रामेश्वर मेहता, सिम्रौनगढ, १० पुस/
बारा जिल्लामा माछापालन अत्यधिक भएपनि मुनाफा थोरै हुने गरेको माछापालकहरूले बताएका छन् । माछापालक सिकन्दर साहले माछापालनमा विगत केही वर्षदेखि मुनाफामा वृद्धि नभएको तर सोको अनुपातमा माछालाई खुवाउने दाना (खरी)को मूल्य आकाशिएको, मजदूरी र क्षतिसमेतको गणना गर्दा खासै मुनाफा नहुने गरेको बताएका छन् ।
उनले समयमा माछापालनको लागि भुराको व्यवस्थापन हुन नसक्नु, खरीद गरेको भुराको गुणस्तरको ग्यारेन्टी नहुनु र बाढीमा माछा बग्नुका साथै बेलाबखत माछाहरू पोखरीमा मर्नेजस्ता घटनाले माछा व्यवसायीहरूलाई खासै मुनाफा नहुने गरेको बताए ।
पाँच वर्षअगाडि खरीको मूल्य प्रतिकिलो रु २८ थियो भने अहिले रु ५२ प्रतिकिलो पुगेको उनले बताए । माझीहरूले प्रत्येकपटक उत्पादित माछाबाट दश प्रतिशत लिने प्रथा यथावत् रहेको र व्यापारीहरूले पनि पाँच किलोमा डेढ किलो बढी (ढाल्टा) लिने गरेको साहले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ परियोजना सुपरजोनका कृषि अधिकृत दीपकुमार मित्रले बारा जिल्लामा बा¥हवटा ह्याचरी र एक हजार ६२५ वटा पोखरी रहेको जानकारी गराए । उनले बारा जिल्लाको सिम्रौनगढ, बोधवन, पचरौता र कोल्हवीमा सबैभन्दा बढी माछापालन हुने गरेको बताए ।
यी इलाकामध्ये सिम्रौनगढमा सबैभन्दा बढी प्राकृतिक पोखरी र ठूला पोखरी छन् । नेपालकै सबैभन्दा ठूलो ५२ बिघाको पोखरी सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, बसवरियामा देवताल झरोखर पोखरी छ । सिम्रौनगढकै कङ्कालीमा सात बिघामा कङ्काली इसरा पोखरी छ । सिम्रौनगढ क्षेत्रमा २८ वटा प्राकृतिक पोखरी रहेको कृषि अधिकृत मित्रले बताए ।
प्राकृतिक पोखरीमा देवताल झरोखर, कङ्काली इसरा, हथैया, अमवा, इमलहिया, खुटवा, सबैया, पजनिया, सतुवहिया, खरसलवा, रजवाडा, महाराजलगायतका पोखरीहरू छन् । बारा जिल्लामा सबैभन्दा बढी सिम्रौनगढ क्षेत्रमा माछा उत्पादन हुन्छ । कृषि अधिकृत मित्रका अनुसार बारा जिल्लाभरि वार्षिक साढे सात मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । बारा जिल्लामा उत्पादित माछा काठमाडौं, पोखरा, झापा, बिर्तामोड, मलेखु लगायतका क्षेत्रमा व्यापारीहरूले लैजाने गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ परियोजना सुपरजोनका पूर्वअध्यक्ष जालन्धर सिंहले बारामा माछा उत्पादन बढेसँगै चुनौती पनि बढिरहेको बताए । उनले बारा जिल्लामा रहेका १२ वटा ह्याचरीबाट जिल्लामा माछाका भुराको आवश्यकता पूरा नभएको र हेटौंडाबाट भुरा मगाउनुपर्ने बाध्यता रहेको बताए ।
यसैगरी, गुणस्तरीय दानाको कमी, आवश्यकता अनुसार प्राविधिक सहयोग उपलब्ध नहुनु, माछाको मूल्य नबढ्नु तर दाना, मजदूरी बढ्नु, बाढीले माछा बगाउनु र अज्ञात रोगको प्रकोपबाट माछा मर्नुजस्ता समस्याहरू झेल्दै आउनुपरेको बताए । नेपालमा कुल माछाको मागमध्ये पैंतीस प्रतिशत बारा जिल्लाबाट पूर्ति हुने गरेको पनि उनले बताए ।
अहिले बारा जिल्लामा पोखरीबाट माछा खरीद गर्दा व्यापारीहरूले भकुरा रु चार सय, इजरायल रु ३६०, बिगहेड २६०, सिल्भर र नैनी रु दुई सय प्रतिकिलोमा पाउने गरेका छन् । उनीहरूले यही मूल्यमा पचासदेखि सय रुपैयाँ थपेर बजारमा बिक्री गर्छन् । वार्षिक एउटा पोखरीबाट तीनपटक माछा मारिन्छ ।