राधेश्याम पटेल, परवानीपुर, १७ कात्तिक/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सारका कर्मचारीको मिलेमतोमा प्रतिबन्धित छाला निकासी भएको खुलासा भएको छ । केही महीनादेखि वीरगंज–पथलैया औद्योगिक कोरिडोरको भलुहीमा सञ्चालनमा आएको अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिज प्रालिले एचएस कोड र उत्पादन फरक पारेर अर्धपक्कु प्रतिबन्धित छाला निकासी गर्दै आएको पाइएको छ।
चिनियाँ लगानीमा केही वर्षअघि खुलेको यो उद्योगले भन्सार कर्मचारी, वाणिज्य कार्यालय र नेपाल उद्योग वाणिज्य महासङ्घलाई प्रभावित पार्दै प्रतिबन्धित छाला निकासी गरेको छाला व्यवसायीहरूले बताएका छन् । सबैको मिलिभगतमा सिफारिश र जाँचपासको काम भइरहेको एकजना छाला उद्योगीले बताए । उनले गैरकानूनी कार्य भइरहेकोले यसको खोजबीन गरी कानूनी कारबाई हुनुपर्ने माग गरेका छन् ।
भन्सार विभागको नियम अनुसार वेट ब्लु, क्रस्ड र फिनिस्ड वर्गका छाला मात्र उत्पादन गरी निकासी गर्ने व्यवस्था छ । तर उद्योगले वेट ब्लुकै अर्धपक्कु छाला निकासी गरेको सूचना पाएपछि हिजो मङ्गलवार ड्राइपोर्ट भन्सार कार्यालयले निकासी गर्न जाँचपास भइसकेको छालालाई रोकेर अनुसन्धान शुरू गरेको छ ।
इन्डोनेसियाको जाकार्तास्थित पार्टीलाई करीब १० हजार अमेरिकी डलर बराबरको अर्धपक्कु छाला निकासी गर्न लागिएको थियो । यसअघि सोही उद्योगले दुईपटक वाणिज्य कार्यालय, क्वारेन्टाइन तथा उद्योग वाणिज्य महासङ्घबाट कन्ट्री अफ ओरिजिनलगायतका सिफारिश लिएर गैरकानूनीरूपमा प्रतिबन्धित छाला विदेश निकासी गरिरहेको ती छाला उद्योगीले जानकारी गराए ।
सुक्खा बन्दरगाह भन्सारबाट कस्टम ट्रान्जिट डिक्लियरेन्स (सिटिडी) जारी गरेर कन्टेनर रेलमा लोड गर्न तयारीमा रहेको बेला यसबारे उजूरी आएपछि भन्सारले सो कन्टेनर होल्ड गरी रेलमा लोड नगर्न रेलवे सञ्चालक प्रिन्सिटिन भ्याली प्रालिलाई पत्राचार गरेको छ ।
छाला निकासीबारे गुनासो आएपछि तत्काल नपठाउन निर्णय भएको र अनुसन्धान शुरू भएको ड्राइपोर्ट भन्सारका कर अधिकृत उद्धव ढुङ्गानाले बताए । उनले अब छालाको नमूना काठमाडौं ल्याबमा पठाउने र रिपोर्ट आएपछि सोही बमोजिम हुने जानकारी गराए । ड्राइपोर्ट भन्सारले ओओसियू ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल इभिजे ७७८६ नम्बरको सिल लगाएर सिटिडी जारी गरेको छ ।
उद्योगद्वारा गलत विवरण पेश
उद्योगले एचएस कोड ४१०१९०००००० मा बफेलो लेदर स्प्लीटेड उल्लेख गरेर निकासी गर्न लागेको छालाको कोड र उत्पादन फरक रहेको सूचना दिनेको दाबी छ । उक्त कोडमा काँचो छाला, नून लगाएको, सुकेको, चुना हालेर रौं सफा गरेकोलगायत छाला पर्छन् । तर उद्योगले पठाएको छाला ती प्रक्रिया पूर्णरूपमा पालना नगरी अर्धपक्कु भएकोले निकासी गर्न नमिल्ने उजूरीकर्ता छाला उद्योगीको दाबी छ ।
अन्नपूर्णले उद्योग विभागबाट वेट ब्लु, क्रस्ड्स, फिनिस्ड, भेजिटेबल टेनेड र लेदर स्प्लीड उत्पादनको अनुमति पाएको छ । तर अनुमतिबाहिरको छाला पठाएको छाला उद्योगीहरूको भनाइ छ । एकजना छाला उद्योगीका अनुसार भैंसीको छालाबाट खास गरी दुई तहको छाला निस्किन्छ ।
छालाको मोटाइ बढी छ भने ३/४ तहको छुट्टाछुट्टै छाला उत्पादन गर्न सकिन्छ । वीरगंजमा आधा दर्जनभन्दा बढी र भैरहवा, विराटनगरमा गरी करीब १४ वटा छाला उद्योग सञ्चालनमा छन्। छाला उत्पादन गर्ने उद्योगले ७० प्रतिशत वेट ब्लु छाला भारत वा विदेश निकासी गर्ने गरेका छन् । छाला उद्योगीहरूले नेपाली उद्योगीले एक नम्बरी र चिनियाँ उद्योगीले दुई नम्बरी काम शुरू गरेको आरोप लगाएका छन् ।
कसरी भयो अर्धपक्कु ?
