• उमाशङ्कर द्विवेदी

तिमी त राजकुमार हौ, स्वयम् राजाको भाइ हौ र तिमीलाई नै युवराज पद प्राप्त भएको छ, फेरि पनि तिमी युद्धबाट किन भागिरहेका छौ ? तिमीले त पहिले द्रौपदीसित भनेका थियौ कि ‘तिमी त हामीले जितेकी दासी हौ । अब तिमी स्वेच्छाचारिणी भएर हाम्रो ज्येष्ठ भ्राता दुर्योधनलाई वस्त्र ल्याएर दिने गर्नु ।

अब तिम्रो कोही पनि पति छैन, ती जम्मै त तैलरहित तिलझैं सारहीन भइसकेका छन् । यस्तो ठूल्ठूला कुरा गर्ने तिमीले अब युद्धभूमिमा पिठ्यूँ किन देखाइरहेका छौ ? पहिला कपटद्यूतमा पासा फ्याँक्ने बेलामा तिमीले यो किन बुझेका थिएनौ कि एक दिन यी पासाहरू कराल बाण भइहाल्नेछन् ? शत्रुदमन, तिमी सेनाको नायक र अवलम्ब हौ, यदि तिमी भयभीत भएर युद्धभूमिबाट भाग्यौ भने अरू को नै टिक्न सक्छ र ? आज यदि एक्लै लड्दै गरेको सात्यकिसित भयभीत भएर भाग्न चाहन्छौ भने रणस्थलमा अर्जुन, भीम वा नकुल, सहदेवलाई हेरेर के गर्नेछौ ? तिमी त महाबली पुरुष हौ ।

जाउ छिट्टै गान्धारीको पछ्यौराभित्र गई लुक । पृथ्वीमा तिमी जहाँसुकै गएर लुक्न चाहे पनि तिम्रो प्राणको रक्षा हुनेछैन । यदि तिमीलाई भाग्न नै उचित लाग्दछ भने शान्तिको साथ राजा युधिष्ठिरलाई राज्य सुम्पिदेउ । भीष्मजीले त पहिले नै भनेका थिए– पाण्डवहरू संग्राममा अजेय छन्, तिमीले उनीहरूको साथ सन्धि गर्नुपर्दछ तर त्यस मन्दमतिले उनको सुमति मानेन ।

मैले त सुनेको छु कि भीमले तिम्रो रक्तपान गर्नेछन् । मलाई लाग्छ यस्तै हुनेछ । के तिमीलाई भीमसेनको पराक्रमबारे थाहा थिएन र तिमीले पाण्डवहरूसित वैर ग¥यौ र आज युद्धभूमिबाट भाग्दैछौ ? अब जहाँ सात्यकि छन्, त्यही रथलाई लैजाऊ, होइन भने तिमीविना सम्पूर्ण सेना भागिहाल्नेछ । जाउ, संग्राममा वीर सात्यकिसित भीड ।

आचार्यले यस प्रकारले भनिरहँदा दुःशासनले केही पनि उत्तर दिएन । आचार्यका कुरालाई नसुनेकोझैं गरेर युद्धमा पिठ्यूँ नफर्काउने यवनहरूको भारी सेना लिएर सात्यकितिर लागे र बडो सावधानीका साथ सात्यकिसित संग्राम गर्न थाले । रथीहरूमा श्रेष्ठ द्रोणाचार्य पनि क्रोधित भई मध्यम गतिले पाञ्चाल र पाण्डवसेनामाथि जाइलागे । उनले सयकडौं हजारौं योद्धालाई युद्धभूमिबाट लखेट्न थाले । त्यति बेला आचार्य द्रोण आफ्नो नाम सुनाउँदै पाण्डव, पाञ्चाल र मत्स्य वीरहरूको घोर संहार गर्न थाले ।

जतिबेला उनी यस प्रकारले सेनाहरूलाई परास्त गरिरहेका थिए, त्यति बेला उनको सामु परम तेजस्वी पाञ्चाल राजकुमार वीरकेतु आए । उनले पाँचवटा तिक्खर बाण द्रोणाचार्यलाई, एउटा बाणबाट ध्वजालाई र सातवटा बाण सारथिलाई हाने । यतिबेला बडो आश्चर्यजनक कुरा भयो कि आचार्यले वीरकेतुलाई आफ्नो काबुमा पार्न सकेनन् । संग्राममा आचार्यको गति रोकिएको हेरेर महाराज युधिष्ठिरको भलो चाहने पाञ्चाल वीरहरूले उनलाई चारैतिरबाट घेरामा हाले ।

