउँमा शलिना नामकी विधवाको काठको पुस्तैनी घर छ। केही वर्षअघि सासू–ससुरा दुवैको भेंडा चराउन जाँदा पाकिस्तानी सेनाको गोली लागेर मृत्यु भइसकेको छ भने लोग्ने याकुबले पनि दुई वर्षअघि भारतीय सेनासितको मुठभेडमा मृत्युवरण गरिसकेको छ।
अहिले घरमा शलिना र आठ वर्षको छोरा सुलेमान मात्र छन्। शलिना आफ्नो छोरा पढेर सरकारी जागीरे भएको हेर्न चाहन्छे। यसैले ऊ छोराको पढाइको लागि त्यहाँबाट सुरक्षित स्थानमा बसाइँ सर्न चाहन्छे तर हप्ता दिन बिराएर आउने जेहादी मसुद उसको बाधक बनेको छ।
झ्याप्प दा–हीजुङ्गा पालेको, कम्मरसम्म ग्वाम्म छोप्ने ह्वारलाङ परेको कपडा लगाएको, काँधमा एके ४७ भिरेको, शिरमा बा–ह हातको
(फेटा जस्तो) कपडा बेरेको, आँखामा हिंसा र प्रतिशोधको भावना स्पष्ट देखिने मसुद आफ्नो उम्लेको यौन चाहना शान्त पार्न शलिनाको घरमा आउने गरेको छ। मसुदले सुलेमानलाई आफ्नो काँधको राइफल देखाउँदै भन्छ, “तँलाई पनि चाहियो यो ? पख् अब दुई/चार वर्ष।”
मसुदको यो कुरा सुनेर शलिनाको छाती सधैं चिरिन्थ्यो। आज पनि चिरियो। मसुदले दश वर्ष पुगेपछि सुलेमानलाई आफूसित जेहादी सङ्गठनमा सामेल गराउने बताउँदै आएको छ। आज पनि बन्द कोठा शलिनाको चित्कार क्रन्दनले गुञ्जियो। प्रतिकार गर्न सकिन शलिनाले।
“ला, सुलेमान चकलेट किनेर खा,” मसुदले सधैंझैं सुलेमानलाई पचासको एउटा नोट दियो र निमेषभरमैं बेपत्ता भयो।
०००
शलिनाले भेंडीगोठ बेचिसकेकी छे। ऊ पुरानो थातथलो छाडेर अन्तै कतै सुरक्षित ठाउँमा जान चाहेकी छे। कतै मसुदले थाहा पाउने हो कि भन्ने डर छ उसलाई। उसले श्रीनगरसम्म पुग्न पैदल चार कोस हिंडेर बस चढ्नुपर्छ। आवश्यक सामान ठीक्क पारेर बसेकी शलिनालाई जुन कुराको डर थियो त्यही भयो। मसुद उसैगरी टुप्लुक्क आइपुग्यो। उही तेवर र अभीष्ट बोकेर।
तर आज ढोकाभित्रबाट बन्द गरे पनि शलिनाको चित्कार क्रन्दन सुनिएन। बरु मसुद भने चित्कार, क्रन्दनका साथ छट्पटाउँदै ढोका फोरेर बाहिर आयो। उसको पाइजामा छिचोलेर ह्वालह्वाल्ती रगत बगिरहेको थियो। मसुद पीडाले छटपटाइरहेकै अवस्थामा शलिना छोरा डो–याएर हावाको वेगमा घरबाट प्रस्थान गर्छे।