- उमाशङ्कर द्विवेदी
लौ भन– द्रोणाचार्यले पाण्डवहरूलाई व्यूहको ढोकामा रोकेपछि त्यहाँ कुन प्रकारको युद्ध भयो, मलाई यो कुरा बताऊ तथा अर्जुनले सिन्धुराज जयद्रथको वध गर्नको लागि कुन उपाय गरे ?
सञ्जयले भने– राजन्, यो सम्पूर्ण आपत्ति तपाईंकै अपराधको कारण आइपरेको छ, त्यसैले अन्य साधारण पुरुषझैं यसको लागि चिन्ता नगर्नुहोस् । पहिला जब तपाईंका बुद्धिमान् सुह्द विदुर आदिहरूले भनेका थिए कि तपाईंले पाण्डवहरूलाई राज्यबाट च्युत नगर्नुहोस्, त्यसको तपाईंले कुनै पनि प्रकारको वास्ता नै गर्नुभएन ।
जुन पुरुष आफ्ना हितैषी सुह्दहरूको कुरामाथि ध्यान दिंदैन, ऊ ठूलो विपत्तिमा परेर तपाईंझैं नै चिन्ता गर्ने गर्दछ । श्रीकृष्णले पनि सन्धिको लागि तपाईंसित धेरै प्रार्थना गरेका थिए तर तपाईंबाट उनको सो मनोरथ पनि सिद्ध हुन सकेन । यसबाट तपाईंको गुणहीनता, पुत्रहरूप्रतिको पक्षपात, धर्ममाथि अविश्वास, पाण्डवहरूप्रति मत्सर र कुटिल भाव जानेर तथा तपाईंको मुखबाट धेरैजसो अनर्गल कुरा सुनेर नै सर्वलोकेश्वर श्रीकृष्णले कौरव र पाण्डवबीच यस्तो ठूलो युद्ध खडा गरेका हुन् । यस्तो भीषण संहार तपाईंकै अपराधको कारणले भइरहेको छ । मलाई त अगि–पछि वा मध्यमा पनि तपाईंको कुनै पुण्यकृत देखा परिरहेको छैन । मेरो विचारमा त यस पराजयको जरो तपाईं नै हुनुहुन्छ । अतः अब सावधान भएर जुन प्रकारले यस्तो भीषण युद्ध भएको थियो, त्यसबारे सुन्नुहोस् ।
सत्य पराक्रमी सात्यकि तपाईंको सेनाभित्र छिरेपछि भीमसेन आदि पाण्डव वीरहरू पनि तपाईंको सैनिकहरूमाथि जाइलागे । उनलाई बडो क्रोधमा धावा गरिरहेको हेरेर महारथी कृतवर्मा एक्लैले नै उनलाई अगि बढ्नबाट रोकिदिए । यतिबेला हामीले कृतवर्माको बडो नै अद्भूत पराक्रम हे¥यौं । सम्पूर्ण पाण्डव मिलेर पनि युद्धमा उनको कुनै पनि बिगार गर्न सकेनन् । अनि महाबाहु भीमले तीन, सहदेवले बीस, धर्मराजले पाँच, नकुलले एक सय, धृष्टद्युम्नले तीन र द्रौपदीका पुत्रहरूले सात/सात वटा बाण हानेर उनलाई घाइते पारे तथा विराट, दु्रपद र शिखण्डीले पाँचवटा बाण पनि उनीमाथि हाने ।
कृतवर्माले यी जम्मै वीरहरूलाई पाँच/पाँच वटा बाणबाट घाइते पारी भीमसेनमाथि सातवटा बाण हाने तथा उनको धनुष र ध्वजा काटेर रथबाट तल खसालिदिए । यसपछि क्रोधले मुर्मुरिएर बडो शीघ्रतापूर्वक सत्तरीवटा बाण भीमसेनको छाती ताकेर हाने । कृतवर्माको बाणबाट अत्यन्त घाइते भई भीमसेन काम्दै अचेतझैं हुन पुगे । एकैछिनपछि उनको होश खुलेपछि भीमसेनले कृतवर्माको छाती ताकेर पाँचवटा बाण हाने ।
