राधेश्याम पटेल, वीरगंज, ८ पुस/

बजारमा पैसाको अभाव भएपछि अहिले पर्सा/बारा औद्योगिक कोरिडोरका उद्योग–व्यवसाय पनि प्रभावित हुन थालेका छन । औद्योगिक कोरिडोर दुई वर्षको कोरोना महामारीले ठप्प र धराशयी बनेको थियो । केही महीनायता पुरानो लयमा फर्किन थालेको भएपनि तिहारपश्चात् बजारमा नगद कारोबार कम हुँदै गएपछि यस क्षेत्रका उद्योगधन्दा र व्यापारमा नकारात्मक असर पर्न थालेको व्यवसायीहरूको भनाइ छ ।

कृषिजन्य उत्पादन गर्दै आएको निम्बस समूहको पशुको दाना, खानेतेल, पीठो र मस्यौरा उत्पादन गर्ने प्रोबायोटेक इन्डस्ट्रिज प्रालि, लिपनीबिर्ताका प्रमुख कार्यकारी निर्देशक डा दिनेश गौतमले दुई महीनादेखि बैंकबाट ऋण उपलब्ध नभएको र बजारबाट उधारो उठ्न पनि नसकेको बताए । डा गौतमले निम्बस समूहको मात्र बजारमा करीब रु दुई अर्ब उधारो रहेको बताए ।

उनले कोरिडोरका सयौं उद्योगले वार्षिक कुल कारोबार रकमको करीब १० प्रतिशत उधारो उठाउन बाँकी रहने र यो खर्बाैंै रुपैयाँमा गणना हुने बताए । डा गौतमले दुर्ई वर्षको कोरोना महामारीका कारण पनि उद्योगहरू उधारोको समस्याबाट पीडित बनेको र केही महीनाअघि बजार सहज बन्दै गरेको अवस्थामा बजारमा नगद अभावले उद्योगी–व्यवसायी मर्कामा पर्न थालेको बताए ।

“अहिले ऋण स्वीकृत भएर पनि हरेक बैंकसँग दर्जनौं ग्राहकका फाइल होल्डमा छन्,” उनले भने, “पुरानो ऋणको भार थेग्न वाणिज्य बैंकहरूलाई धौधौ परेको छ, नयाँ उद्योग लगाउने योजनामा रहेकाहरूलाई बैंकले अझै तीन/चार महीना कुर्न भनिरहेका छन् । उनले निम्बस समूहकै अर्काे एक अर्ब रुपैयाँ लगानीको खाद्यान्न उद्योगको लागि एउटा वाणिज्य बैंकबाट ऋण पास भइसकेको र एक महीनापछि काम शुरू गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले एक वर्षमा अधिकांश पैसा शेयर बजार, रियल स्टेट, हाउजिङ तथा अनुत्पादक क्षेत्रमा लगानी भएकाले नियमित व्यवसाय र नयाँ उद्योगको लागि पनि अहिले समस्या भइरहेको बताए ।

कति व्यवसायीको दैनिक फोन आउँछ, सबैलाई लाजको कुरा पनि छ, जग्गा किनिसके, मेशिन ल्याइसके, उद्योग लगाउन बैंकबाट पैसा पाएन, अब यस्तो अवस्थामा कुर्नुबाहेक अरू कुनै विकल्प नभएको उनले बताए । अध्यक्ष लाठले ठूला व्यापारिक घरानालाई अहिलेको नगद समस्याले नछोएको बताए । उनीहरूका लागि समस्या छैन, अरूले भने समस्या झेल्नुपरेको छ, लाठले भने ।

ठूला घरानाको लगानीमा बैंक सञ्चालित भएकाले उनीहरूले नगद अभाव झेल्नुनपरेको तर मध्यम र साना लगानीकर्ताहरूलाई अहिले धेरै मर्का परेको लाठको भनाइ छ ।

उनले सरकारले तीन महीना पहिले बजारको समस्या समाधानको लागि पहल गर्नुपर्नेमा अहिले आएर कडा नीति लिएको बताए । नेपाल राष्ट्र बैंकको अहिले आएर एउटा सर्कुलर आएको छ, यसले केही पैसालाई विदेश जानबाट रोक्छ, जसले बजार सहज हुन सक्ने उनले विश्वास व्यक्त गरे ।