सबैजना मिलेर उनीमाथि बाण, तोमर तथा अन्य थरीथरीका अस्त्रशस्त्रहरूको वर्षा गर्न थाले । अनि आचार्यले वीरकेतुको रथतिर एउटा बडो भयङ्कर बाण हाने । त्यो बाणले वीरकेतुलाई घाइते पारेर पृथ्वीमाथि खसालिदिए र त्यसको प्रहारबाट प्राणहीन भएर ती पाञ्चालकुमार रथबाट तल झरिहाले ।

त्यस महान् धनुर्धर राजकुमार मारिएपछि पाञ्चाल वीरहरूले बडो फुर्तीका साथ आचार्यलाई चारैतिरबाट घेरामा हाले । चित्रकेतु, सुधन्वा, चित्रवर्मा र चित्ररथ–यी सबै राजकुमार आफ्नो भाइको मृत्युबाट व्यथित भई द्रोणाचार्यको साथमा युद्ध गर्नको लागि उनको सामु आएर वर्षाकालीन मेघझैं उनीमाथि बाणको झरी लगाइदिए ।

यसबाट विप्रवर द्रोण अत्यन्त क्रोधित भई उनीहरूमाथि बाणको जालझैं फैलाइदिए । यसबाट ती राजकुमारहरू किंकर्तव्यविमूढ भए । अनि सजिलैसित आचार्यले उनीहरूको रथ, सारथि र घोडाहरू नष्ट पारिदिए तथा अत्यन्त तीखो भल्ल हानेर उनीहरूको मस्तक पनि काटी खसालिदिए । यस प्रकार ती राजपुत्रहरूको वध गरेर आचार्यले आफ्नो धनुषलाई मण्डलाकार रूपमा घुमाउन थाले ।

यो हेरेर धृष्टद्युम्नलाई बडो उद्वेग भयो । उनको नेत्रबाट आँसु झर्न थाल्यो । उनी अत्यन्त क्रोधित भएर आचार्यको रथमाथि जाइलागे । धृष्टद्युम्नका बाणबाट द्रोणको गति थामिएको हेरेर संग्रामभूमिमा हाहाकार हुन थाल्यो । उनी क्रोधित भएर आचार्यको छाती ताकेर नब्बेवटा बाण हाने ।

यसबाट आचार्य रथको गद्दीमाथि थचक्क बसेर मूर्छित भए । धृष्टद्युम्नले धनुषलाई बिसाएर हातमा एउटा तेज तरबार लिई आफ्नो रथबाट हाम्फाली त्वरित गतिले आचार्यको रथमाथि चढे। उनले आचार्यको शिर काट्नै लागेका थिए कि द्रोणको मूर्छा हट्यो । आफ्नो अन्त गर्नको लागि धृष्टद्युम्न आफ्नो रथमाथि चढिआएको हेरी उनले नजीकैबाट प्रहार गर्न सक्ने वितस्त नामक बाण हान्न थाले । ती बाणको प्रहारबाट धृष्टद्युम्नको उत्साह भङ्ग हुन पुग्यो तथा उनी तुरुन्त आचार्यको रथबाट हाम्फालेर आफ्नो रथमा फर्किआए ।

अब उनीहरूले एकअर्कामाथि बाण हान्न थाले । दुवैजनाले सम्पूर्ण आकाश, दिशा र पृथ्वीलाई बाणबाट आच्छादित पारिदिए । उनीहरूको युद्धकौशलको सबैजनाले प्रशंसा गर्न थाले । द्रोणाचार्यले बडो फुर्तीका साथ धृष्टद्युम्न चढेको रथको सारथिको शिर काटी खसाले । यस कारण रथमा जोतिएका घोडाहरू युद्धक्षेत्रबाट भागिहाले । आचार्य सृञ्जय र पाञ्चाल वीरहरूका साथ युद्ध गर्न थाले तथा उनीहरूलाई परास्त गरेर आफ्नो व्यूहमा आएर उभिए । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here