दुर्घटना जहिले पनि दुःखद हुन्छ । सामान्य अवस्थामा भएको होस् वा असामान्य अवस्था अथवा चाडपर्वका बेला । हो, खुशीको बेला दुर्घटना हुन्छ भने त्यसको राप र ताप असह्य लाग्छ । बिहेको अवसरमा सम्बद्ध पक्ष दुर्घटनामा पर्दा, चाडपर्व मनाउन एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा भएको दुर्घटनाले मन र चित्तमा अमिट छाप छाडेर जान्छ । झन् दुर्घटनामा कसैको मृत्यु हुन्छ भने त्योजस्तो दुःखदायी अरू केही हुन सक्दैन । यसपालि दशैं पर्वको अवसरमा यस्ता धेरै दुर्घटना भए । दशैं मनाउन घर जाने क्रममा होस्, घरमा टीका थापेर अन्यत्र–परत्र पनि आशीर्वाद पाउन हिंडेको बेला होस् वा दुर्गापूजामा देवीको मूर्ति भसाउन गएको बेला मूर्तिबाटै पानीमा थिचिएको दुर्घटना होस्, यस्ता दुर्घटना सामान्यभन्दा बढी दुःखदायी हुन्छ । दुर्घटना हुनु संयोग हो भनिन्छ । तर हामीकहाँ हुने धेरै दुर्घटना संयोग मात्र होइन । प्रविधिबारे अज्ञानता, लापरवाही, जसरी पनि पैसा कमाउने लोभ, अवसरवादिताजस्ता मानवीय कमजोरीले दुर्घटना निम्तिन्छ र त्यसमा व्यक्तिको ज्यान जान्छ भने त्यो अक्षम्य अपराधको श्रेणीमा आउँछ ।

पहिले मानिसले धेरै उन्नति गरेको थिएन, ऊसँग प्रकृतिप्रदत्त साधन मात्र थियो, जीवन व्यापार चलाउनका लागि । त्यस बेला दुर्घटना प्राकृतिक कारणले मात्र हुन्थ्यो । बाढी–पहिरो, आगजनी, भूकम्प, चट्याङले गर्दा दुर्घटना हुन्थ्यो । मानिसले प्रकृति वा ईश्वरको मर्जी भनेर सन्तोष गथ्र्यो। त्यसैले त्यस्ता दुर्घटनामा भएको मृत्युलाई संयोग भनिन्थ्यो । तर आज धेरैजस्तो दुर्घटना मानवजन्य देखिन थालेको छ । मानिसले आज जुन प्रविधिको छेलोखेलो आविष्कार गरेको छ, दुर्घटनाको ठूलो कारण त्यही बनेको छ । तर प्रविधिलाई दोष दिनु उपयुक्त त हुन्न । किनकि प्रविधि आफैंमा मानवमैत्री हुन्छ । हो, प्रविधि प्रयोगमा अज्ञानता, अति विश्वास आदि मानवीय कारणले दुर्घटना निम्तिन्छ । यसका लागि मानिस स्वयम् सतर्क र सचेष्ट हुनुपर्छ, जसको हामीकहाँ सर्वथा अभाव छ । मानिसले लापरवाही नगरोस् भने कुनै कारण छैन, प्रविधिले गर्दा कसैको ज्यान जाओस् । सबभन्दा पहिले हामीले प्रयोग गर्ने प्रविधिको सम्पूर्ण जानकारी र सामान्यजनलाई के कारणले प्रविधि मानिसका लागि अहितकर बन्छ भन्ने ज्ञान राख्नु वा दिनु आवश्यक हुन्छ ।

मानिसलाई थाहा छ, आगो छोयो भने पोल्छ, ऊ आगोसँग डराउँछ । तर एउटा जङ्गलमा लापरवाहीवश चुरोट फाल्दा वा स्वार्थवश डढेलो लगाउँदा आफू स्वयम् र बस्ती, मानिसका साथै जङ्गली जनावरहरूको लागि काल बन्छ भन्ने हेक्का हामी राख्दैनौं । सवारीसाधनले अपवादबाहेक आफैं दुर्घटना गराउँदैन । मानिसले सवारीसाधनको हेरचाह राम्ररी गर्दैन, कुन सवारीसाधन कहाँ चलाउँदा सुरक्षाविपरीत हुँदैन, कति मानिस एउटा सवारीसाधनमा यात्रा गर्न सक्छजस्ता सामान्य कुराको ध्यान नराख्दा धेरैजसो दुर्घटना हुने गरेको छ । एउटा डुङ्गामा त्यसको क्ष्Fमताभन्दा बढी मानिस चढेका छन् भने डुङ्गा डुब्छ, त्यसमा डुङ्गा होइन, चढ्ने र चढाउने व्यक्ति दोषी हुन् । मोटर आफैं गएर रूखमा ठोकिन्न, भीरबाट खस्दैन । दुर्गाको मूर्तिले कुनै व्यक्तिलाई समातेर थिचिदिंदैन । त्यसमा सरासर मानवीय लापरवाही हुन्छ । एउटा मानिसको त्यही लापरवाही अरू मानिसका लागि दुःखको कारण बन्न पुग्छ । र चाडपर्वजस्तो रमाइलो बेलामा नरमाइलो दुर्घटनाले कस्तो वातावरण सिर्जना गर्छ भनिरहनुपर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here