– राजेश मिश्र

पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा विसं २०७२ देखि ‘सुनाखरी मध्यवर्ती होम–स्टे’ सेवा सञ्चालनमा छ। यहाँ हात्ती सफारी र लोकनृत्यको मनोरञ्जनसहित होम–स्टे सेवा उपलब्ध छ। अङ्ग्रेजी शब्द ‘होम–स्टे’लाई लोकभाषामा ‘घर–वास’ भनिन्छ। चाँडबाड, बिदा, नयाँ वर्ष वा आफू अनुकूल समयमा सुवर्णपुर पुगेर होम–स्टेको सत्कार प्राप्त गर्न सकिन्छ। खाने–बस्ने शुल्कसहित घरायसी वातावरणमा वास बस्ने गन्तव्य नै आज होम–स्टेको नामले प्रसिद्ध छ। वर्तमान परिप्रेक्ष्यमा पर्यटक लक्षित क्षेत्रमा ‘होमस्टे’ व्यवसाय प्रति आम आकर्षण बढ्दो छ। सुनाखरी मध्यवर्ती होम–स्टे सुवर्णपुरको छातामुनि विभिन्न व्यक्तिका १५ वटा घर आबद्ध छन्। अटैच बाथरूमसहित दुईटा आरामदायक बेड, टेबल, हेङ्गरलगायत सुविधाले सम्पन्न कोठाहरू छन्।

तुलानात्मकरूपमा महँगो होटलको दर भन्दा होमस्टे सस्तो मात्र पर्दैन, अपितु अकल्पनीय सेवाभाव पनि पाइन्छ। आगन्तुकप्रति समर्पित सेवाभाव केवल होम–स्टेमा अनुभूत गर्न सकिन्छ। पारिवारिक वातावरणमा बसाइसँगै पारम्परिक व्यञ्जन तथा लोकसंस्कृति आदिको भरपूर आनन्द होम–स्टे सेवा अन्तर्गतका विशेष आकर्षण हुन्। आज मात्र होइन, मानव जीवनको प्रारम्भकाल देखि नै गाउँलाई शान्तिको प्रतीक मानिन्छ। पैसाका लागि गाउँबाट पलायन हुने जनघनत्व अन्ततोगत्वा स्वच्छ हावा र शान्तिका साथ गाउँमैं फर्किंदो रहेछ। त्यसैले व्यस्त जीवनशैलीमा लिप्त मानिसहरूका लागि सुवर्णपुर होम–स्टेको बसाइ नितान्त सुखानुभुति प्रदान गर्ने खालको लाग्छ।

यात्रा यसरी पक्का भयो

ठोरी गापा–५ सुवर्णपुरमा ‘होम–स्टे’ सेवा सञ्चालनमा रहेको कुरा जानकारीमा थियो। यद्यपि भ्रमणकोे अवसर पाइरहेको थिएन। एक दिनको कुरा हो, प्रतीक दैनिकको कार्यालयमा म, समाचार सम्पादक आरके पटेल र संवाददाता राधेश्याम पटेलबीच विविध विषयमा गपशप भइरहेको थियो। यसैबीच नयाँ वर्ष २०२२ को प्रसङ्गले ठाउँ पायो। ‘फस्र्ट जनवरी’को अवसरमा कहाँ जाने भन्ने कुरामा हाम्रो आआफ्नै धारणा थियो। त्यतिकैमा सम्पादक प्रताप (श्रेष्ठ) दाइको आगमन भयो। हामी चारजनाबीच गहन विमर्श भइरहेकै बेला सम्पादक शत्रुघ्न (नेपाल) दाइको पदार्पण भयो। अनेक इच्छा र आकाङ्क्षासहित हाम्रो आआफ्नै तर्क थियो। अन्ततः हाम्रो खुल्दुली सम्पादक विकास (शर्मा) दाइको कानसम्म पुग्यो। र विकास दाइको शर्तपूर्ण समर्थनले हाम्रो अकल्पित अपेक्षा उत्कर्षपूर्ण हर्षमा परिणत भयो।

