मुलुकको ठूलो पर्व दशैं नजीकिंंदै गर्दा गाउँ–गाउँमा जताततै फूटबलकै रौनक छ । हुन त शहरमा पनि प्रतियोगिता नहुने होइन तर ती अधिकांश पूर्व निर्धारित तालिका वा नियमित कार्यक्रम अनुसार हुन्छ । ग्रामीण क्षेत्र तथा शहरोन्मुख क्षेत्रहरूमा टोल, वडा स्तरदेखि पालिकास्तरसम्म फूटबल प्रतियोगिताहरू भइरहेका छन् । दशै–तिहारको अवसरमा फूटबल तथा खेल प्रतियोगिता आयोजना गर्ने हाम्रो परम्परा नै बनेको छ । खेलकूद प्रतियोगिता युवाहरूको सहभागिता विना सम्भव छैन । विगतमा युवाहरू गाउँ शून्य पारेर लाहुर जान्थे । भारतीय सेनादेखि पञ्जाबमा ज्यामी काम गर्ने नेपाली युवालाई घर फर्कदा लाहुरे भनिन्थ्यो । कतिपय युवा आफ्नै देशको विभिन्न स्थानमा ज्याला, मजदूरीका लागि निस्कन्थे । उनीहरू घर फर्कने टुङ्को भनेको दशै–तिहार थियो । पर्व शुरू हुन थालेपछि गाउँमा युवाको आगमन शुरू हुने र पर्व सकिंदै जाँदा गाउँ रित्तिंदै जान्थ्यो । युवाको मुख्य आगमनको समय पारेर दशैं–तिहारको बेला खेलकूद आयोजना गर्ने चलन हाम्रा पूर्वजहरूले शुरू गरेका हुन् । वर्षभरि शून्य रहने गाउँका खेल मैदानहरू आज पनि पर्व नजीकिंदै गर्दा चहलपहल बाक्लिंदै यौवन उन्मुक्त देखिन्छन् ।
फूटबल खेलले अन्तर्राष्ट्रिय जगत्मा हाम्रो मुलुकको शान उचो पारेको छ । विगत केही वर्षदेखि फूटबल क्षेत्रमा नेपाली खेलाडीहरूको प्रदर्शन सुधारोन्मुख छ । ‘अनुशासन, विकास र गतिशीलता’ मुख्य नारा बोकेको खेलकूद क्षेत्र आफैंमा पनि मित्रता बढाउने माध्यम हो । खेलकूदकै माध्यमबाट विभिन्न मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै राष्ट्रिय राजनीति र परराष्ट्र सम्बन्ध सुधारमा पनि टेवा पुग्ने गर्छ । खेलकूदले स्वस्थ, अनुशासित र प्रतिबद्ध नागरिक निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यसले समाज तथा राष्ट्रको उन्नति, प्रगतिमा प्रत्यक्ष लाभ पु¥याइरहेको हुन्छ । खेल प्रतिभा प्रस्फुटन गराउन स्थानीयस्तरका खेलकूद प्रतियोगिताले मालीको भूमिका निर्वाह गर्छ ।
पवित्र उद्देश्यको ग्रामीण खेलकूदमा पछिल्लोपटक भने केही विकृति देखा पर्न थालेको छ । गाउँ–घरमा आयोजना गरिने फूटबल प्रतियोगितामा राम्रो खेल आयोजना होस्, भन्दा अरूले ईष्यौ गर्ने, सकभर बिथोली दिने एवं प्रतियोगिता आयोजनामा भाँजो हाल्ने क्रियाकलाप भइरहेको पाइन्छ । खेलकूद प्रतियोगिता आयोजनालाई जाति, धर्म, क्षेत्र र राजनीतिसँग जोडेर जुगाँको लडाइँ बनाउने प्रवृत्ति भित्रिंदै छ । स्वस्थ खेलकूद प्रतियोगितामा हारेका टिमले जित देखेको हुन्छ। हरेक हारबाट नयाँ पाठ, सीप र दक्षता हासिल हुने हुँदा उसको लागि हार पनि जित हो । तर हाल भइरहेका प्रतियोगिताहरूमा उपलब्धिभन्दा जित्नै पर्छ भन्ने मानसिकताका कारण प्रतियोगी टिमहरूले बौरो खेलाडी खरीदमा आँखा चिम्लेर रकम खर्च गरिरहेका छन् । राष्ट्रिय र स्थानीयस्तरको खेलकूदलाई एउटै नजरले हेर्नुहुँदैन । गाउँ टोलस्तरका टिमहरूले पनि बौरो तथा विदेशी खेलाडी खरीद गरेर खेलाइरहेका छन् । यसले खेलकूद प्रतियोगितालाई जुवा खेलको रूपमा रूपान्तरण गर्ने खतरा रहन्छ । साथै स्थानीय प्रतिभा प्रस्फुटन हुन पाउँदैन । टिमहरूले खर्च गरेको रकम उठाउनै पर्ने हुँदा धाँधली र झगडाको बीजारोपण भइरहेको छ । यसतर्फ सम्बन्धित र सरोकारवाला पक्षले समयमा सचेत भई सुधार गर्नु जरुरी छ । अनि मात्र यस्ता खेल आयोजनाहरूको सार्थकता प्रस्टिन्छ ।