लन्डन, १२ कात्तिक/एएफपी
बेलायतमा गरिएको एक अध्ययनमा दुई मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड भएको देखाएको छ । ती व्यक्तिहरूबाट आफूसँग बस्ने अरूलाई कोरोना सङ्क्रमण सारेको पनि बताइएको छ । दुई मात्रा खोप लगाएका मानिसले पनि खोप नै नलगाएका मानिसले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने जनाएको छ ।
लक्षण भएपनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले एउटै घरमा बस्ने खोप नलगाएका अरू मानिसमा कोरोना भाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले प्रस्ट पारेको छ । उनीहरूले पाँचमध्ये दुईजनालाई कोभिड सार्न सक्छन् । तर एउटै घरमा बस्ने सबैजनाले पूर्ण मात्रामा कोभिड खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले जानकारी दिएको छ ।
‘द लान्सिट इन्फेक्शस डिजिजेज’को अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महŒवपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन् । खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरू मानिसमा भर पर्न नहुने चेतावनी विज्ञहरूले दिएका छन् । खोपले कोरोना भाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सघाउँछन् । तर सङ्क्रमण रोक्न ती धेरै प्रभावकारी हुँदैनन् । विशेषगरी भाइरसका डेल्टा भेरियन्टजस्ता बढी सङ्क्रामक प्रकार फैलिएको बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन्।
अनि समयक्रमसँगै खोपले दिने सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ । घरमा नै अधिकांश सङ्क्रमण फैलिने भएकाले घरमा बस्ने खोप लिन योग्य मानिस सबैजनाले खोप लिएको सुनिश्चित गर्नु तथा आवश्यक थप मात्रा लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ । गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लन्डन र बोल्टनमा कोभिडका लागि पिसिआर परीक्षण गरेका ४४० घरपरिवारलाई संलग्न गरिएको थियो ।
खोप नलगाएका मानिससँग तुलना गर्दा दुई मात्रा खोप लगाएका मानिसमा डेल्टा भेरियन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम हुन्छ । रासस