राकेश यादव, रौतहट, ८ माघ/
रौतहटमा एउटा यस्तो ठाउँ छ, जहाँका बासिन्दा अहिले पनि कष्टकर जीवन बिताइरहेका छन् । चन्द्रपुर नगरपालिका–१ को जरूवा टोलका ५४ घर–परिवार कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।
सरकारी सेवा सुविधा तथा जनप्रतिनिधिको पहँुच नपुगेको सो ठाउँमा आउनेजाने बाटोको समस्या छ । पूर्व– पश्चिम राजमार्गदेखि उत्तर चुरे पहाडको फेदमा झुपडी बनाएर बस्दै आएको ५४ घर–परिवार छ ।
जनप्रतिनिधिले गाउँको बेवास्ता गरेको गुनासो स्थानीय प्रतापसिंह स्याङतानको रहेको छ । राईटोलभन्दा उत्तर खोलापारीमा सो बस्ती रहेको छ । ३ घण्टा हिंडेर खाद्यान्न सामग्री ल्याउनुपर्ने उनीहरूको दुःखेसो विडम्बनापूर्ण छ । विद्युत्, सञ्चार, शिक्षा र स्वास्थ्य सबै ठाउँमा पुगे पनि त्यस बस्तीका मानिस यी सुविधाबाट वञ्चित छन् ।
उत्तर मकवानपुरको सिमानासित जोडिएको त्यहाँ बासिन्दा अहिले पनि कुलोको पानी खान बाध्य छन् । विद्यालय र स्वास्थ्य चौकी पनि छैन । शुद्ध खानेपानीको अभाव छ । शिक्षाबाट वञ्चितीकरणमा परेका उक्त बस्तीका किशोरकिशोरीहरू श्रम गर्न जिल्ला बाहिर जाने गरेको स्थानीय सुबासिंह पाख्रिनले बताए ।
कोरोनाको महामारीमा पनि केही राहत नपाएको पाख्रिनले सुनाए । नगरपालिकाबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबाहेक बस्तीका मानिसले कुनै पनि प्रकारको सरकारी सुविधा पाउन सकेका छैनन् ।
बाढी आउँदा गाउँँ बाहिर जानआउन नसकिने बताउँदै विद्युत् सुविधा नभएकोले जङ्गली जनावरबाट उच्च जोखिमसमेत भोगिरहेका छन् । गर्भवती हुँदा के के गर्नुपर्छ भन्ने कुरा महिलाहरूलाई जानकारी छैन । रातिको समयमा केही भयो भने डाक्टर नै नआउने, छटपटिएर ज्यान गुमाउने पर्ने अवस्था रहेको गाउँलेको गुनासो छ ।
नेपाल सरकारले कोरोनाको महामारीमा प्रभावित भएका विपन्न, मजदूर, दलित परिवारलाई १० हजार राहत दिने गरेको घोषणाबारे उनीहरूलाई जानकारी गराइएको छैन । प्रदेश सरकारको जनता आवास कार्यक्रमकोक आवश्यकता रहेकोतर्फ स्थानीय सरकार र जनप्रतिनिधिहरूले ध्यान दिनु जरूरी छ ।