सरकारले पूँजीगत खर्च बढाउन र सरकारको ढुकुटीमा होल्ड भएको पैसालाई पनि चलायमान बनाएर बजारमा पैसा फाल्ने नीति ल्याउँदा खुशी लागेको उनले प्रतिक्रिया दिए । सरकारले पहिले स्थानीय सरकारलाई दिने बजेटमध्ये चालू आवको करीब चार महीनासम्म उक्त पैसा होल्ड भएर बस्थ्यो, अब त्यसरी नहुने, बजारमा पैसा आउने र सरकार तथा बैंकसँग पनि नगदको रफ्तार बढने उनको विश्वास छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले अहिले बैंकबाट ऋण नपाएर कोरिडोरका अधिकांश उद्योगी र आयात–निर्यात गर्ने सबै व्यवसायी मर्कामा परेको बताए । उनले बैंकले स्वीकृत गरेको ऋणमा शतप्रतिशत पैसा नदिएर ४० प्रतिशत मात्र दिइरहेको बताए। नेपाल चामल तेल दाल सङ्घका राष्ट्रिय अध्यक्षसमेत रहेका गुप्ताले बजारमा देखिएको आर्थिक तरलताको समस्या समाधानको लागि सरकारको भावी नीति के हुनुपर्ने हो, त्यस विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुस १२ र १३ गते वीरगंज बोलाएर छलफल कार्यक्रम गर्ने बताए ।

वीरगंजका अर्का उद्योगी प्रदीप केडियाले सरकारपिच्छे फेरिने नीतिका कारण देशको आर्थिक व्यवस्था डगमगाउने गरेको र अहिले सोही नियति भोग्नुपरेको बताए । उनले अहिले बजारमा करीब दुई खर्ब रुपैयाँ भएको र अभावलाई टार्न सरकारले प्रभावकारी नीति लिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले अवैध च्यानलबाट विदेश गइरहेको रकमलाई सरकारले अङ्कुश लगाउन नसक्दा यस्तो समस्या भइरहेको बताएका छन् । कोरोना महामारीमा विदेश जाने पैसा वैध च्यानलबाट जान्थ्यो, अहिले फेरी अवैध कारोबारको पैसा अवैध च्यानलबाट गइरहेको सुनेका छौं, त्यसलाई लगाम नलगाउँदा बजारमा पैसाको हाहाकार भएको उनको ठम्याइ छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले वीरगंज क्षेत्रका व्यवसायीले शेयर बजार र घरजग्गामा अत्यधिक लगानी गरिसकेकाले बजारमा पैसाको अभाव भएको बताए । “दुई महीनाअघि बैंकले जसलाई पनि जुन पनि शीर्षकमा जति पनि पैसा दिएको थियो,” उनले भने, “त्यो पैसा अर्कै सेक्टरको कारोबारमा फसेको छ ।”

वीरगंजका उद्योगी सुरेश रूँगटाले सरकारले पूँजीगत खर्च बढाउन र अन्य खर्च तथा बैंकको लगानीलाई नियन्त्रण गर्न नसक्दा समस्या उब्जेको बताए । वीरगंजका व्यवसायी ओम मोरले शेयर, हाइड्रोपावरको शेयर खरीद–बिक्रीमा गएको पैसाले पनि समस्या बढाएको बताए ।

के भन्छन् बैंकर

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडका प्रदेश २ का प्रबन्धक दिवस सिंह ठकुरीले विविध कारणले बैंकसँग तरलताको समस्या भएको बताए । उनले सरकारले पूँजीगत खर्च बढाउन नसक्नु, विदेशबाट पोहोरको तुलनामा विप्रेषण नआउनु, पछिल्लो दुर्ई वर्षमा निर्यातमैं नेपाली उद्योगी–व्यवसायी केन्द्रित हुनु, वाणिज्य बैंकको पूँजीलाई ऋणमा चलाउन नपाउनु जस्ता नीतिले गर्दा पनि बजारमा पैसा अभाव भएको बताए । थुप्रै कारण छन्, जसले गर्दा ग्राहकलाई हामीले ऋण दिन हात उठाएका हौं, तर अहिले सरकारले स्थानीय सरकारलाई पठाएको बजेट उपयोग गर्ने नीति ल्याएपछि त्यसले समस्या हल गर्न मदत गर्ने आशा छ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here