यसबाट कृतवर्माको सर्वाङ्ग रगताम्य हुन पुग्यो । कृतवर्मा अत्यन्त क्रोधित भएर तीनवटा बाणबाट भीमसेनमाथि वार गरे तथा अन्य पनि जम्मैजना महारथीलाई बाण हानेर घाइते पारिदिए । यसपछि उनीहरूले पनि कृतवर्मामाथि सात/सात वटा बाण हाने । कृतवर्माले एउटा क्षुरप्र बाणबाट शिखण्डीको धनुषलाई काटिदिए । यसबाट कुपित भएर शिखण्डीले ढाल–तरबार उचालेर तथा तरबारलाई मच्चाएर कृतवर्माको रथमाथि फालिदिए । कृतवर्माले छिट्टै नै अर्को धनुष लिएर प्रत्येक पाण्डवहरूमाथि तीन/तीन वटा बाण हानेर घाइते पारिदिए तथा शिखण्डीलाई आठवटा बाण हानेर घाइते पारिदिए ।
शिखण्डीले पनि अर्को धनुष लिएर आफ्नो तीखो बाणले कृतवर्मालाई रोकिदिए । यसबाट कुपित भएर उनी शिखण्डीमाथि झनै जाइलागे । यतिबेला आफ्ना तीखो बाणबाट एकअर्कालाई व्यथित गर्दै ती महारथीहरू प्रलयकालीन सूर्यझैं देखा परिरहेका थिए । कृतवर्माले महारथी शिखण्डीमाथि त्रिहत्तरीवटा बाण हानेर फेरि सातवटा बाणबाट उनलाई घाइते पारिदिए । यसबाट शिखण्डी मूर्छित हुन पुगे र उनको हातबाट धनुष खस्न पुग्यो । यो हेरेर उनको सारथिले बडो फुर्तीका साथ रथलाई रणाङ्गबाट बाहिर लिएर गयो ।
शिखण्डीलाइ रथको पछिल्लो भागमा अचेत परेको हेरेर अन्य पाण्डव वीरहरूले कृतवर्मालाई आफ्नो रथबाट घेरामा हाले तर यतिबेला कृतवर्माले बडो नै अद्भूत पराक्रमको प्रदर्शन गरे । उनी एक्लैले ती जम्मै वीरलाई उनीहरूको सेनासहित परास्त गरिदिए । पाण्डवहरूलाई जितेर उनले पाञ्चाल, सृञ्जय र केकय वीरहरूको दाँत अमिलो पारिदिए । अन्तमा कृतवर्माको बाणबाट व्यथित भएर जम्मै पाण्डव वीरहरू युद्धभूमि छाडेर भागे ।
सञ्जयले भने– राजन्, अब तपाईंले जुन कुराबारे सोध्नुभएको थियो, त्यसबारे सुन्नुहोस् । कृतवर्माले पाण्डव सेनालाई लखेटेपछि सात्यकि बडो फुर्तीका साथ सामुमा आए । कृतवर्माले उनीमाथि तीखो बाणको वर्षा आरम्भ गरिदिए । यसमाथि सात्यकिले बडो फुर्तीका साथ उनीमाथि एउटा भल्ल र चारवटा बाण हाने । बाणबाट कृतवर्माका घोडा नष्ट भइहाले तथा भल्लबाट धनुष काटियो । फेरि उनले अनेकौं तीखो बाण हानेर कृतवर्माको पृष्ठरक्षक र सारथिलाई पनि घाइते पारिदिए । यस प्रकार उनलाई रथहीन गरेर महावीर सात्यकिले आफ्ना तीखो बाण हानेर उनको सेनालाई आच्छु–आच्छु पारिदिए । त्यस बाणवर्षाबाट पीडित भएर कृतवर्माको सेना यत्रतत्र भइहाल्यो । अनि सात्यकि अगि बढेर बाण वर्षा गर्दै गजसेनाको साथ युद्ध गर्न थाले ।
क्रमशः…