पर्सा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय वन र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा जिल्लाका बस्तीहरूमा जङ्गली जनावरहरूको उपद्रो नयाँ कुरा पक्कै होइन । जङ्गल क्षेत्रसँग जोडिएका बस्तीहरूमा जङ्गली जनावरहरूको उपद्रो अस्वाभाविक पनि मान्न सकिन्न । जङ्गली जनावरहरू आसपासका बस्तीहरूमा पस्ने कारणहरू फरक हुन सक्छन् । प्राकृतिक विपत् पर्दा, मौसमको प्रतिकूलता चीसो, गर्मी अनि आहारको समुचित व्यवस्था नभएको अवस्थामा जङ्गली जनावरहरू नजीकका बस्तीमा पस्ने र विभिन्नखाले उपद्रो मचाउने गर्छन । पर्सामा पनि यही हुँदै आएको छ । अपवादबाहेक जङ्गली जनावरहरूबाट जङ्गल क्षेत्र बाहिरका मानिसहरू कम प्रताडित हुन्छन् । पर्सा जिल्लाका ठोरी, जीराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली, पर्सागढी र वीरगंज महानगरपालिकाका केही वडा जङ्गल क्षेत्रसँग जोडिएका छन्। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा वन सुरक्षार्थ मध्यवर्ती वन उपभोक्ता समितिहरू र राष्ट्रिय वन क्षेत्रको संरक्षण, संवद्र्धनका लागि वन उपभोक्ता समितिहरू पनि छन् । उनीहरूले आआफ्नो क्षेत्रमा वन फँडानी रोक्ने, जङ्गलबाट बरामद हुने काठ, दाउरा समुदायमा बिक्री गर्ने जस्ता कामहरू पनि गर्छन् । यसका साथै जङ्गली जनावरहरूको पनि संरक्षण अनि उनीहरूबाट हुने क्षति न्यूनीकरणमा पनि भूमिका खेल्दै आएका छन् । तर मध्यवर्ती वन उपभोक्ता समितिको पाँच वर्षे कार्यकाल सकिएर नयाँ पदाधिकारीहरूको चयन भएको भर्खरै केही दिन मात्र भएको र वन उपभोक्ता समितिहरूको निर्वाचन नभएको कारण उनीहरूको सक्रियता अहिले पर्साका वन क्षेत्रमा कमै देखिएको छ ।
जसले गर्दा पाँच वर्षअघि निकुञ्जले जीराभवानी गापा–२ देखि ठोरी गापासम्म १४ किलोमिटरमा बनाएको विद्युतीय तारबार अनि मध्यवर्ती वन उपभोक्ता समितिले ठोरी गापा–२, ३ र ५ मा बनाएको तारबारको अहिले मर्मत कार्य नहुँदा जङ्गली जनावरहरूले किसानका बालीमा क्षति पु¥याउन शुरू गरेका छन् । धान, गहुँ, दलहन, तेलहन र आलुु खेतीको बेलामा जङ्गली जनावरहरूको प्रवेश हुने र बालीमा क्षति पु¥याउने काम हुन्छ । विद्युतीय तारबार र तारबार भएको क्षेत्रमा क्षति कम भएको थियो । तर अहिले विद्युतीय र तारबारको मर्मत सम्भार नभएको लामो समय बित्दा सोही स्थानबाट जङ्गली जनावरहरूको सहज प्रवेश हुने र बालीमा क्षति पु¥याइरहँदा सरोकारवाला निकायहरू मौन भइदिंदा क्षति झन् बढेको हो । अहिले धानबाली भिœयाएर गहुँ, रबी र तेलहन खेती शुरू भएको छ । गहुँ रोपिएको क्षेत्रमा टुसा पलाउने क्रममा मयूरले टुसा खाइदिंदै छ भने त्यसपछि बँदेल, नीलगाई र हात्तीसमेतको प्रवेश भएर बालीलाई थप क्षति पार्ने निश्चित छ । विद्युतीय तारबार र विद्युत्रहित तारबारको मर्मत यस अर्थमा पनि आवश्यक भएको छ ।
किसानहरूले बर्सेनि कुनै न कुनै उत्पादन गर्दै आएका हुन्छन् । उनीहरूले वर्षभरि मेहनत र लगानी गरेको उत्पादन यसरी नै जङ्गली जनावरहरूको प्रकोपको शिकार हुने हो भने किसानहरूको मनोबल खस्छ । उनीहरूको मनोबल उच्च पारेको खण्डमा मात्र हाम्रो पेट भर्छ भन्ने कुरालाई मनन गर्न आवश्यक छ । राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन अनि सो मातहतका मध्यवर्ती र वन उपभोक्ता समितिहरूको परिकल्पना पनि यस्तै समस्याहरूको निकारणका लागि गरिएको हो ।