वीरगंजका पसलहरूमा उपभोग्य म्याद गुज्रिएका सामानहरू फेला पर्न थालेको बजार अनुगमन टोलीका सहभागीहरूले सार्वजनिक गरेका छन् । कतिपय सामानमा मूल्यसूचीसमेत बढाएर नयाँ बनाएको अवस्थामा फेला परेको टोलीमा सहभागीहरूको भनाइ छ । कोरोना महामारीबाट बजार भर्खरै तङ्ग्रदै छ । कोरोना नियन्त्रण भएको होइन, केही न्यूनीकरण भएको हो । खोपको मात्रा बढ्दै गएको र कोरोनाविरूद्ध आवश्यक सावधानी अपनाउन थालेपछि कोरोना सङ्क्रमितको सङ्ख्या केही ओर्लने र मौका पाउने बित्तिकै फेरि उक्लने गरेको छ । पुरानो क्रम अनुसार यसपटक असोजदेखि मङ्सिर महीनासम्म कोरोना सङ्क्रमणको दर उकालो लाग्ने विज्ञहरूको अनुमान थियो । नेपाली नागरिकको अहोभाग्य नै मान्नुपर्छ, असोज महीना बित्न लाग्दा पनि कोरोना सङ्क्रमणको दर भने खासै उकालो लागेको छैन । बितेको वर्ष दशैंताकाभन्दा यसपटक बजार खुला छ, चहलपहल पनि बढेको छ । यही मौकामा यहाँका केही साहु एवं व्यापारीहरूले उपभोग्य म्याद गुज्रिएका वस्तुहरू उपभोक्तालाई भिडाउने मौका पाएका छन् ।
खाद्य पदार्थमा रेपर परिवर्तन गरेपछि जोसुकै उपभोक्ता पनि झुक्किन्छ । कोरोनाको कारण गोदाम तथा पसल बन्द छँदा बिक्री नभएका सामग्रीहरूमा लगानी जाम भएको छ । लगानी जाममा पर्दाको क्षति र रेपर परिवर्तन गर्दाको थप लगानी उठाउने एक मात्रै स्रोत उनीहरूले उपभोक्ता देखेका छन् । निरीह उपभोक्ता महँगो दाममा, म्याद गुज्रिएका सामान खरीद गरी घरपरिवारमा रोग भिœयाइरहेका छन् । उपभोक्ता सचेतनाको सवालमा पर्सा जिल्ला अति गएगुज्रेको अवस्थामा छ । यहाँ उपभोक्ता हितका ठूल्ठूला कुराहरू हुन्छन् । तर उपभोक्ताको हितमा भने वरको सिन्का पर सारिंदैन । उपभोक्ता अधिकारको कुरा यहाँ मौका प¥यो कि कमाइखाने भाँडो बन्छ । तर पनि कसैलाई कति पनि लाज छैन । उपभोक्ता स्वास्थ्य एवं उनीहरूको सुविधा र सहजताका लागि “अन्य जिल्लाको तुलनामा हामीसँग यो छ हेर” भनेर गर्वका साथ देखाउन सक्ने स्थिति छैन । अतः उपभोक्ता हितको सवालमा अन्य जिल्लाभन्दा पर्सा जिल्ला धेरै पछाडि छ ।
कृषिप्रधान मुलुकको कृषिमा निर्भर भनिएको पर्सा जिल्लामा हरियो तरकारीको व्यवस्थित बजार एउटा पनि छैन । चितवन, मकवानपुर, बारा, सिराहा, सर्लाहीलगायतका जिल्लाहरूमा पर्सामा भन्दा राम्रा, व्यवस्थित र उपभोक्त हित अनुकूलका तरकारी बजारहरू छन् । त्यसैगरी, पर्सामा व्यवस्थित वधशालाको कुरा छाडौं, व्यवस्थित माछामासु बजार छैन । यहाँ दूध–मासुमा आधारित पशु हाटबजार पनि छैन । पर्साका अधिकांश उपभोक्ता भारतीय चामलमा निर्भर छन् । जुन आफ्नै जिल्लामा उत्पादन हुने जस्तो ताजा, स्वस्थकर र सुलभ हुनै सक्दैन । चौतर्फीरूपमा उपभोक्ता ठगिने गरेको स्थानमा म्याद गुज्रिएका र मूल्य बढाइएका सामग्री पाउनु अनौठो होइन । यहाँ त रातारात नक्कली उद्योग खडा हुन्छ । अन्तर्राष्ट्रिय गुणस्तरका ब्रान्डेड सामानसमेत यहाँ अँध्यारो कोठाभित्र तयार हुन्छन् । नक्कली उद्योगहरूमा बेलाबखत छापामारीले यो पुष्टि गरेको छ । जहाँ अपराध धेरै हुन्छ, त्यहाँ प्रतिरोध पनि उत्तिकै हुनुपर्छ । गुणस्तरहीनताको विरूद्ध जनस्तरबाट जुन प्रतिरोध हुनुपर्ने हो, त्यो हुन सकेन । उपभोक्ता हितबारे सचेत समुदायले मात्रै उपभोक्ता अधिकारको पक्षमा आवाज उठाउन सामथ्र्य राख्दछ ।