– सञ्जय साह मित्र

एकजना अत्यन्त गरीब मानिस थिए । उनी कामको खोजीमा बाहिर जाने गर्दथे । अर्काको खेतमा काम गरेर गुजारा चलाउन खोज्दाखोज्दै विवाह भयो । अर्काको खेतमा काम गर्ने निश्चित समय हुन्थ्यो । बिहानको समयमा उनी हरियो तरकारी डुलाएर बेच्न थाले । बिस्तारै काम गर्न छाडेर कतैबाट तरकारी किनी गाउँतिर डुलाएर बेच्ने काम मात्र गर्न थाले । बिहान डुलाएर बेच्ने र दिउँसो हाटबजारमा पनि तरकारी बेच्न थाले । डुलाएर तरकारी बेच्दा धान, गहुँ र अन्य अन्न तथा दालसित पनि कोही–कोही तरकारी साट्दथे । यसले गर्दा खानको लागि कहिल्यै खाद्यान्न किन्नु पर्दैनथ्यो । उल्टै बेच्नलाई पनि खाद्यान्न जम्मा हुन पुग्दथ्यो । तरकारी बेच्ने समयमा अन्नसित साट्दा नै केही नाफा हुन्थ्यो भने फेरि साटिएको अन्न बेच्दा पनि अलिकति नाफा हुन्थ्यो । गरीबकी एक छोरीसित बिहे भयो । बिस्तारै दुई छोरा पनि भए । उमेरसित धन साटिदैं गयो । दुई छोरा विद्यालय जान थालेपछि पत्नीलाई चोकमा एउटा तरकारी पसल नै खोलिदिए । तरकारीको क्षेत्रमा वर्षौं काम गरेपछि ग्राहकको विश्वास आर्जन भयो । जुन जमीनमा तरकारी पसल थियो, त्यो जमीन किने । मेनरोडमैं घर बन्यो । तरकारीको थोक बेपार बढ्यो । मेनरोडमा तीन तले पक्की भव्य घर बनाउन पनि भ्याए । दुई जवान छोराको बिहे भएर नातीनातिना पनि भइसकेका थिए । बूढाको उमेर भने डाँडो काट्ने मेसोमा थियो ।

शरीर कमजोर हुँदै गएपछि उनले एक दिन तल्लो तलाको एउटा कोठामा राख्न जेठो छोरोलाई आग्रह गरे । जेठोले भुइँतलामा गोदाम भएकोले सम्भव नभएको बतायो । दोस्रो तलामा पनि सात–आठवटा कोठा थिए । एउटामा बूढाबूढीलाई राख्यो तर कान्छी बुहारीले बूढाले खोकेर रातभरि सुत्न नदिने गरेकोले माथिल्लो तलामा ओछ्यान लगाउन भन्दै झगडा गर्न थाली । तेस्रो तलामा आफूहरू बस्न नसक्ने बताउँदा दुवै छोरा–बुहारीको खानुसम्म गाली खानु प¥यो । एक दिन दिउँसो दोस्रो तलाको बरन्डामा बसेर बूढो घाम ताप्दै थिए । खोकी आयो । खकार आयो । फ्याँक्ने ठाउँ कतै पाएन । भित्तातिर भुइँमा फ्याँक्यो । देखिछन् एउटी बुहारीले । एकै छिनमा छोरो आइपुग्यो । बाबुलाई तथानाम गाली गर्दै यत्रो ठूलो घर, टायल लगाएको घरमा जताततै थुक र खकार फालेर फोहोर र दुर्गन्धित बनाएको आरोप लगायो । बूढी आमाले सबै सुनिरहेकी थिइन् । जवाफ फर्काउने साहस कसैमा थिएन । बूढो बाबुले आपूmलाई तलको एउटा कोठामा राखिदिन फेरि अनुनय ग¥यो तर रिसले आगो भएको छोरोले बाबुलाई मुन्ट्याउँदै तल जाऊ भन्दै धकेल्यो सिंढीतिर । बूढो सिंढीमा लड्दै पछारिंदै जमीनमा पुगे । जमीन पक्की थियो, आफैंले बनाएको । लडेर बेहोश भए । अस्पताल पु¥यायो त्यही छोरोले । अस्पतालले मृत घोषित गरिदियो । उसले बडो संयमित अभिव्यक्ति दियो – बुबा तल ओर्लिन खोज्दा लड्नु भएछ र सेवाको मौका नै नदिई जानुभयो । बूढी आमालाई सबै कुरो थाहा थियो तर केही बोल्ने साहस थिएन । यो काल्पनिक कथा होइन ।