वेट ब्लु छाला उत्पादन गर्न कम्तीमा ७२ घण्टा प्रशोधन गर्नुपर्छ । ७२ घण्टामध्ये ३६/३६ घण्टाको दुईवटा प्रक्रिया लाइमिङ र डिलाइमिङ प्रक्रिया पूरा गर्नुपर्छ । लाइमिङ भनेको चुना र सोडियम लगाएर छालालाई मोटो पार्दै रौं र कालो भाग हटाउने प्रक्रिया हो ।
त्यसपछि ड्रमिङ गर्ने प्रक्रियालाई डिलाइमिङ भनिन्छ । यस प्रक्रियाको लागि पनि ३६ घण्टा आवश्यक पर्छ । ड्रममा एमोनियम सल्फर राखेर घुलाइन्छ र प्रशोधन गरिन्छ । तर अन्नपूर्णले दोस्रो प्रक्रियाको ३६ घण्टाको बदला १० घण्टामंै डिलाइमिङ गरेर छाला सुकाएर अर्धपक्कु छाला निकासी गरिरहेकोले प्रतिबन्धित सामग्री भएको छाला उद्योगीहरूको आरोप छ ।
उद्योगले कुकुरले खाने छालाकोरूपमा विदेश निर्यात गरिरहेको पनि उद्योगीहरूले आशङ्का व्यक्त गरेका छन् । नेपाल सरकारले निकासी अनुमति दिएको एचएस कोड र वर्गभन्दा फरकको सामान उद्योगले पठाइरहेको छ । यसमा सरकारले यो नयाँ छालाको उत्पादनको लागि अनुमति दिनुपर्छ, गल्ती गर्नेलाई कारबाई गर्नु पर्छ, ती उद्योगीले भने ।
छाला निकासीको लागि उद्योगीहरूको दौडधुप, ैभन्सार कार्यालयले उद्योगीको गुनासोपछि भन्सार जाँचपास भई निकासी गर्न तयार कन्टेनर रोकेपछि उद्योग सञ्चालक पक्षको दौडधुप ड्राईपोर्ट भन्सारमा शुरू भएको छ । हिजो उद्योग सञ्चालक चिनियाँ नागरिक क्यो जिगले आफ्नो ट्रान्सलेटर र क्लियरिङ एजेन्टलाई लिएर भन्सार प्रमुख डा लालबहादुर खत्रीलाई भेटेर भन्सारले कन्टेनर रोकेको बारेमा जानकारी लिए ।
ंिकनकी दोभाषे एलिन्का पोखरेलका अनुसार सरकारले तोकेको सबै मापदण्ड र कागजात पेश गरी सोही बमोजिमको छाला पठाउन लागिएकोले रोक लगाइनु गलत हो । उनले आरोप सही साबित नहुने ठाकुवा पनि गरिन् । यदि हाम्रो छाला कानूयबबोजिमकै भयो भने त्यसपछि मालसामानको विलम्ब शुल्क वा ढुवानी भाडा कसले बेहोर्ने, उनले प्रश्न गरिन् ।