प्रस, निजगढ, २६ कात्तिक/
नेपाल विद्युत् प्राधिकरण उपवितरण केन्द्र निजगढले वार्षिक ८ करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । उपवितरण केन्द्र निजगढले औद्योगिक ग्राहकसहित करीब आठ हजार ग्राहकले वार्षिक ९६ लाख युनिट विद्युत् खपत गरेबापत सो बराबरको रकम सङ्कलन गर्न सकेको हो ।
निजगढ नगरपालिकाभित्र वडा नं १ सिंगौलदेखि निजगढ हुँदै रतनपुर– डम्मरपुरसम्मका घरमा विद्युत् जडान भएका छन् । निजगढ ३३ र ११ केभी सबस्टेशनमा रौतहटको चन्द्रपुरबाट ३३ केभीको २१ किलोमिटर लामो लाइन रूट जङ्गलको भित्री भागबाट आएको छ । जसका कारण चैत–वैशाखमा हावाहुरी र असार–साउनमा पानी बढी पर्नाले रूख ढलेर विद्युत् लाइनमा पर्ने, बाँदर, चराचुरुङ्गी पनि पर्ने गर्दा विद्युत् सप्लाईमा पटक–पटक अवरोध हुने गरेको विद्युत् प्राधिकरण कार्यालय प्रशाखा निजगढका प्रमुख पुष्पेश्वरप्रसाद साहले बताए ।
दशैं, तिहार, छठ पर्वमा बढी विद्युत् खपत हुँदा सो समयमा विद्युत् आपूर्तिलाई सहज एवं सुचारु गर्न कर्मचारीहरू थप जिम्मेवार भएर खटेका थिए । कहिलेकाहीं ओभरलोड र ती समस्याका कारण विद्युत् अवरुद्ध हुने गरेकोसमेत उनले बताए । निजगढ उपवितरण केन्दबाट नगरभरिका वडाहरूमा तीनवटा फिडरमार्फत विद्युत् लाइन वितरण भइरहेको छ । फिडर नं १ मा ४२ किलोमिटर, फिडर नं २ मा १० किलोमिटर औद्योगिक फिडर र फिडर नं ३ मा २२ किलोमिटर ग्रामीण फिडर रहेको छ ।
फिडर नं १ बाट निजगढ बजारका विभिन्न स्थानदेखि सिंगौल हुँदै मकवानपुर र रौतहटका विभिन्न स्थानमा विद्युत् विस्तार गरिएको छ भने फिडर नं २ बाट निजगढ क्षेत्रभित्रका विभिन्न औद्योगिक ग्राहकलाई विद्युत् वितरण गरिएको छ । त्यसैगरी, फिडर नं ३ बाट निजगढ बजारका विभिन्न स्थानदेखि बागदेव, लाल, रतनपुर, डम्बरपुर हँुदै मकवानपुरको दक्षिणी र बाराको उत्तरी भेग चुरे क्षेत्र तथा आसपासका बस्तीमा विद्युत् वितरण गरिएको प्रशाखा निजगढका प्रमुख साहले बताए । उपवितरण केन्द्रबाट ३३ केभी लाइन जिल्लाको दक्षिणी भेग सिम्रौनगढ वितरण केन्द्रसम्म पुगेको छ ।
३३ र ११ केभी सबस्टेशनमा आठ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर जडान गरिएको छ । निजगढ नगर अन्य शहरका रूपमा बसोवासका लागि सुरक्षित, शान्त, स्वच्छ वातावरणीय स्थानसँगै शिक्षा क्षेत्रमा पनि फड्को मारिरहेको अवस्थामा वार्षिक ४०० देखि ५०० सम्म आवासीय पक्की घर निर्माण भइरहेको छ ।
त्यसमाथि पनि दु्रतमार्ग निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नपछि अझै यसको विकास तीव्रताका साथ जनसङ्ख्या बाक्लिने सम्भावना प्रबल छ । यस कुरालाई पनि मध्यनजर गर्दै विद्युत् आपूर्तिलाई ध्यानमा राख्नुपर्ने निजगढका प्रमुख सुरेशकुमार खनालले बताए । नगरप्रमुख खनालले यसका लागि सम्बन्धित निकायहरूमा पटक–पटक जानकारी गराइसकेको बताए ।
प्रयोगमा ल्याइएका मेशिनरी सामानहरू पुरानो र जीर्ण हँुदै गइरहेको त्यहाँ कार्यरत प्राविधिकहरूले बताए । अब कतिपय मेशिनलाई मर्मत गरेर मात्र चलाउन सकिने अवस्था छैन । नयाँ मेशिन जडान गर्नुपर्ने उनीहरूले बताए । अढाई दशकअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको उपवितरण केन्दको भवन जीर्ण बन्दै गएको छ । पक्की संरचना भएपनि कार्यालय र कर्मचारी बस्ने भवनको छत जीर्ण भई भत्किरहेको छ । कतिपय स्थानमा छतको ढलान खसेर फलामे डन्डी देखिएको छ ।
उपकेन्द्रमा चन्द्रपुरदेखि २१ किलोमिटर लामो ३३ केभी लाइन आएको छ भने, हाल पिलुवा सबस्टेशनबाट पनि ३३ केभी लाइन ल्याउनका लागि गृहकार्य भइरहेको प्रमुख साहले बताए । उपकेन्द्रबाट ग्राहकहरूको बस्तीमा पुग्न १८ किलोमिटरसम्म टाढा पुग्नुपर्दछ । एउटा जीप छ तर सोको अवस्था पनि राम्रो छैन । सो जीपमा लाइन बनाउन सामान लिएर गएको बेला कैयौंपटक बाटैमा बिग्रिएर ढिलो हुने गरेको तीतो अनुभव प्राविधिकहरूको छ ।
साउनदेखि हालसम्म करीब २०० विद्युत् मिटरको माग गर्दै आवेदन परेको छ । देशभरका लागि ग्लोबल टेन्डर गरी मिटर आपूर्ति गर्नुपर्ने भएकोले काठमाडौं केन्द्रले विभिन्न कारणले टेन्डर आह्वान गर्न नसक्दा हालसम्म मिटर अभाव रहेको उपवितरण केन्द्र प्रमुख साहले बताए ।
अत्यन्तै आवश्यक पर्नेले पुरानो मिटर जडान गर्दै आएको र धेरैजसो ग्राहक नयाँ मिटरको पर्खाइमा रहेको कर्मचारी वासुदेव श्रेष्ठले बताए । ग्राहकले आवेदन दिएको बढीमा एक साताभित्र मिटर जडान गर्नुपर्ने भएपनि हाललाई समस्या भइरहेको उनले बताए ।