बलिया–बाङ्गा बाघलाई, बूढाखाडा माघलाई भन्ने नेपाली उखान नै छ । अर्थात् युवा सक्रिय, बलियो हुने हुनाले उसलाई बाघबाहेकले हानि पु¥याउन सक्दैन, तर वृद्धहरूलाई जाडोले हानि पु¥याउँछ । वृद्धहरू खासगरी, विपन्नतामा बाँच्नेहरूसँग माघ, अर्थात् जाडोका लागि पर्याप्त सामल हुँदैन । जाडो छल्न पौष्टिक आहार र न्यानो कपडा चाहिन्छ । जसले दिनभरि काम गरेपछि मात्र दुई छाक अन्नको जोहो गर्ने हैसियत राख्दछ, उसका लागि के पौष्टिक आहार र के न्यानो कपडा १ यस्तोमा मनकारी व्यक्ति, संस्था वा सरकार अगाडि सर्नुपर्छ । यताका दिनमा सरकारले पनि यस कार्यलाई प्राकृतिक प्रकोपकै दर्जा दिएर बजेट निकासा दिने गरेको त छ, तर हाम्रो अक्षम प्रशासनतन्त्र तथा ऐन–नियमको जालोले भने अनुसार बजेट उपयोग हुन सकेको छैन । यस सन्दर्भमा स्थानीय सरकारले जति सक्रियता र ठोस नतीजा दिने कार्य गर्न सक्छ, त्यति कसैले सक्दैन । हुनत स्थानीय सरकारहरूले जाडोमा थोरै भए पनि न्यानो कपडालगायत ज्येष्ठ नागरिकका लागि कामहरू गर्ने गरेको देखिएको छ । त्यसैमा यसपालि वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न ज्येष्ठ नागरिकहरूलाई गहकिलै न्यानो कपडा वितरण गर्न लागेको समाचार आएको छ ।

हिजोअस्ति बूढापाकाहरू दैवयोगमा बाँचिरहेका थिए । सम्पन्न हुन् वा विपन्न सबैको नियति एक समान थियो । हो हुनेखानेले पौष्टिक पदार्थ पाएका थिए, तर कुनै रोग–व्याधि, प्राकृतिक विपदा, दुर्घटना वा शीतलहर वा लूजस्ता समस्याको कुनै समाधान थिएन । ती दिनमा मानिससँग दाउरालगायत अग्नि प्रदाहक सामल प्रशस्त हुन्थे । बेलुका गाउँघरमा हुँदाखाँदाको आँगनमा ठूलो घुर बालिन्थ्यो, त्यसको आगो बिहान घाम झुल्कुन्जेल रहन्थ्यो । मानिसहरू टोली बनाएर आगो तापेर जाडोको मेख मार्दथे । यद्यपि विपन्नहरूसँग भोलिपल्ट बिहानी जीउ न्यानो पार्ने घुरको सपना सँगालेर रातभरि कक्रनुको कुनै उपाय थिएन । दाउरा, पराल, रहरी, मकैलगायत विभिन्न बालीका सुकेका बिरूवा यसै उद्देश्यका लागि साँचेर राखिन्थ्यो । आज ती सबै सपना भएका छन् । आज त मनकारी व्यक्ति वा संस्था वा सरकारले मात्र जाडोको जे उपाय हुन सक्छ, गर्छन् । सामथ्र्य र सुविधा पनि उनीहरूसँगै छ । यस अर्थमा वीरगंज महानगरपालिकाले आफ्नो पालिकाभित्रका कमजोर आर्थिक हैसियतका ज्येष्ठ नागरिकहरूका लागि शुरू गरेको न्यानो कपडालगायत अन्यान्य सामग्री वितरण अभियान स्थानीय सरकारको दायित्व अन्तर्गतको सर्वोत्तम सहयोग हुन सक्दछ ।

यसो त ज्येष्ठ नागरिक भनेपछि जाडो मात्र होइन, गर्मी महीनाको असह्य गर्मी, वर्षात्को पानीले पनि कम हियाउने काम गर्दैन । तर गर्मी छल्ने विभिन्न उपाय छन्, वर्षात्ले पनि खासै बिगार गरिहाल्दैन । जाडो भनेपछि बूढापाकाहरूका लागि कालको अर्को नाम हो । वीरगंज महानगरपालिकाले वितरण गरेको सामग्रीले ती असमर्थ वृद्धहरूको बाहिरी जाडोलाई त छेक्ला तर उनीहरूको भित्री जाडो शमन गर्ने उपाय पनि स्थानीय सरकारकै कार्य क्ष्Fेत्रभित्र पर्दछ । भित्री जाडोको उपाय भनेपछि पौष्टिक, ताकत दिने खाद्य पदार्थ । यसको पनि वितरण गर्ने कुनै संयन्त्र खोज्ने हो भने मानव जीवन धन्य हुने थियो । यद्यपि आजको अवस्थामा यो कठिन छ, तर कुनै मेलोमेसो मिलाउन सकिन्छ कि भन्ने दिशामा लोकतान्त्रिक जनप्रतिनिधिहरूको ध्यान जानु जरूरी छ । भनिन्छ पनि जहाँ आवश्यकता, त्यहाँ उपाय १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here