महाभारतबाट सङ्कलन तथा अनुवाद
- उमाशङ्कर द्विवेदी
उनले धेरैजसो हात्तीसवार र हात्तीहरूलाई, घोडसवार र घोडाहरूलाई तथा रथी र घोडासहित रथहरूलाई नष्ट पारिदिए । यस प्रकार फुर्तिलो सात्यकिले बाणहरूको झरी लगाइदिए, त्यति बेला तपाईंका सैनिकमध्ये कसैलाई उनको सामु जाने साहस भइरहेको थिएन । उनको बाणवर्षाबाट घाइते भएर उनीहरू तर्सिंदै युद्धभूमिबाट भाग्न थाले । सात्यकिको तेजले उनीहरू यस प्रकारले भ्रमित भए कि ती एक्लो सात्यकिलाई नै अनेकौं रूपमा हेर्न थाले । उनीहरू जता गए पनि सामुमा सात्यकि नै देखा परिरहेका थिए ।
यस प्रकार तपाईंका धेरैजसो सैनिकलाई मारेर सेनाहरूलाई छिन्नभिन्न पारी सात्यकि त्यस व्यूहभित्र छिरे । अनि जुन मार्गबाट अर्जुन गएका थिए, त्यसै बाटो उनले पनि जाने विचार गरे तर यत्तिकैमा द्रोणाचार्यले उनलाई अगि बढ्नबाट रोके । यो हेरेर सात्यकिले पनि आचार्यमाथि सातवटा तीखो बाण हाने । द्रोणले सारथि र घोडासहित सात्यकिमाथि छवटा बाण हाने ।
द्रोणको यस पराक्रमलाई सात्यकिले सहन गर्न सकेनन् । उनले भीषण सिंहनाद गर्दै उनीमाथि क्रमशः दश, छ र आठवटा बाण हानेर घाइते पारिदिए । यसपछि दशवटा बाण अझै हाने र एउटा बाणबाट उनको सारथि, चारवटा बाणबाट चारवटै घोडा र एउटा बाण हानेर उनको ध्वजालाई काटिदिए । यो हेरेर द्रोणचार्यले बडो फुर्तीका साथ सलहको ओइरो आएझैं बाणवर्षा गरेर सारथि, ध्वजा र रथलाई चारैतिरबाट ढाकिदिए । अनि आचार्यले भने– हरे, तिम्रो गुरु त कायरझैं युद्ध न गरेर नै मेरो सामुबाट भागिसकेको थियो ।
म त युद्धमा लागिपरेको थिएँ, यत्तिकैमा ऊ मेरोे प्रदक्षिणा गर्न थाल्यो । अझै तिमीले मसित युद्ध गरिरह्यौ भने जिउँदै बाँचेर जान सक्दैनौ । सात्यकिले भने–ब्रहमण, तपाईंको कल्याण होस्। म त धर्मराजको आज्ञाले नै अर्जुनको छेउमा नै गइरहेको छु । त्यसैले यहाँ मेरो समय नष्ट हुनुहुँदैन । शिष्यहरूले त सदैव आफ्ना गुरुको मार्गको नै अनुसरण गर्दै आइरहेका छन् । अतः जुन प्रकारले मेरा गुरु गएका छन्, त्यसै प्रकार म पनि अहिले जाँदैछु ।
राजन्, यति भनेर सात्यकिले द्रोणाचार्यलाई छाडेर त्यहाँबाट गइहाले । उनलाई यस प्रकार अगि बढिरहेको हेरेर द्रोणाचार्य अत्यन्त क्रोधित भई उनी अनेकौं बाण हान्दै सात्यकिको पछि दौडिए तर सात्यकि पछाडि फर्केनन् । उनी आफ्ना तीखा बाणहरू हान्दै कर्णको विशाल वाहिनीलाई बेधेर कौरवको अपार सेनाभित्र छिरिहाले । सेना यताउति भाग्न थाले र सात्यकि त्यसभित्र छिरेको हेरेर कृतवर्माले उनलाई घेरे । उनलाई सामु आएको हेरेर सात्यकिले चारवटा बाण हानेर उनका घोडाहरूलाई घाइते पारी सो¥हवटा बाण उनको छातीमाथि हाने । यसबाट कृतवर्मा कुपित भई सात्यकिको छातीमा वत्सदत्त नामक एउटा बाण हाने ।
