महाभारतबाट सङ्कलन तथा अनुवाद

  • उमाशङ्कर द्विवेदी

फेरि उनले अनेकौं तीखो बाण हानेर कृतवर्माको पृष्टरक्षक र सारथिलाई पनि घाइते पारिदिए । यस प्रकार उनलाई रथहीन गरेर महावीर सात्यकिले आफ्ना तीखो बाण हानेर उनको सेनालाई आच्छुआच्छु पारिदिए । त्यस बाणवर्षाबाट पीडित भएर कृतवर्माको सेना यत्रतत्र भइहाल्यो । अनि सात्यकि अगि बढेर बाण वर्षा गर्दै गजसेनाको साथ युद्ध गर्न थाले ।

वीरवर सात्यकिले हानेका वज्रतुल्य बाणहरूबाट व्यथित भएर लडाकूहरू हात्ती युद्धको मैदान छाडेर भाग्न थाले । उनीहरूका दा¥हा भाँचिए, शरीर रगताम्य भयो, मस्तक र गण्डस्थल च्यातिए तथा कान, मुख र सूँड छिन्नभिन्न भए । उनीहरूका माउतेहरू नष्ट भइहाले, पताका काटिएर खस्यो, मर्मस्थल विधिए, घण्टा भाँचियो, ध्वजा भङ्ग हुन पुग्यो, सवार वीर युद्धमा मारिए तथा हौदा खस्न पुग्यो । सात्यकिले नाराच, वत्सदन्त, भल्ल, अञ्जलिक, क्षुरप्र र अर्धचन्द्र नामक बाणले उनीहरूलाई सा¥है घाइते पारिदिए । यसबाट उनीहरू चिघार्दै, रगत छाद्दै र मलमूत्र त्याग गर्दै यताउति भाग्न थाले ।

यसैबेला हात्तीमाथि सवार भई महाबली जलसन्ध आफ्नो धनुष घुमाउँदै सात्यकिमाथि आइलागे। सात्यकिले उनको हात्तीलाई अकस्मात् आफूमाथि आक्रमण गर्न आइरहेको हेरेर आफ्नो बाणबाट रोकिदिए । यो हेरेर जलसन्धले सात्यकिको छाती ताकेर वार गरे । सात्यकिले बाण हान्न मात्र चाहेका थिए कि जलसन्धले एउटा नाराचले उनको धनुष काटिदिए तथा पाँचवटा बाण हानेर उनलाई घाइते पनि पारिदिए तर महाबली सात्यकि धेरैजसो बाणहरूबाट घाइते भए पनि अलिकति पनि विचलित भएनन् ।

उनले तत्कालै अर्को धनुष लिएर साठीवटा बाण हानेर जलसन्धको छातीमाथि वार गरे । उतातिरबाट जलसन्धले आफ्नो ढाल–तरबार उचालेर मच्चाइ सात्यकिमाथि फ्याँके । त्यो उनको धनुषलाई काटेर भुइँमा खस्यो । अनि सात्यकिले अर्को धनुष उचालेर त्यसको टङ्कार गर्दै एउटा तीखो बाण हानेर जलसन्धलाई विधिदिए, अनि दुईवटा क्षुरप्र बाणबाट उनले जलसन्धको भुजा काटिदिए तथा तेस्रो क्षुरप्र बाणबाट उनको टाउको गिडिदिए ।

जलसन्धलाई मरेको हेरेर तपाईंको सेनामा ठूलो हाहाकार मच्चियो । तपाईंका योद्धाहरू यत्रतत्र भाग्न थाले । यत्तिकैमा शस्त्रधारीहरूमा सर्वश्रेष्ठ आचार्य द्रोण आफ्ना घोडाहरूलाई दगुराउँदै सात्यकिको सामु आइपुगे । यो हेरेर प्रधान प्रधान कौरवहरू पनि आचार्यको साथै उनीमाथि आइलागे । सात्यकिमाथि द्रोणले सतहत्तरीवटा, दुर्मर्षणले बा¥हवटा, दुस्सहले दशवटा, विकर्णले तीसवटा, दुर्मुखले दशवटा, दुस्शासनले आठवटा र चित्रसेनले दुईवटा बाण हाने ।

राजा दुर्योधन तथा अन्य महारथीहरूले पनि बाण वर्षा गरेर सात्यकिलाई व्यथित पार्न थाले तर सात्यकिले बेग्लाबेग्लै ती जम्मैका बाणको जवाफ दिए । उनले द्रोणमाथि तीनवटा, दुस्सहमाथि नौवटा, विकर्णमाथि पच्चीसवटा, चित्रसेनमाथि सातवटा, दुर्मर्षणमाथि बा¥हवटा, विविंशतिमाथि आठवटा, सत्यव्रतमाथि नौवटा र विजयमाथि दशवटा बाण हाने । सात्यकि फेरि दुर्योधनमाथि जाइलागे र उनीमाथि बाणबाट गहिरो चोट पु¥याउन थाले । दुवैबीच तुमुल युद्ध थालियो र दुईटैले बाणको झरी लगाएर एकअर्कालाई अदृश्य पारिदिए ।

दुर्योधनको बाणले सात्यकिलाई अत्यन्त घाइते पारिदियो तथा सात्यकिले पनि तपाईंको पुत्रलाई अत्यन्त व्यथित पारिदिए । तपाईंका अन्य पुत्रहरूले पनि आवेशमा आएर सात्यकिमाथि बाणको झरी लगाइदिए तर सात्यकिले प्रत्येकमाथि पहिला पाँच/पाँच वटा बाण हाने, अनि बडो फुर्तीका साथ आठवटा बाण दुर्योधनमाथि हानेर गहिरो चोट पु¥याए । यसपश्चात् उनले दुर्योधनको धनुष र ध्वजालाई पनि काटेर खसालिदिए । चारवटा तीखो बाण हानेर चारवटै घोडालाई तथा एउटा बाण हानेर सारथिलाई पनि यमलोक पु¥याइदिए । अब दुर्योधनको खुट्टा काम्यो, उनी भागेर चित्रसेनको रथमाथि सवार भए । यस प्रकार आफ्नो राजालाई सात्यकिद्वारा पीडित भएको हेरेर चारैतिर हाहाकार हुन थाल्यो ।

त्यस कोलाहललाई सुनेर बडो फुर्तीका साथ महारथी कृतवर्मा सात्यकिको सामु आए । उनले छब्बीसवटा बाणबाट सात्यकिलाई, पाँचवटा बाण हानेर सारथिलाई तथा चारवटा बाणबाट घोडाहरूलाई घाइते पारिदिए । सात्यकिले पनि त्वरित गतिमा उनीमाथि असीवटा बाण हाने ।

त्यसको चोटबाट अत्यन्त घाइते भई कृतवर्मा काम्न थाले । यसपछि सात्यकिले त्रिसट्ठीवटा बाण हानेर उनका घोडाहरूलाई र सातवटा बाण हानेर सारथिलाई मारिदिए । अनि एउटा अत्यन्त तेजस्वी बाण कृतवर्मामाथि हाने । त्यो बाण कृतवर्माको कवचलाई च्यातेर उनको शरीरलाई छेड्दै रगताम्ये भएर पृथ्वीमाथि खस्यो । त्यसको चोटबाट कृतवर्माको शरीर पनि रगताम्य हुन पुग्यो, उनको हातबाट धनुष खस्यो र उनी अत्यन्त पीडित भई रथमा थुचुक्क बसे । क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here