विकास दाइको तर्कपूर्ण शर्त हामी सबैलाई शत–प्रतिशत सान्दर्भिक लाग्यो। आखिर उनको शर्त के थियो ? किन सान्दर्भिक थियो ? यहाँ उल्लेख नगरी हुन्न। उनको तर्क थियो– अहिले नयाँ स्वरूपमा कोरोनाको तेस्रो चरण उदीयमान छ। त्यसैले दूरदराज जानुभन्दा पनि हाम्रो नयाँ वर्षको गन्तव्य वीरगंज आसपास नै केन्द्रित हुनुपर्छ। छनोटमा पर्यटनको सम्भावना बोकेको स्थानीय ठाउँ पर्नुपर्छ। नयाँ वर्षको उत्सवसँगै सञ्चारकर्मीको नाताले पर्यटनका सम्भावित क्षेत्रको भ्रमण र अवलोकन समय सापेक्ष हुनेछ। स्थानीय पर्यटन प्रवद्र्धनलाई आफ्नो क्षमताले भ्याएसम्म प्रोत्साहित गर्नुपर्छ। पैसा अन्यत्र खर्च गर्नुभन्दा आफ्नै क्षेत्रमा खर्च गर्नुले थोरै भए पनि स्थानीय कारोबार उत्साहित हुनेछ।

हामीबीच गन्थन–मन्थन भइरहेकै बेला प्रताप दाइले सुवर्णपुर जाने कुरा सुझाए। होमस्टेको बसाइसँगै स्थानीय पर्यटन प्रवद्र्धनको दृष्टिकोणले भ्रमण र अवलोकन सार्थक हुने उनको जिकिर थियो। उनको जिकिर सान्दर्भिक मात्रै होइन, सम्पादक विकास दाइको शर्त पनि पूरा हुने प्रकृतिको थियो। ठाउँ पनि नजीक भएकोले भ्याएसम्म प्रेसको काम सकेर जान मिल्ने भएकोले ठोरीतर्फको यात्रा उपयुक्त थियो। नयाँ वर्ष २०२२ को अवसरमा हामीबीच सुवर्णपुरको होम–स्टेमा बस्ने र भोलिपल्ट ठोरी जाने कुरा पक्का भयो। आएपछि पूर्ण भुक्तानी दिने गरी सेढवा संवाददाता ओमप्रकाश चौधरीमार्फत होम–स्टे बूक गर्ने काम एक हप्ता अगावै सम्पन्न भयो।

सुवर्णपुरमा एक रात

नयाँ वर्षको पूर्वसन्ध्या, अर्थात् ३१ डिसेम्बर, शुक्रवारको दिन थियो। करीब तीन बजे हामी सुवर्णपरको लागि प्रस्थान ग–यौं। वीरगंजदेखि सुवर्णपुरको दूरी करीब ४० किमि पर्छ। भोलिपल्ट शनिवार एक कार्यक्रममा उपस्थित हुनुपर्ने भएकोले शत्रुघ्न दाइ र प्रताप दाइले स्कुटीको यात्रालाई सुविधाजनक ठाने। उनीहरू दुवैजना हामीभन्दा एक घण्टा अगावै हिंडिसकेका रहेछन्। मलाई याद भएसम्म उक्त दिन पहिलोपटक होला, प्रेसबाट एकसाथ सबैजना बेपत्ता भएका थिए। त्यसकारण उक्त दिन प्रेसको समूल अभिभारा ७१ वर्षीय प्रधान सम्पादक तथा हाम्रा आदरणीय जगदीश (शर्मा) अङ्कलको काँधमा थियो। उमेरले वृद्धको श्रेणीमा दर्ज भए तापनि कार्य सम्पदानप्रति उनी आज पनि युवाको तुलनामा बढी सक्रिय छन्। ढल्किंदो उमेरमा पनि अङ्कलको सक्रियता उदाहरणीय छ।