त्यो बाण उनको कवच र शरीरलाई छेडेर रगताम्य भई पृथ्वीमा छि¥यो । अनि उनले अनेकौं बाण हानेर सात्यकिको धनुष र बाणलाइ पनि काटिदिए । सात्यकिले अर्को धनुष लिएर त्यसबाट सयकडौं बाण हानेर कृतवर्मा र उनको रथलाई पनि ढाकिदिए । अनि एउटा भल्ल नामक अस्त्र हानेर उनको सारथिको टाउको पनि छप्काइदिए । सारथिविनाका घोडाहरू भागिगए । यसबाट कृतवर्मा आत्तिए तर अलिकबेरमैं सावधान भएर आफ्ना घोडाहरूको राश स्वयम् नै सम्हालेर निर्भयतापूर्वक शत्रुलाई सन्तप्त पार्न थाले । यत्तिकैमा सात्यकि कृतवर्माको सेनाबाट निस्केर काम्बोज सेनातिर हानिए । त्यहाँ पनि अनेकौं वीरले उनलाई अगि बढ्नबाट रोके ।
राजा धृतराष्ट्रले भने– सञ्जय, हाम्रो सेना अनेकौं प्रकारका गुणबाट सम्पन्न र सुव्यवस्थित छ। सेनाको व्यूहरचना पनि विधिवत् गरिन्छ । त्यसमा कोही धेरै बूढो वा बालक, अधिक दुब्लो वा मोटो अथवा पुड्को पुरुष पनि छैन । सबै सबल र स्वस्थ्य शरीर भएका वीरहरू छन् । हामीले कसैलाई पनि ललाइफकाइ, उपकार गरेर अथवा नातागोता सम्बन्ध भएको कारणले भर्ती गरेका छैनौं । यिनीहरूमध्ये कोही यस्तो पनि छैन, जो नबोलाइ आएको होओस् अथवा समातेर ल्याइएको होओस् ।
हामीले अनेकौं महारथी योद्धालाई छानी–छानी भर्ती गरेका छौं तथा उनीहरूलाई यथायोग्य तलब दिएर र केहीलाई प्रिय भाषण गरेर सन्तुष्ट गरेका छौं । हाम्रो सेनामा यस्तो एउटा योद्धा पनि छैन, जसलाई नाम मात्रको तलब दिइएको होस् अथवा तलब नदिइएको होस् । मैले मेरा पुत्रहरूले तथा हाम्रा बन्धु–बान्धवहरूले सबैको दान–मान र आसनादिबाट सत्कार गरेका छौं, तैपनि श्रीकृष्ण र अर्जुन विनारोकावट हाम्रो सेनामा छिर्न सफल भए तथा कसैले उनीहरूको कुनै पनि बिगार गर्न सकेनन् । यहाँसम्म कि सात्यकिले उनीहरूलाई कुल्चि पनि दिए । यसमा भाग्यबाहेक अन्य कसलाई दोष दिउँ ?
दुर्योधनले अर्जुनलाई जयद्रथको सामु उभेको हेरेपछि र सात्यकिलाई निर्भयतापूर्वक आफ्नो सेनाभित्र छिरिरहेको हेरेर दुर्योधनले आफ्नो कुन कर्तव्य निश्चय ग¥यो ? मलाई लाग्दछ अर्जुन र सात्यकि दुवैजनाले आफ्नो सेनालाई नाघेर आएपछि कौरव–योद्धाहरूलाई युद्धस्थलबाट भाग्दै गरेको हेरेर मेरो पुत्र अत्यन्त फिक्रीमा परेको होला । यतिबेला सात्यकिसहित श्रीकृष्ण र अर्जुनलाई आफ्नो सेनाभित्र प्रवेशको कुराले म पनि आत्तिएको छु । लौ भन, द्रोणाचार्यले पाण्डवहरूलाई व्यूहको ढोकामा रोकेपछि त्यहाँ कुन प्रकारको युद्ध भयो–मलाई यो कुरा बताऊ तथा अर्जुनले सिन्धुराज जयद्रथको वध गर्नको लागि कुन उपाय गरे ? क्रमशः…