एकजना मित्र के भन्छन् भने संसारमा बुबाजस्तो वफादार नोकर सन्तानका लागि हुनै सक्दैन । बुबाले सन्तान, अझ हाम्रो समाजमा छोरोको लागि जेजस्तो त्याग गर्नुपरे पनि पछाडि हट्दैन । हाम्रो सामाजिक परिवेश यस्तो बनिसकेको छ कि सर्वसाधारणले यो सजिलै विचार गर्ने गर्दछन् कि जे गर्नुछ यही छोरोको लागि त गर्नुछ । यसकारण छोरोले अह्राएको वा खटाएको जे पनि होस्, बुबाले आप्mनो कर्तव्य ठानेर गरिरहेका हुन्छन् । अथवा आपूm जेजति दुःख वा कष्ट सहेर धन सञ्चय गर्दछन् र दारुण जीर्णावस्थालाई बेवास्ता गर्दै सन्तानको लागि केही जम्मा गर्दछन् । सन्तानले त्यो सङ्घर्ष, त्यो पीडा, त्यो दुःख बुझ्दैन । उसलाई एकदम सरल र सजिलो लाग्दछ । उसले सबै स्वचालित वा स्वतः भएको वा बुबा–आमाले आप्mनो लागि मात्र गरेको, छोराछोरीका लागि केही नगरेको ठान्छ ।

अब छोरा आप्mनो सन्तानलाई भएभरको सुख र सुविधा उपलब्ध गराउन चाहन्छ र तदनुसार मेहनत गर्न थाल्छ । यस क्रममा अलिकति फरक सोचाइ वा विचार जब बुबाबाट आउँछ तब उसलाई नराम्रो लाग्छ । झर्कोफर्को लाग्ने, असह्य हुने तथा बेकामको लाग्ने हुन थाल्दछ । सम्भवतः यसै कारणले हुनुपर्छ आजभोलि वृद्धाश्रमको माग बढ्न थालेको छ ।
समाजमा शिक्षा र चेतनाको विस्तार हुँदैछ । शिक्षाको विस्तारले छोराहरू प्रायः घरबाहिर गएर व्यापार तथा नोकरी वा अन्य रोजगारमा संलग्न हुन्छन् । जीवनभर दुःख गरेर निर्माण गरेको घर र समाज त्यागेर वृद्धवृद्धाहरू कुन छोरासित कहाँ जाने ? जहाँ गए पनि मन लाग्दैन । जीवनभर समय लगानी गरेको ठाउँ, पसिना बगाएको ठाउँ, अन्तरकुन्तरका भाव अभिव्यक्त गरेको समाज तथा प्रगति र दुर्गतिमा सँगै रहेको समाज छाडेर अन्यत्र जान नसक्ने वा जान नचाहने वृद्धवृद्धाहरूको प्रवृत्ति नितान्त स्वाभाविक हो । फेरि छोरोले जुन ठाउँमा जान भनेको हुन्छ, त्यहाँ बुबाले सम्मान र स्वाभिमान पाउने अवस्था हुँदैन । वातावरण र परिवेश आप्mनो हुँदैन । सबै बिरानो हुन्छन् र बिरानो ठाउँमा बुढ्यौली काट्न निकै असजिलो हुन्छ । यसभन्दा सजिलो वृद्धाश्रम किन हुन्छ भने वृद्धाश्रममा आप्mनो भाषा बुझ्ने, आप्mनो भाव बुझ्ने तथा आपूmहरूजस्तै एकै उमेरका मानिस हुन्छन् । एकै उमेरका मानिस हुँदा एउटा समाज नै बन्दछ वा सबैको सोचाइ यही हुन्छ कि संसार यस्तै छ । आप्mना दुःख र सुखका क्षणहरू साटासाट गर्न पाउने अवस्था हुन्छ । एकले अर्कोको कुरा सुन्छन्, सुनाउँछन् । यदि व्यवस्थित वृद्धाश्रम हो भने शरीरले अशक्त हुने समयमा आप्mनो घर वा गाउँ छाडेर कुनै नौलो ठाउँ जानुभन्दा वृद्धाश्रम जाग्नु उचित ठान्दछन् ज्येष्ठ नागरिकहरू ।

सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्भवतः यसै वर्षदेखि प्रतिमहीना चार हजार रुपियाँ ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउन थालेको छ । हेर्दा सानो रकम भए पनि ग्रामीण ज्येष्ठ नागरिकको यसले ठूलो सम्मान बढाएको छ । अति विपन्न तथा दलित समुदाय र छोराछोरीबाट अपहेलित, अनि कतिपय अवस्थामा स्वाभिमानी ज्येष्ठ नागरिकलाई सरकारले प्रतिमहीना उपलब्ध गराउने रकमले ठूलो आड भरोसा दिएको छ । जीवन चलाउने आशा दिएको छ । एउटा आधार–स्तम्भ खडा गरिदिएको छ । धेरै ज्येष्ठ नागरिक यस्ता पनि छन् जसले आप्mनी छोरी नातिनीलाई भेट्न जाँदा वा बोलाउँदा यही भत्ताको रकमबाट उबारेर सकेको कोसेली दिने गरेका छन् । गर्वका साथ यो कुरा सुनाउँछन् पनि कि भत्ताको रकमबाट यो गरेको हुँ । कतिपय यस्तो साँघुरो अवस्था पनि आउँछ कि कतै दान दिन मन लागेको छ, धर्मकर्मको काममा दुई पैसा खर्च गर्न मन लागेको छ र घरमा छोरा–बुहारीसित पैसाको अभाव छ वा दानधर्म गर्नको लागि रकम दिन आनाकानी गरिरहेको अवस्था छ । यस्तो परिस्थितिमा ज्येष्ठ नागरिकलाई ठूलो मानसिक तनाव हुन्छ । सरकारले ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउन थालेपछि जब त्यो रकम आप्mनै पारिश्रमिक भएको अनुभव ज्येष्ठ नागरिकलाई हुन थाल्यो तब यही रकमबाट दानधर्म गर्न सजिलो भएको छ । आप्mनो कमाइबाट दानधर्म गर्न पाउँदा बढी फल प्राप्त हुन्छ भन्ने विश्वासले पनि ज्येष्ठ नागरिकको मनोविज्ञान र मानसिकतालाई बढी प्रभावित पारेको छ, सन्तुष्टि प्रदान गरेको छ ।

ज्येष्ठ नागरिकहरू अनुभवका भण्डार हुन् । तिनका अनुभव र अनुभूति वर्तमान पुस्ताको मार्गदर्शन र भविष्यको धरोहर हो । जमानाको जीवित दस्तावेज हुन् वृद्धवृद्धा । तर यतातिर कसैको ध्यान जान सकेको छैन । भौतिक विकासको पछाडि आँखा चिम्लेर कुदेको वर्तमान समाजले ज्येष्ठ नागरिकका अनुभव र अनुभूतिलाई महŒव दिन नसक्दा धेरै कुरा गुम्दै गएको छ र कतिपय कुरा त पुनः फर्केर नआउने गरी लोप भइसकेको पनि छ । मुख्य गरी संस्कृतिको सन्दर्भमा यो कुरा लागू हुन्छ । हाम्रा ज्येष्ठ नागरिकबाट कसरी हाम्रो सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उपाय सिक्न सक्दछौं, यो कुरो पनि सम्मानमा नै निर्भर रहने हो । अबको समयमा ज्येष्ठ नागरिकको सम्मान समाज र देशको धरोहरको रूपमा गर्नु आवश्यक छ । समाज र देश दुवैले ज्येष्ठ नागरिकप्रति सहानुभूति राखेर सांस्कृतिक विकासको वाहकलाई सम्मान दिएर तिनका अनुभव र अनुभूतिलाई महŒव दिंदै प्रकाशन तथा प्रसारण गर्ने हो भने अझै पनि समाजले धेरै कुरो पाउन सक्ने देखिन्छ । उसै पनि भन्ने गरिन्छ, जसले सेवा गर्छ उसले मेवा पनि पाउँछ । ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति भएकाले सबैले सम्मान गर्ने वातावरण बनाउनु सर्वथा उचित देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here