तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने कुरामा होडबाजी नै शुरू भएको छ । सरकारले विभिन्न योजनाहरू समयमा सम्पन्न गर्ने गरी दिएको समयसीमाभन्दा बढी समयमा पनि निर्माण कार्य सम्पन्न नभएका थुप्रै उदाहरण हामीसामु छन् । विभिन्न बहानामा निर्माण कार्यहरू समयमा सम्पन्न नभएको थुप्रै उदाहरण हामी सामु छन् । राष्ट्रिय गौरवका विषय बनाइएको दु्रतमार्ग होस् अथवा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । राष्ट्रिय गौरवका यी संरचनाहरूको निर्माणमा चरम लापरवाही भइरहेको छ भने अन्य निर्माणका कुराहरूमा लापरवाहीको मापन कसले गर्ने ? जुनसुकै सरकार आओस् राष्ट्रिय गौरवका सवालमा ठूला कुरा गर्ने तर काम भने सानो गर्ने परिपाटीको हाम्रो देशमा उहिल्यैदेखि विकास भएको कुरालाई नकार्न सकिन्न । उदाहरणका लागि पर्सा जिल्लाको सन्दर्भलाई केलाउने हो भने पनि ठूला योजनाहरू समयमा नसकिएका थुप्रै दृष्टान्त हामीसामु छन् । हुलाकी सडक होस् वा वीरगंज महानगरपालिका अन्तर्गतको बिपी उद्यान त्यसका दृष्टान्त हुन् । हुलाकी सडक निर्माणको कुरा भारत सरकारको सहयोगमा शुरू भएको योजना हो । पछिल्लो समयमा तीन दशकभन्दा लामो समयपछि यो योजना नेपाल सरकारले सञ्चालनमा ल्याएको छ । तर यो योजनाको कार्यप्रगति पनि अहिलेसम्म आसलाग्दो भइसकेको छैन । हुलाकी सडक अन्तर्गत निर्मित सडकका कारण थुप्रै स्थानमा धेरै खाले परिवर्तन भएका छन् । जग्गाको मोल बढेको छ, व्यापार फस्टयाएको छ, आममानिसको आवतजावत सहज भएको छ तर पूर्व मेचीदेखि पश्चिम महाकाली जोड्ने यो सडकखण्डको पूर्णरूपमा निर्माण हुन भने अहिलेसम्म सम्भव भइसकेको छैन । यसका विविध पक्षहरू होलान्।

यो योजना मधेसको विकासका लागि कोेसेढुङ्गा साबित हुन सक्ला तर ३५ वर्ष लामो समयदेखि यसको विकास रोकिनुको तार्किक कुरा भने जनतासामु आइसकेको छैन । योजना तर्जुमा गर्नु र लागू गर्नु मात्र बहादुरीको कुरा होइन, यस्ता योजनाहरू तर्जुमा गर्दा र लागू गर्दा तोकिएको समयमा पूरा गर्नुपर्छ भन्ने नैतिक दायित्व पनि पूरा गरिनुपर्छ र त्यसको जिम्मेवारी लिने पक्ष संवेदनशील हुनुपर्छ । केन्द्रीयस्तरबाट हुने यस प्रकारका कार्यहरूको सिको प्रदेश र स्थानीय सरकारले गर्दै आएका छन्, जसको परिणाम आमजनताले भोग्न बाध्य छ ।

वीरगंज महानगरमा सघन शहरी तथा भवन निर्माण आयोजनाले दुईवटा काम सञ्चालन गरेको छ । तीसवटा स्थानमा ५२ किलोमिटर सडक निर्माण र स्तर उन्नतिको लागि करीब डेढ सय करोड रकम खर्च गरेको यो आयोजनाको करीब आधाभन्दा बढी काम सम्पन्न हुन सकेको छैन । दुईवटा ठेकदार कम्पनीले सकार गरेको यो योजना साढे तीन वर्ष पूरा हुन लाग्दा पनि सम्पन्न हुन सकेको छैन । दुई वर्षमा सम्पन्न हुुनुपर्ने योजना लगभग दोब्बरी समयमा सम्पन्न हुन नसक्दा त्यसको उचित कारण सम्बन्धित ठेकेदार कम्पनीले दिन नसकेको अवस्थामा उनीहरूको फर्जी निवेदनका आधारमा म्याद थप गर्ने पनि उत्तिकै कसूरवार देखिन्छन् । यसैलाई भनिन्छ, अन्धेर नगरी चौपट राजा, टके सेर भाजी टके सेर खाजा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here