ओमप्रकाश चौधरी, सेढवा, ७ पुस/
पर्सा जिल्लाका किसानहरू माछापालनतर्फ आकर्षित हुन थालेका छन् । खेतीपातीका अन्य कार्यमा बीउबिजन, मल, कीटनाशक औषधि, सिंचाइको समस्या भोग्नुका साथै उत्पादित वस्तुको उचित मूल्य नपाउने गरेका कारण माछापालनतर्फ स्थानीय किसानहरूको आकर्षण बढेको हो ।
धानखेती भिœयाएसँगै केही किसानले गहुँ, दलहन, तेलहन, सुर्ती, मकैको साटो माछापालनका लागि पोखरी खन्ने काम शुरू गरेका छन् । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाका किसान भगवती चौधरीले धान, गहुँलगायतका खेतीपातीमा विभिन्न खाले समस्याको सामना गर्नुपरेका कारण यसपटकदेखि आफ्नो दुई बिघा खेतलाई माछापालनको लागि पोखरीमा परिणत गरेको बताए ।
उनले विभिन्न कष्ट सहेर धान, गहुँ उत्पादन गर्ने तर त्यसको उचित मूल्य नपाएको कारण आफू माछापालनतर्फ आकर्षित भएको प्रतिक्रिया दिए । अहिले कृषि कार्यको लागि सबैभन्दा ठूलो समस्या मजदूर नपाउनु पनि भएकोले खेतीपातीबाट विस्थापित भएर माछापालन शुरू गरेको चौधरीको भनाइ छ ।
उनीजस्तै पर्सागढी नगरपालिका–३ बागवन्नाका हरिन्द्र चौधरीले पनि माछापालन व्यवसाय शुरू गरेका छन् । हाल उनले तीस बिघामा माछापालन गर्दै आएको र मनग्य आम्दानी गरिरहेको बताए । उनले तीस बिघा पोखरीबाट वार्षिक दुई करोड मूल्य बराबरको माछा उत्पादन हुने र सोबाट अन्य खेतीभन्दा बढी लाभ हुने गरेको बताए । चौधरीले पोखरीबाट उत्पादित माछा हेटौंडा, चितवन, काठमाडौं, पोखरालगायत ठाउँमा पठाउने गरेको बताए । अन्य खेती गर्दा वार्षिक दुई बाली हुने तर माछापालन चारपटक हुने हुँदा यो व्यवसायतर्फ आफू आकर्षित भएको बताए । आफूसँगै अरू किसानहरू पनि अहिले माछा खेतीतर्फ आकर्षित भइरहेको उनको भनाइ छ ।
छिपहरमाई गापा–४ बन्जारीका नरेश साहले पनि तीन वर्षदेखि अन्य खेतीबाट विस्थापित भई माछापालन शुरू गरेका छन् । साहले अन्य खेती गर्दा बीउबिजन, मल, सिंचाइसँगै प्राकृतिक विपतिको सामना गर्नुपर्दा क्षति मात्रै हुने गरेको र उत्पादनको उचित मूल्य पनि नपाउने गरेको कारण माछापालनतर्फ आकर्षित भएको र अहिले राम्रो आम्दानी भइरहेको बताए । साहले माछाको माग अहिले बढिरहेको र पोखरीबाटै माछा खरीद गरी व्यापारीहरूले लाने गरेको कारण यो व्यवसाय आफूलाई राम्रो लागेको बताए । कम मेहनत र लगानीमा बढी मुनाफा भएको उनको भनाइ छ ।