- श्रीमन्नारायण
राष्ट्रियता एक व्यक्तिगत र सामूहिक भावना हो, जसले एक निश्चित भूभागमा रहेका विभिन्न समुदायको देशप्रति एकीकृत सद्भावना र गौरव व्यक्त गर्दछ । राष्ट्रबाट राष्ट्रियता भएकोले र हाम्रोजस्तो वैविध्यपूर्ण देशका लागि यस्तो सामूहिक भावनाले एकता र समृद्धि दिन्छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं विभिन्न धर्म मान्नेहरूको देशको रूपमा व्याख्या गरेको छ ।
प्रत्येक देशवासीको भाषा, संस्कृति, तिनको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा एक समान उत्थान एवं विकासको निम्ति काम भएमा स्वतः नै तिनमा राष्ट्रप्रेम जाग्रत हुन्छ । राष्ट्रप्रेम एउटा भाव हो, जो प्रत्येक व्यक्तिको अन्तःकरणबाट स्वतः प्रस्फुटित हुन्छ । यो प्रदर्शनको विषय होइन । जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने शिक्ष्Fा त हाम्रो धर्मशास्त्रहरूले पनि सिकाएका छन् ।
सकारात्मक राष्ट्रियताले देशवासीमा सद्भाव, सहकार्य, सहिष्णुता एवं सामञ्जस्यको वातावरण विकसित गरी देशमा एकता एवं एकजुटता कायम राख्न मदत पु¥याउँछ, साथै देशको आर्थिक प्रगतिमा पनि सहयोगी साबित हुन्छ । नकारात्मक अथवा घृणा, द्वेष एवं पूर्वाग्रहले ग्रसित तथा देखावटीमा आधारित राष्ट्रवादले देशको ठूलो अहित गर्छ । हाम्रो देशमा सकारात्मक राष्ट्रिताको आवश्यकता छ ।
कतिपयले अरूको विरोधमा आफ्नो राष्ट्रियता बलियो भएको देख्छन् भने अरूले राष्ट्रियतालाई एकीकृत मानवतासित जोडछन् । नकारात्मक राष्ट्रियताले अरूप्रति घृणा र द्वेषको भावना जगाउँदा सधैं लघुताभासले ग्रसित भएको पाइन्छ । छिमेकीप्रति प्रायः व्यक्त विचार, पूर्वाग्रह र अतिरञ्जना यसका लक्षण हुन् । नेपालमा दक्षिणी छिमेकीलाई अभिमानी, कुभलो चिताउने र अहितकारी साबित गर्न देशका वामपन्थी विचारक, राजनीतिकर्मी र कतिपय विज्ञहरू लागि परेका हुन्छन् ।
एक पश्चिमेली विद्वान् गुनार मिर्डनले साना देशले बलियो छिमेकीप्रति प्रायः व्यक्त गर्ने आक्रोश अथवा गुनासो गर्ने बानीलाई आक्रोशित राष्ट्रवादको संज्ञा दिएका छन् । देश त भौगोलिक सिमानाको प्रतिनिधित्व गर्दछ । यसको आकार बढ्ने, घट्ने र नयाँ आकार पनि ग्रहण गर्ने गर्दछ । किनभने यसमा बढी नकारात्मक पक्ष हावी भएको हुन्छ फलस्वरूप दुई पक्षीय सम्बन्धमा वस्तुगत विश्लेषणको अभाव हुन्छ । कसैले वस्तुपरक कुरा उठाए पनि पक्षीय विचारले ग्रस्त हुनेले त्यस्तै आँखाले हेर्छ । यसमा सधैं अरूमाथि दोष थोपर्ने र आफ्ना कमजोरी लुकाउने प्रवृत्ति हावी हुन्छ । नेपाल र भारतका सम्बन्धमा यस्ता धारणा सधैं आइरहेका हुन्छन् । काल्पनिक कुराका आधारमा पनि रिस व्यक्त भइरहेका हुन्छन् ।