चिन्ताशून्य मुद्रामा प्रेसबाट निस्केको एक घण्टामा हामी सुवर्णपुरको होमस्टेमा उपस्थित थियौं। कालो चियाको चुस्कीसँगै स्थानीय नेता जरी लामा र शम्भुराम पौडेलसमेत हामीबीच कुराकानी भइरहेको थियो। केही बेरपछि होम–स्टेका प्रतिनिधि पौडेलले हामीलाई होम–स्टे अन्तर्गत सञ्चालित विभिन्न घर तथा कार्यलयको अवलोकन गराए। गोधुलीको समय पोखरिया संवाददाता धर्मेन्द्र चौरसिया र पर्सागढी संवाददाता नरेश यादव पनि आइपुगे। सबै संवादाताहरूलाई उपस्थित हुन भनिएको थियो। यद्यपि कार्य व्यस्तताका कारण केही सहकर्मी उपस्थित हुन सकेनन्।

रातिको खाना भयो। विश्रामको लागि भिन्दाभिन्दै घरमा हामी सबैजना गयौं। डबल बेडको चारवटा कोठामा हामी आठजना आनन्दपूर्वक रात बितायौं। भोलिपल्ट बिहान नित्यकर्मबाट निवृत्त भएपछि चियापान भयो। त्यसपछि शत्रुघ्न दाइ, प्रताप दाइ, राधेश्याम पटेल र धर्मेन्द्र चौरसिया वीरगंज फर्के। विकास दाइ, नरेश यादव र म गाडीमा सवार भएर ठोरीको यात्रा आरम्भ भयो।

फस्ट जनवरीको दिन ठोरीको दृश्य

बिहान लगभग एघार बजे हामी ठोरी पुग्यौं। त्यहाँ गुरुदेव उपाध्याय, ललन द्विवेदी, राजेश अधिकारी तथा सुवास सुवेदीलगायतसँग मित्र–मिलाप भयो। जताततै चिरपरिचित व्यक्ति भेट हुन्थे, जसमध्ये अधिकांशले पहिलोपटक ठोरीमा पाइला टेकेका रहेछन्। यसले ठोरीको मनोरम दृश्यावलोकनप्रति मानिसको आकर्षण बढिरहेको थाहा हुन्छ। पछिल्लो समय ठोरीप्रति आन्तरिक तथा भारतीय पर्यटकहरूको आकर्षण उत्कर्षमा पुगेको छ। किनभने हुलाकी राजमार्ग निर्माण भएपश्चात् ठोरीको यात्रा निकै सहज भएको छ। केही समय अघिसम्म वीरगंजदेखि ठोरीको यात्रा लगभग चार घण्टाको थियो। तर अहिले दुई घण्टामा ठोरी पुग्न सकिन्छ। नयाँ वर्षको दिन हावा र हुस्सुले मौसम अत्यधिक चीसो भए पनि मानिसको घुइँचो कल्पनाभन्दा बढी थियो। गणेशमान पार्क, ठुटे खोला पुल, सेतो पहाड, स्टोन पार्कलगायत स्थान भरिभराउँ थियो। कोही खाना पकाउने त कोही नाचगान र सेल्फी खिच्ने कार्यमा व्यस्त देखिन्थे। प्रायः युवा र वयस्क महिला तथा पुरुषहरूको उपस्थिति थियो। मानिस, मोटरसाइकल, ट्याक्टर तथा कारले ठुटे खोलाको क्षेत्र खचाखच भरिएको थियो।

यससँगै केही असान्दर्भिक गतिविधि पनि दृश्यमान भयो। जस्तै पुलको पश्चिम छेउबाट उत्तर, खोलातर्फ जाने सवारी साधनहरूसँग रकम असुली गर्ने प्रवृत्ति देखियो। पार्किङ, वासिङ वा अन्य कुन सुविधाबापत सवारी शुल्क उठाइँदै थियो ? केका लागि उठाइँदै थियो ? लगायत प्रश्नहरूको अपाच्य उत्तरले सवारीधनीहरूको मन आहत भएको प्रतीत हुन्थ्यो। सवारीधनीहरूका अनुसार रकम असुली गर्नुको औचित्य स्पष्ट थिएन। रसिद काट्ने युवकसँग सवारीधनीहरूको प्रश्नको भरपर्दो जवाफ थिएन।

