अब कोरोना तेस्रो चरणमा प्रवेश गरेको छ । पहिलो कोभिड–१९ र त्यसपछि विभिन्न भेरियन्टमा देखिएको कोरोनाको डेल्टा भाइरसले बढी शक्तिशाली बनेर आफ्नो प्रकोप फिजाएको थियो । अहिले त आजसम्मकै प्रबल भेरियन्टले गाँज्दै ल्याएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र प्रसारका लागि ख्यात छ । यसले बेलायतमा सर्वाधिक तबाही मचाइसकेको छ । छिमेकी राष्ट्र भारतमा पनि यसको प्रवेश भइसकेको र केही हताहतको समाचारसमेत प्राप्त भएको छ । त्यस्तै, नियोजित समाचार बाहिरिने चीनमा पनि कोरोना सङ्क्रमण बढेको समाचार आएकोले नेपालजस्तो बेसुर्ता नागरिक भएको मुलुकमा एकपटक यसको प्रवेश भएपछि कुन हबिगत होला, भन्न कठिन हुनेछ । यसो त यसको नेपाल प्रवेश भइसकेको समाचार आइसकेको छ । यी सब कुराले के पुष्टि गर्दछ भने अब सतर्क भइहाल्ने बेला आएको छ । जबकि हामी निष्फिक्री छौं । दुई चरणको कोभिड महामारी झेलेर, खोपसमेत लगाइसकेको ठानेर हाम्रो लापरवाही बढेको छ । तर यस नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक पर्ने कुराहरू स्वास्थ्यविज्ञहरूले बताउने गरेका छन् ।
हामीमा स्वास्थ्य सेचतनाको कमी छ । परिवारमा पुरुषवादी अहम् विद्यमान छ । धेरै परिवारमा पुरुषले पूर्ण मात्रा खोप लगाए तापनि महिलाहरू वञ्चित रहेका छन् । महिला बाहिर निस्कँदैनन्, खोप किन आवश्यक भन्ने मानसिकता व्याप्त छ । लगाउनैपर्छ र १ भन्ने द्विविधा पनि जारी छ । तीनै तहका सरकारहरू खोप लगाइँदै छ, निश्शुल्क छँदैछ, कुनै रोकटोक छैन, कुनै विभेद छैन, निर्धारित उमेरका व्यक्ति जोसुकैले खोप लगाउन सक्छ त्यसैले चिन्ता गर्नुपर्ने कुरा छैन भनेर मख्ख छन् । जबकि उनीहरूकै तथ्याङ्कले सबैले खोप लगाइसकेको कुराको पुष्टि गर्दैन । कसले किन लगाएन भन्ने सोधीखोजी पनि कसैले गर्दैन । सबै रामभरोसे छन् । यस परिस्थितिमा तीव्र प्रसारशक्ति भएको ओमिक्रोन सर्वव्यापी भइदियो भने हताहत सङ्ख्या गन्नुबाहेक हामीसँग कुनै विकल्प रहँदैन । यो कुरा आफ्नो ठाउँमा छ, तर अहिलेसम्म कोरोनाले विभिन्न भेरियन्टको बहुरूप बनाएको छ । कुनै बढी प्रभावकारी र कुनै कम प्रभावकारी रहेको मात्र हो । एउटाबारे अनुसन्धान सकिएको हुँदैन, अर्को नयाँ भेरिएन्ट जन्मिसकेको हुन्छ । यस्तोमा पहिलो दायित्व त स्वास्थ्य मापदण्डको पालना गर्नु र सबैले पूर्ण डोज खोप लिनु नै श्रेयस्कर मानिन्छ ।
हाम्रो देशको अवस्था बुझेर नै विश्व समुदाय तथा विश्व संस्था र राष्ट्रहरूले अपुग नहोस् भनेर निरन्तर खोप आपूर्ति जारी राखेका छन् । तर सरकारले खोपलाई सबैका लागि अनिवार्य र नलगाउनेमाथि कडाइ गर्न सकेको छैन । दुर्घटना होला र नराम्रो भवितव्य भोग्नुपर्ला भनेर पूर्व सतर्कता पालन गर्न सबैले हेल्मेट लगाउनु अनिवार्य बुझेका छन्, तर विनादुर्घटना, विनाप्रत्यक्ष कारण कोरोना सङ्क्रमण हुन्छ, भएर पनि पत्तो पाइँदैन, भइसकेपछि असाध्य हण्डर खानुपर्छ भन्ने भुक्तभोगीहरूको अनुभवबाट पनि हामी सबक लिन चाहँदैनौं । आज प्रायः मानिसबाट कोरोना प्रतिरोधी मापदण्डको अवहेलना भइरहेको छस मास्क लगाउनुपर्छ, भौतिक दूरी कायम गर्नुपर्छ, बारम्बार साबुनपानीले हात धुनुपर्छ भन्ने सम्झना अलप भइसकेको छ । यसै पनि जाडोमा चीसो पानीले कसले घरीघरी हात धोइरहोस् ? सजगता र कडाइ आवश्यक छ १