सकारात्मक राष्ट्रियता समझदारीमा आधारित हुने भएकोले यसमा अतिरञ्जना कम हुन्छ र आपसी विश्वासको सम्भावना बढी हुन्छ । सकारात्मक राष्ट्रियताको प्रवद्र्धनका लागि राष्ट्र बलियो हुने आधार खोज्नुपर्छ । यो भनेको देशको समग्र एवं समावेशी विकासबाट मात्रै सम्भव हुन्छ । यसमा आर्थिक पूर्वाधारका सर्वपक्ष, मानवीय विकास, आधारभूत आवश्यकता, गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा, भाषा र संस्कृतिको विकास समाहित हुन्छ । यस्ता आवश्यकताको न्यायपूर्ण वितरण र उपभोगका लागि राज्यका विभिन्न संरचनामा त्यही अनुसार समानुपातिक प्रतिनिधित्व गराइनुपर्छ ।
यदि जनता नै राष्ट्र हो भने लोकतन्त्रको सन्दर्भ पनि जनतासितै जोडिनुपर्छ । हाम्रो लोकतन्त्रले सही अर्थमा सकारात्मक राष्ट्रियताको विकास गरिरहेको छ त ? भन्ने प्रश्नको जवाफ हामीले नै खोज्नुपर्ने अवस्था छ । आज राज्यका धेरै निकाय सही ढङ्गले काम गर्न नसकिरहेको कारण स्थापित लोकतन्त्रलाई नै अलोकप्रिय एवं कमजोर बनाउने काम भइरहेको छ । लोकतान्त्रिक शासन प्रणालीमा पनि राष्ट्र बलियो भएन भने झन् कुनै तानाशाहको शासनमा कसरी यो सम्भव हुन सक्छ ? जनतामा बढिरहको नकारात्मक वातावरणको उपचार गरी सकारात्मक वातावरण विकसित गर्ने जिम्मेवारी पनि सरकार तथा राजनीतिक दलहरू एवं बुद्धिजीवी वर्गकै हो ।
नकारात्मक राष्ट्रिय सोच बढाउन नेपालको राजनीतिक अभ्यासले ठूलो भूमिका खेलेको छ । पहिले हुकुमी शासनका सबै संस्कार र शैली प्रजातन्त्र एवं हालको लोकतन्त्रमा पनि यथास्थितिमैं रहनुलाई दुर्भाग्यपूर्ण नै मान्नुपर्दछ । जनता (राष्ट्र) बलियो पार्न आधारभूत आवश्यकताको पूर्ति एक आवश्यक शर्त हो । आर्थिक विकासका माध्यमले यी आवश्यकताको पूर्ति गर्न मदत गरेपनि सामाजिक न्यायका लागि यति मात्रै पर्याप्त हुन सक्दैन । त्यसैले समग्र विकासको अवधारणा ल्याइएको हो । वर्तमान अवस्थामा राज्यको क्षमतामा ह्रास आएकोले यो क्षेत्र मात्रै कमजोर भएको छैन । सम्पूर्ण तन्त्र नै प्रभावित भएको मान्नुपर्दछ । समावेशी लोकतन्त्र व्यवहारमा उत्रिनु आवश्यक छ । देशका सबै जनताले साझा अनुभूति गर्ने वातावरणको निर्माण हुनुपर्दछ ।
राज्यका लागि सार्वभौमसत्ता आवश्यक छ तर राष्ट्र मनोभावना हो । त्यस्तो भावना धर्म, भाषा, संस्कृति एवं भौगोलिक एकताद्वारा विकसित हुन्छ । राज्य बन्नका लागि सरकार आवश्यक छ तर राष्ट्र भनेको सरकार र राज्यभन्दा माथिको विषय हो । राष्ट्रियताको अवधारणामा निर्जीव वस्तुहरूको महŒव ठान्नेहरू तानाशाह प्रवृत्तिका हुन्छन् । मानिसको विकाससँगै सजीव तथा मानवीय पक्षहरूलाई राष्ट्रियताको बलियो आधार मान्ने अवधारणा निकै अघि नै विकसित भइसकेको हो । विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्न सके मात्रै राष्ट्र निर्माण कार्यले मूर्तरूप लिन सक्छ ।