प्रकृतिको काखमा अवस्थित ठोरीमा उच्च मानवीय उपस्थितिले माहोल निकै उत्साहप्रद थियो। ठोरी विकासोन्मुख पर्यटकीय गन्तव्य हो। त्यसैले अवाञ्छित गतिविधि शून्य हुनुपर्छ। आगन्तुकहरूमा ठोरी आउनैपर्ने मनोविज्ञान स्थापित हुने वातावरण निमार्ण गर्न पालिका तथा ठोरीवासी सबै सचेत हुनुको विकल्प छैन। सकारात्मक वातावरणले नै ठोरीको उज्ज्वल भविष्यको दिशा निर्धारण गर्न सक्छ। अन्य समयको तुलनामा, खासगरी फस्र्ट जनवरी र वैशाख १ गते ठोरीमा मानिसहरूको अत्यधिक चाप हुँदोरहेछ। यद्यपि निश्चित समयबाहेक मानिसहरूले ठोरीलाई नै गन्तव्य किन बनाउने भन्ने तर्फ ठोरीवासीको ध्यान केन्द्रित हुनुपर्छ। साप्ताहिक बिदा तथा अन्य बिदामा मानिसहरूको घुइँचो हुने वातावरण निर्माणप्रति पालिका स्तरबाट पहलकदमी अपेक्षित छ। भीडभाड हुने सम्भावित बेला पालिका आफ्नो दायित्व निर्वाहमा कर्तव्यनिष्ठ हुनुपर्छ। व्यवस्थापकीय पक्षलाई अनिवार्य ठान्नुुपर्छ।

प्रहरीको नियत

साँझ चार बजे हामी ठोरीबाट वीरगंजको लागि प्रस्थान ग–यौंं। करीब आधा घण्टामा विजयबस्ती पुग्यौं। विजयबस्तीस्थित श्रीराम माध्यमिक विद्यालय नजीक सशस्त्र प्रहरी सवारी चेकजाँचमा तल्लीन थियो। सोको झन्डै पाँच सय मिटर पूर्व नेपाल प्रहरी पनि सवारी चेकजाँचमैं व्यस्त थियो। आम सुरक्षाप्रति प्रहरीको समर्पणलाई जति प्रशंसा गरे पनि कम छ। यद्यपि यहाँ मूल प्रश्न के हो भने– के नयाँ वर्षको अवसरमा मानिसहरूको लर्को ठोरीतर्फ ओइरिन्छ भन्ने कुरा प्रहरीलाई पूर्व जानकारी थिएन ? यस्तो अवसरमा आगन्तुकहरूले मदिरापान गर्ने सम्भावना बारे के प्रहरी अनभिज्ञ थियो ? आआफ्नो क्षेत्रमा पर्ने हुलाकी सडकमा प्रहरीको उपस्थिति बिहानदेखि नै किन थिएन ? लगायत प्रश्नहरू उब्जिनु किमार्थ अस्वाभाविक होइन। उक्त दिन सवारी चेकजाँचको दौरान निश्चितरूपमा मदिरापान गर्नेहरू नै बढी कारबाईमा परेका होलान्। यस्ता मौकालाई यदि प्रहरीले आफ्नो कर्तव्यपरायणता ठान्छ भने योभन्दा दुर्भाग्यपूर्ण अवस्था अरू केही हुन सक्दैन।

खोलामा पानीको दिशामा माछा बगेर आउने सम्भावनालाई मध्यनजर गरी मलाहा खोकी (ढडिया) थापेर बस्छ, सुरक्षाकर्मीहरूको मनोविज्ञान पनि ढडिया थाप्ने खालको थियो। नियत सफा थियो भने बिहानदेखि नै सुरक्षाकर्मीहरूको संवेदनशील सक्रियता किन थिएन ? यहाँ प्रहरीको मनोविज्ञान ‘हात्तीको खाने दाँत र देखाउने दाँत’ भन्दा फरक भन्न सकिन्न। आम मनोविज्ञान पनि विचित्र छ। मदिरापान गरी सवारी चलाउनु हुँदैन भन्ने कुरा कसलाई थाहा छैन ? ज्यान जोखिममा पार्ने कार्य कसैले पनि गर्नुहुँदैन। आफंै सचेत हुनुको विकल्प छैन। आखिर सो दिन सडक दुर्घटनामा परेर एकजना युवकको ज्यानै गयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here