महानगरपालिकाले विवादित जग्गामा तरकारी बजार स्थापना गर्ने पहल गरेको छ । जग्गाको स्वामित्व भोलि महानगरपालिकामा आउला, नआउला भन्न सकिन्न । स्वामित्व नआउँदा थोरै भए पनि लगानी खेर जाने कुरामा शङ्का छैन । स्वामित्व आए पनि अस्थायी लगानी त खेर नै जाने हो । मानिसलाई दैनिक उपभोग्य वस्तु जहिले पनि आवश्यक हुन्छ । तरकारी त झन् भोजनमा नभई नहुने वस्तु हो । यो ताजा, शुद्ध छ भने झन् राम्रो । आज शहरको आबादी जुन गतिले बढिरहेको छ, त्यस आधारमा वीरगंजका प्रत्येक वडामा कम्तिमा एक–एकवटा तरकारी बजार त चाहिन्छ नै । महानगरले यस आवश्यकतामा ध्यान पु¥याउन सकेजस्तो लाग्दैन । हुनत हाल बहालवाला जनप्रतिनिधिहरूको कार्यकाल समाप्त हुनै लागेको छ, अहिलेको बेला उनीहरूले यस्तो योजना सञ्चालन गर्न सक्दैनन् । तर यो अति आवश्यक र नगरवासीमा तत्काल प्रभाव पर्ने विषय हो । तरकारी बजारको सही व्यवस्थापन हुन सक्यो भने क्रेता–बिक्रेता तथा महानगरपालिकालाई पनि यथेष्ट लाभ हुन्छ । तरकारीको गुणस्तरको महानगरपालिकाले एकै ठाउँमा परीक्षण गर्न पाउँछ, राजस्व सङ्कलन गर्ने अधिकारी बन्छ, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्दैन र बिक्रेताले पनि ठाउँ–कुठाउँ चहारिरहनुपर्दैन ।
आज तरकारी बजारको जुन अवस्था छ, त्यो हेर्दा अति शर्म लाग्छ । दुर्गन्धले भरिएको, प्रस्ट देखिने घिनलाग्दो फोहर नालाको छेउ भुइँमैं खाद्य पदार्थको खरीद–बिक्री भइरहेको देख्दा जोकसैलाई अप्ठ्यारो महसूस हुन्छ । विवशताले मात्र मानिसले त्यस्ता ठाउँबाट सामान खरीद गरिरहेको हुन्छ । तरकारीसम्म त धोइपखाली गरेर चित्त बुझाउन सकिन्छ, तर माछा–मासु पनि त्यस्तै ठाउँमा बिक्री हुनु, कतिपय अवस्थामा त त्यही नालाको पानीले धोइपखाली गरेको देखिनु कतिसम्म गैरजिम्मेवार काम होला १ यस्ता कुरामा महानगरपालिकाको प्रत्यक्ष सरोकार हुनुपर्ने हो । किनभने अब महानगर सरकार भएको छ । नगरवासीको विभिन्न सुविधामध्ये शुद्ध खाद्य पदार्थ पनि उसको दायित्व हो । खाद्य पदार्थ शुद्ध भएन भने नागरिक अस्वस्थ हुन्छ, र अप्रत्यक्ष्Fरूपमा त्यसको भार महानगरपालिकामाथि पनि आइलाग्छ । किनकि नगरवासीको स्वास्थ्यका लागि महानगरपालिकामा एउटा स्वास्थ्य शाखा नै छ । आज यस शाखाको कार्यविस्तार नभएकोले हो, अन्यथा अशुद्ध र प्रदूषित खानपानबाट नागरिक बिमारी हुन्छ भने त्यसको दायित्व महानगरपालिकाले नै बोक्नुपर्छ ।
प्रायः गाउँले वडाहरूमा बजारका लागि परम्परागत स्थान निश्चित हुन्छ । त्यसमा भूमाफियाहरूको आँखा गडेकै होला । तिनले कुनै छलछाम गरून्, त्यस अगावै ती बजारस्थलहरू कब्जामा लिएर, तत्काल काम चलाउ नै भए पनि तरकारी बजार व्यवस्थापन गर्नु जरूरी छ । पुरानो शहरको हकमा प्रत्येक वडामा केन्द्र तय गरी बहालमा घर–जग्गा लिएर वा महानगरपालिकाले आफैं खरीद गरेर बजार व्यवस्थापन गर्नु आजको पहिलो आवश्यकता
हो । यस्ता बजारहरूको स्थापनाबाट खाद्य पदार्थको शुद्धता कायम गर्न सकिन्छ, नागरिक–नागरिकबीच भेट हुन्छ, नगरको विकासका लागि विचार–विमर्श हुने सकारात्मक बानी बस्छ । एकै ठाउँमा सबै थोक बिक्री हुने हुँदा, फालिएका गैरजरूरी चीजको व्यवस्थापन पनि सहज
हुन्छ । फालिएका चीजबाट पनि महानगरपालिकाले आय गर्न सक्छ ।