प्रस, परवानीपुर, ६ कात्तिक/
वीरगंजका प्रायःजसो चोकमा इजी इट्सका ब्यानरहरू झुन्डिएका देखिन्छन् । धेरैलाई यो कस्तो र कसको कम्पनी होला र यसले के काम गर्छ भन्ने जिज्ञासा उठेको हुन सक्छ । इजी इट्सबारे बुझ्दै जाँदा अनलाइन फूड डेलिभरी गर्ने स्टार्टअप उद्यम रहेछ ।
गत चार महीनादेखि सञ्चालनमा आएको यो व्यवसायका सञ्चालक हुन्, सिमरन चौरसिया र नीरज पटेल । वीरगंज–१६ मिथिलानगरकी २४ वर्षीया सिमरन पेशाले विद्यार्थी हुन् । उनी वीरगंज पब्लिक कलेजबाट बिबिए पूरा गरी सोही कलेजबाट एमबिए गर्दैछिन् । त्यस्तै, बारा, परवानीपुर गापा–५ बहुअरीका २५ वर्षीय नीरज पटेल पेशाले सफ्टवेयर इन्जिनीयर हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनीयर पढेका छन् ।
दुवैजनाले रु पाँच लाखको लगानीमा अनलाइन फूड डेलिभरी गर्ने व्यवसाय चलाइरहेका छन् । उनीहरूको ‘आइडिया’ र व्यवस्थापकीय क्षमता अहिले वीरगंजका युवा उद्यमीहरूबीच छलफलको विषय भएको छ । बिहान ९ देखि राति ९ बजेसम्म ग्राहकलाई सेवा उपलब्ध गराउने इजी इट्सले हाल विभिन्न प्रकारका फूड, पेय पदार्थ, मिठाइ तथा फलफूलको अनलाइन डेलिभरी गरिरहेको छ।
गत असार ४ गते व्यवसाय सञ्चालन गर्दा दुई घण्टाभित्रमा नै फूड डेलिभरीको ५० वटा अर्डर प्राप्त गरेको कम्पनीले हाल दैनिक तीन सयवटा अनलाइन डेलिभरी अर्डर पाइरहेको सञ्चालक सिमरन बताउँछिन् । पछिल्लो दुईपटकको कोरोना महामारीमा खानेकुराको आपूर्ति ठप्प भएपछि उनले केही नयाँ गर्ने सोचका साथ यो व्यवसायलाई अघि बढाएको स्मरण गर्छिन् ।
“पछिल्लो कोरोना महामारीमा घर र कपडा सबैसँग थियो, तर खानेकुरा बजारबाट कसरी ल्याउने निधो थिएन,” उनले भनिन्, “त्यस बेला म अर्काको कम्पनीमा काम गर्दै थिएँ, कोरोना महामारीमा केही नयाँ गर्ने सोचले त्यो काम छोडेर आफ्नै व्यवसाय शुरू गर्ने अठोट गरें ।” उनले आफ्नो खुट्टामा उभिन आफ्नी आमाबाट बढी प्रेरित भएकोले व्यवसाय शुरू गर्न हौसला मिलेको पनि बताइन् ।
शुरूमा साथीभाइसँग आर्थिक सहयोगको लागि हात फैलाएको तर कसैले सहयोग नगर्दा आफ्नै व्यवसाय गर्ने तयारीमा रहेका नीरजसँग उनको भेट भयो । त्यसपछि दुवैजनासँग भएको नगद जम्मा गरी व्यवसाय शुरू गरेको सिमरनको भनाइ छ । “मसँग एप्स थियो अर्थात् टेक्नोलोजी र सिमरनसँग व्यवस्थापकीय क्षमता,” इजी इट्सका अर्का सञ्चालक नीरजले भने, “टेक्नोलोजी र म्यानेजमेन्ट स्कीललाई समावेश गरी अनलाइन फूड डेलिभरीको काम शुरू भयो ।” अहिले कम्पनीले एकजना लेखापाल, तीनजना सर्भिस कन्सल्टेन्ट र नौजना डेलिभरी ब्वायसहित १३ जनालाई रोजगार दिएको छ ।
चाँडै नै यो व्यवसायलाई नेपालकै अर्को शहरमा विस्तार गर्ने सोच रहेको पनि उनीहरूको भनाइ छ। शुरूको एक महीना घाटा लागे तापनि अहिले महीनामा सबै खर्च कटाएर करीब रु डेढ लाख मुनाफा भइरहेको सञ्चालकद्वयले बताए ।
इजी इट्स नामको एप डाउनलोड गरी मोबाइल प्रयोगकर्ताले सहजै खानेकुराको अर्डर गर्न सक्छन्। “हामीसँग वीरगंजका होटल र रेस्टुराँहरूको लिस्ट छ, ग्राहकले आफूलाई मन परेको होटल, रेस्टुराँबाट मम, चाउमिन, पिजा, बिरयानी, पेय पदार्थ, फलफूल, मिठाइलगायतका खानेकुरा अनलाइन अर्डर गरेपछि ४५ मिनेटदेखि एक घण्टाभित्र डेलिभरी गर्छौं,” सिमरन र नीरजले भने, “बिस्तारै वीरगंजमा अनलाइन अर्डरको कल्चर फस्टाइरहेको छ ।” अर्डर अनुसारको शुल्क र डेलिभरी शुल्क ३५ रुपैयाँमा नै खानेकुरा घरघरमैं पु¥याउने गरेको इजी इट्सका सञ्चालकद्वय सिमरन र नीरजले बताए ।