- उमाशङ्कर द्विवेदी
आचार्यले पाँचवटा वाण हानेर ती दुवै अस्त्र नष्ट पारिदिए। फेरि उनले धृष्टकेतुको वध गर्नको लागि एउटा तीखो वाण हाने। त्यो वाण उनको कवचलाई च्याती छातीभित्र छि–यो तथा उनी निष्प्राण भएर पृथ्वीमा लडे।
यस प्रकार चेदिराज मारिएपछि उनका अस्त्रविद्या विशारद पुत्रलाई बडो रोष भयो र उनी पिताको स्थानमा विरोचित आएर डटे तर द्रोणले हाँस्दा–हाँस्दै उनलाइ पनि यमराजको जिम्मा लगाइदिए। अनि जरासन्धका बली पुत्र उनी सामु आए। उनले रणाङ्गणमा आफ्नो वाणको झरी लगाएर आचार्य द्रोणलाइ अदृश्य नै पारिदिए। उनको यस्तो फुर्ती हेरेर आचार्य पनि वाणवर्षा गर्न थाले। यस प्रकार ती महारथिलाई वाणबाट आच्छादित गरेर उनले समस्त धनुर्धरहरूका सामु नै उनको वध गरिदिए।
अब पाञ्चाल, चेदि, सृञ्जय, काशी र कौशल–यी सबै देशका महारथि बडो उत्साहका साथ युद्ध गर्नका लागि द्रोणमाथि जाइ लागे। उनीहरूले आचार्यलाई यमराजको घर पठाउनको लागि आफ्नो सम्पूर्ण शक्ति लगाइदिए तर आचार्यले आफ्नो तीखा वाणबाट उनीहरूलाई नै यमलोक वास गर्न पठाइदिए। द्रोणको यस्तो कर्म हेरेर महाबली क्षेत्रधर्मा उनको सामु आएर एउटा अर्धचन्द्रकार वाणबाट उनको धनुष काटिदिए। अनि आचार्यले एउटा अर्को धनुषमाथि वाण सन्धान गरेर कानसम्म तानेर हाने। त्यसबाट क्षेत्रधर्माको ह्दय फाट्यो र उनी आफ्नो रथबाट निष्प्राण भएर भुइँमा ढले। यस प्रकार ती धृष्टद्युम्नकुमार मारिएपछि सबै सेना काम्न थाल्यो। अनि आचार्यमाथि चेकितानले आक्रमण गरे। उनले दशवटा वाण हानेर आचार्यलाई घाइते पारी उनको छातीमाथि पनि चारवटा वाण हाने तथा चारवटै वाणबाट उनको सारथि र घोडाहरूलाई मारिदिए। अनि आचार्यले तीनवटा वाणबाट उनको छाती र भुजामा प्रहार गरे। सातवटा वाण हानेर उनको रथको ध्वजा काटिदिए तथा तीनवटा वाण हानेर सारथिलाई पनि मारिदिए। सारथि मारिएपछि घोडाहरूले रथलाई लिएर यत्र–तत्र कुद्न थाले। यस प्रकार चेकितानको रथ सारथिहीन भएको हेरेर द्रोणले त्यहाँ एकत्रित भएका चेदि, पाञ्चाल र सृञ्जय वीरहरूलाई चारैतिर लखेट्न थाले।
सञ्जयले भने–राजन्, आचार्यले पाण्डवहरूको व्यूहलाई यस प्रकारले नष्ट पार्न थालेपछि पाञ्चाल, सोमक र पाण्डव वीरहरू त्यहाबाट टाढा भागे। अब धर्मराज युधिष्ठिरले आफ्नो कोही पनि सहायक देखेनन्। उनले अर्जुनलाई हेर्नको लागि चारैतिर दृष्टि पु–याए तर उनलाइ न अर्जुन देखा परे न सात्यकि नै देखा परे। यस प्रकार उनको दृष्टिले जति चहार्दा पनि अर्जुन न भेटेपछि उनको इन्द्रिय अत्यन्त व्याकुल हुन पुग्यो। उनी एकदमै शोकमा डुबे र भीमसेनलाई डाकेर भने–भाइ भीम, जो रथमाथि चढेर एक्लै देउता, गन्धर्व र असुरलाई परास्त गरिदिएका थिए आज तिम्रा ती भाइ कतै पनि देखा परिरहेको छैनन्। धर्मराजलाई यस प्रकार आत्तिएको देखेर भीमसेनले भने–राजन्, तपाईंको यस्तो अत्याहट त मैले कहिले पनि देखेको थिइनँ। पहिले जब हामीहरू दुःखबाट अधीर हुन्थ्यौं त्यति बेला तपाईंले नै हामीलाई ढाढास दिनुहुन्थ्यो। महाराज, यस संसारमा कुनै पनि यस्तो काम छैन जुर्न म गर्न सक्दिनँ। तपाईंले मलाई आज्ञा दिनुहोस् र मनमा कुनै पनि किसिमको फिक्री न लिनुहोस्। अनि धर्मराजले नेत्रमा जल भरेर दीर्घ निःश्वास लिंदै भने–भाइ हेर, श्रीकृष्णद्वारा रोषपूर्वक बजाइने पाञ्चजन्य शङखको शब्द सुनिंदै छ। यसबाट मलाई लाग्दछ अर्जुन आज मृत्यु शøयामाथि सुतेका छन् तथा उनी मारिएपछि श्रीकृष्ण स्वयं सङ्ग्राम गर्दैछन्। यही मेरो शोकको कारण हो। अर्जुन र सात्यकिको फिक्रीले मेरो शोकाग्निलाई झन् बढाइरहेको छ। हेर, उनीहरूको कुनै पनि चिह्न देखा परिरहेको छैन। यसबाट यही अनुमान भइरहेको छ कि अर्जुन र सात्यकि दुवै मारिएकाले नै श्रीकृष्ण स्वयं युद्ध गरिरहेका छन्। म तिम्रो दाजु हुँ, यदि तिमीले मेरो कुरा मान्ने हो भने जता अर्जुन र सात्यकि गएका छन्, उतै जाऊ। तिमीले सात्यकिको ध्यान अर्जुन भन्दा पनि अधिक राख्नु किनकि मेरो प्रिय गर्नका लागि उनी दुर्गम र भयङ्कर कौरव सेना नाघेर अर्जुनतर्फ गएका हुन्। यदि तिमीले श्रीकृष्ण, अर्जुन र सात्यकिको भेउ पायौ भने सिंहनाद गरेर मलाई सूचित गर्नु। भीमसेनले भने–महाराज, जुन रथमाथि पहिले ब्रह्मा, महादेव, इन्द्र र वरुणले सवारी गरिसकेका छन्, त्यै रथमाथि चढेर श्रीकृष्ण र अर्जुन गएका छन्। यद्यपि उनीहरूको विषयमा कुनै पनि किसिमको शङ्का छैन तापनि तपाईंको आज्ञा शिरोधार्य गरेर गइरहेको छु। तपाईंले कुनै पनि प्रकारको चिन्ता न गर्नुहोस्। म ती पुरुषसिंहलाई भेटेर तपाईंलाई सूचित गर्नेछु। क्रमशः..।