प्रस, वीरगंज, २१ मङ्सिर/
वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत निर्माणाधीन छ लेन सडक तोकिएको समय फागुन महीनाभित्र निर्माण गर्ने सहमति भएको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय, पर्सामा सुरक्षा निकाय, पर्सा/बाराका ठेकेदार र सरोकारवालाबीच बैठक बसेको थियो ।
बैठकले तोकिएको समयभित्र सडक निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारबाई गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । बैठकले ६ बुँदे सहमति पनि गरेको छ । बैठकमा व्यापारिक मार्ग आयोजनाले मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म तत्काल टेन्डर गरी सडक प्याचिङ र ओभरल्यापको काम गर्ने तथा सडक विभागले तत्काल माईस्थानचोकदेखि पावरहाउसचोकसम्म सडकको स्टीमेट गरी निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
६ लेन सडक अन्तर्गत परवानीपुरस्थित सडकको बीचमा रहेको विद्युत्को पोल हटाउन आवश्यक सुरक्ष्Fाकर्मी खटाउने, जीतपुर सडकखण्ड निर्माण कार्यलाई तीव्रता दिने, कारखानाको अगाडि अनावश्यक निर्माण सामग्री र ठूला सवारीसाधन पार्किङ निषेध गर्ने, कलकारखानाले ढल निकासको व्यवस्था आफैं मिलाउनुपर्ने, नगरपालिका, शहरी विकास आयोजनाको कार्यालय, नेपाल विद्युत् प्राधिकरण, टेलिकम, खानेपानी तथा सरसफाइ आयोजनाले सडक निर्माणमा अवरोध नपुग्ने गरी आआफ्नो तरीकाले सहयोग गर्नुपर्ने, विनाकारण निर्माण कार्य ढिलाइ भएमा निर्माण व्यवसायीलाई तत्काल कारबाई गर्ने बैठकमा निर्णय भएको छ ।
आयोजना कार्यालयले जनाए अनुसार आइसिपीदेखि पथलैयासम्म ३०.६८ किलोमिटर छ लेन सडक निर्माण भइरहेको छ । सो सडकको चौडाइ ५० मिटर रहेको छ । आइसिपीदेखि पथलैयासम्म १३ वटा ठेकेदार कम्पनीले ठेक्का सकार गरेका छन् ।
परवानीपुरदेखि गण्डकसम्म अमर/पप्पु जेभीले ५४ प्रतिशत, गण्डकदेखि हरपतगंजसम्म श्रेष्ठ/बिरुवा जेभीले ८० प्रतिशत, हरपतगंजदेखि ड्राइपोर्टसम्म पप्पु/लुम्बिनी जेभीले ५० प्रतिशत, पथलैया चोकदेखि सूर्य नेपालसम्म अमर/कन्ट्याक्ट जेभीले ५१ प्रतिशत, सूर्य नेपालदेखि सेनाको क्याम्पसम्म शर्मा/युनाइटेड बिल्डर/दिवा निर्माण जेभीले ४१ प्रतिशत, सेनाको क्याम्पदेखि परवानीपुरसम्म अमर/ कन्ट्याक्ट जेभीले ७७ प्रतिशत, परवानीपुरदेखि गण्डकसम्म दिवा/सपना जेभीले ८१ प्रतिशत, लालका पुलदेखि जीतपुरबजारसम्म इलाइट/सब्बा जेभीले ७९ प्रतिशत, श्रीसिया खोलादेखि परवानीपुरसम्म लुम्बिनी/मृत सञ्जीवनीले ७६ प्रतिशत, श्रीसिया खोलादेखि परवानीपुर सडकखण्डमा लुम्बिनी/मृत सञ्जीवनीले ७६ प्रतिशत, पथलैया चोकदेखि परवानीपुरसम्म कन्ट्याक्ट/लुम्बिनी जेभीले ५३ प्रतिशत, ड्राइपोर्टदेखि आइसिपीसम्म रमन/महावीर जेभीले ९० प्रतिशत, गण्डक नहरदेखि केडिया आँखा अस्पतालसम्म सपना/निर्माण जेभीले ५६ प्रतिशत काम गरेको आयोजनाको कार्यालयले बैठकमा जानकारी गराएको थियो ।
बैठकमा ठेकेदार पक्षबाट ओभरलोड नियन्त्रण, पार्किङ व्यवस्थापन, स्थानीय अवरोध, सडक दस्तुर विवाद, सडक सीमा अतिक्रमण, औद्योगिक ढल, मन्दिर स्थानान्तरण, विज्ञापन स्वामित्व विवाद, नदीजन्य सामग्रीको अभाव, अनपेक्षित वर्षाका कारण देखाउँदै ढिलाइ भएको बताइएको थियो ।
बैठकमा प्रजिअ ढकाल, बाराका प्रजिअ कृष्णबहादुर कटुवाल, राजनीतिक दलका प्रतिनिधि रामनरेश यादव, श्याम पटेल, वीउवासङ्घका अनिलकुमार अग्रवाल, आयोजनाका प्रमुख मनीषकुमार साह, सघन शहरीका प्रमुख शिखर लामा तामाङ, ठेकेदार प्रतिनिधि विवेक नेपाल, दिलीप साह, सुरज चौधरी, युरेन्द्र थापा, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायत पर्सा/बाराका सुरक्षा प्रमुखहरूको सहभागिता थियो ।
भारतीय ओभरलोड सवारीलाई कारबाई गर्न निर्देशन
पर्सा/बाराका सुरक्षा निकायका प्रमुखहरूलाई दुवै जिल्लाका प्रजिअद्वयले बैठकमा कडा निर्देशन दिंदै छ लेन सडकमा ओभरलोडको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए । ओभरलोड भारतीय गाडीलाई छुट दिने र नेपाली गाडीसँग रकम उठाउने गरेको विषय सञ्चारकर्मीले उठाएका थिए ।
बैठकमा ओभरलोड तत्काल रोक्न निर्णय भएको थियो । भारतीय गाडीको हकमा सीमादेखि गोदामसम्म बढीमा चार किलोमिटरसम्म ओभरलोड गरेर लैजान पाउने सहमति भएको छ ।
तर आर्थिक लेनदेनको भरमा अहिलेसम्म ओभरलोड भारतीय गाडीहरू कारखानासम्म पुग्ने गरेको समाचार स्रोतको भनाइ छ । बैठकमा ओभरलोड भारतीय गाडीलाई तत्काल कारबाई गर्न पर्सा र बाराका प्रहरी उपरीक्षकले प्रतिबद्धता जनाएका थिए ।