हामीले अहिलेसम्म राष्ट्रवादलाई व्यक्तिगत, समूहगत वा दलगत लाभको आधारमा प्रयोग गरेका छौं तर यसलाई बलियो बनाउने काम गरेनौं । नेकपा माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षले राष्ट्रवादको परिभाषामा केही परिवर्तन अवश्य पनि ल्याएको छ । नेपालमा जातीय राष्ट्रवाद अर्थात् सामुदायिक राष्ट्रवादको निम्ति नेपाली जनता सङ्घर्ष गर्न पनि तयार छ भन्ने कुरालाई यसले प्रमाणित गरेको छ । जातीय राष्ट्रवाद आफ्नो पहिचान, भाषा, संस्कृति, भौगोलिक एवं ऐतिहासिक विशिष्टतामा तथा समान मनोविज्ञानका कारण राष्ट्र तथा परम्परा एवं परिस्थितिजन्य भावनात्मक रूपबाट बाँधिएको छ ।
राष्ट्र सर्वोपरि निष्ठा हो । जनताको सामूहिक अनुभूति हो । यस अनुभूतिको मूलाधार मातृभूमि र आपसी प्रेम, सद्भाव, सहिष्णुता एवं परस्पर सहयोगको भावना, धर्म तथा संस्कृति हो । यस सहज अनुभूतिको अभिव्यक्ति नै राष्ट्रवाद हो । राष्ट्रियता एक संवेदनशील निजी र सामूहिक भावना हो । जसले निश्चित भूभागमा रहेका विभिन्न समुदायको देशप्रति एकीकृत सद्भावना र गौरव व्यक्त गर्दछ । राष्ट्रवाद नै राष्ट्रियता भएकोले हाम्रोजस्तो विविधताले भरिएको देशमा राष्ट्रवादको परिभाषा पनि सोही अनुरूप हुनु आवश्यक छ ।
अतीत र वर्तमानको वास्तविकता तथा भविष्यको आकाङ्क्षाका लागि सर्वसम्मिलित सरकार, सदस्यहरूमा परस्पर सम्पर्क, साझा स्वार्थ राष्ट्रको छविबारे सदस्यहरूको मनमा समवेत भाव नै राष्ट्र हो । घृणा, द्वेष, पूर्वाग्रह एवं प्रतिशोधमा आधारित नकारात्मक भाव कमजोर राष्ट्रवादको पहिचान हो । राष्ट्रियता बलियो हुनु र राष्ट्र पनि बलियो हुनु आवश्यक छ । राज्य बलियो भएमा राष्ट्र पनि बलियो हुन्छ भन्ने तर्क अब अप्रासाङ्गिक छ ।
एक्काइसौं शताब्दी मात्रै होइन, त्यसभन्दा निकै अघिदेखि नै राष्ट्रको परिभाषामा परिवर्तन आइसकेको छ । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको विज्ञानसम्मत परिभाषा नहुन्जेल यसको मनोगत विश्लेषण भइरहने तथा केही राजनीतिक दलको कार्यालय तथा स्वघोषित राष्ट्रवादीको कलमबाट राष्ट्रवादको प्रमाणपत्र वितरण भइ नै रहने छ । अहिले एमसिसीमा देखिएको राष्ट्रवाद नेपालको हितभन्दा पनि एउटा खास छिमेकीलाई कष्ट पुग्ने त होइन भन्ने मानसिकताबाट ग्रसित देखिन्छ ।