राधेश्याम पटेल, परवानीपुर, १३ भदौ/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग सञ्चालनमा आएका छन् ।
वीरगंज–पथलैया, वीरगंज–पोखरिया, वीरगंज–कलैया क्षेत्रका करीब सात सय ठूला उद्योग र १५ सय साना तथा मझौला उद्योग सञ्चालनमा आएको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ताले कोरोना महामारीका कारण दुर्ई वर्षदेखि चौपट बनेको उद्योग–व्यापार गत असारदेखि पुनः तङ्ग्रिन थालेको बताए । उनले पहिलो र दोस्रो कोरोना लहरको मारमा परेका यस कोरिडोरका उद्योगहरूले उत्पादन घटाएर सञ्चालनमा आएको बताए। अढाई महीनादेखि लकडाउन खुकुलो भएपछि उद्योगधन्दा पुनः पहिलेको लयमा फर्किएको उनले बताए ।
व्यवसायीका अनुसार कोरोनाले सबैभन्दा बढी असर निर्माण सामग्री उत्पादन गर्ने उद्योगलाई पारेको छ । फलाम, सिमेन्ट, जस्तापाता, पाइप, एङ्गल च्यानल, बिमलगायत अन्य उद्योग अहिलेको अवस्थामा घाटाको रोजगार बनेको जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रूँगटाले बताए । उनले दुर्ई वर्षदेखि कोरोनाले ठूला आयोजनाहरू प्रभावित भएको बताए । नेपाल अब फलाम उद्योगमा आत्मनिर्भर बनिसकेको छ । तर बजारमा उत्पादित सामानको माग न्यून हुँदा क्षमताको ४० प्रतिशत मात्र फलाम उत्पादन भइरहेको बताए ।
उनले भने, “सरकारले ठूला आयोजनामा ध्यान दिएको छैन, कतिपय ठूला आयोजना बन्द छन्, कतै बजेट छैन, कतै जनशक्ति छैन, कोरोनाले नयाँ घर, भवन, पुललगायतका काम प्रभावित भएको छ । एकै प्रकृतिका उद्योग थपिएकै छन्, अस्वस्थ प्रतिस्पर्धा बढेकाले सबै उद्योगले मर्का झेल्नुपरेको छ ।”
वीरगंजमा एक दर्जनभन्दा बढी फलाम उद्योग छन् र सबै फाटफुटरूपमा सञ्चालनमा रहेको उनले बताए । वीरगंज–पथलैया कोरिडोरमा जगदम्बा स्टील, जगदम्बा इन्टरप्राइजेज, हुलास स्टील, हामा स्टील, हुलास इफ्रा प्रालि गर्दाैल, हिमाल आयरन प्रालि, नारायणी इस्पात प्रालि, नारायणी स्ट्रिप्स, नारायणी रोलिङ मिल, जगदम्बा समूहको एसएस पाइपलगायतका उद्योगहरू सञ्चालनमा छन् ।
वीउवासङ्घ पूर्वअध्यक्ष अशोक बैदले सिमेन्ट व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको कारण सिमेन्ट उद्योगले महामारीको समयमा निकै चुनौती खेप्नुपरेको बताए । उनले नेपालमा उत्पादित सिमेन्टलाई निर्यात गर्ने कानून बनाएर नेपाली उद्योगलाई सरकारले सघाउनुपर्ने सुझाव दिए ।
“विकास निर्माणको तुलनामा बर्सेनि स्वदेशी उद्योगको सिमेन्ट उत्पादन क्षमता बढेकै छ, बजारमा खपत र माग कम छ,” उनले भने, “करीब १४ वटा उद्योगले ४५ प्रतिशतको हाराहारीमा उत्पादन गरिरहेका छन् ।”
विश्वकर्मा, नारायणी, शुभश्री जगदम्बा, कलश, ओम, अम्बे, रिलायन्स, शालिमार, युनाइटेड सिमेन्ट उद्योग आंशिकरूपमा सञ्चालनमा रहेको बैदले बताए ।
यस कोरिडोरमा सञ्चालित कपडा उद्योगले उत्पादन कटौती गरेर उद्योग चलाइरहेका छन् । नोबेल टेक्सटाइल्सका सञ्चालक रमेश गाडियाले सरकारी नीति र कोरोनाले दुर्ई वर्ष उद्योगधन्दा थला परेको बताए । वीरगंजमा करीब एक दर्जनभन्दा बढी ठूला र ५० भन्दा बढी साना/मझौला कपडा उद्योग सञ्चालनमा रहेको र अधिकांशले ३० प्रतिशतको हाराहारीमा उत्पादन गरिरहेको गाडियाले बताए ।
कोरोना महामारीमा दुई वर्ष उद्योगधन्दा चौपट भएको बेलामा सरकारले दिंदै आएको बिजुली महसूलमा ५० प्रतिशत अनुदान गत आवदेखि खारेज गरी शतप्रतिशत महसूल असुलेकोमा उनले गुनासो गरे ।
“सरकारले कपडा उद्योगलाई रुग्ण उद्योग भन्छ तर दिंदै आएको सुविधा पनि खोसेको छ,” उनले भने, “अब कपडा उद्योगको उत्पादन महँगो हुन्छ ।” उनले जग्गाको भाउ १५ वर्षमा २० प्रतिशतले वृद्धि भएकोले पनि नयाँ उद्योग स्थापना गर्न वीरगंजका उद्योगी हिचकिचाएको बताए।
पहिलो कोरोनाकालमा सीमा बन्द हुँदा यहाँका उद्योगले राम्रो बजार पाएको भएपनि सीमा खुकुलो भएपछि भारतबाट कपडा तस्करी हुँदा स्वदेशी कपडाको खपत कम भएको गाडियाले बताए ।
वीरगंज होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले वीरगंज, कलैया, पथलैया, अमगेखगंज र निजगढ क्षेत्रका होटल व्यवसाय पहिलेको लयमा फर्किन नसकेको बताए । नेपाली होटल तथा पर्यटन व्यवसाय भारतीय पर्यटकमाथि निर्भर रहेकोले घरभाडा, कर्मचारी तलब, बिजुली/सञ्चालन खर्चसमेत निकाल्न मुस्किल भइरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले प्रदेश २ मा करीब चार हजार उद्योग रहेको र त्यसमध्ये ८० प्रतिशत बारा/पर्सा क्षेत्रमैं रहेको बताए । उनले उत्पादनमुखीभन्दा सेवामुखी उद्योगको लगानी जोखिममा परेको बताए । होटल व्यवसाय त्यसको उदाहरण रहेको उनले बताए ।
खाद्यान्न र औषधि उद्योग मालामाल
कोरोनाकालमा वीरगंज कोरिडोरका खाद्यान्न तथा औषधि उद्योग भने प्रभावित भएनन् । तेल, दाल, चामल, पीठो, बिस्कुट, ग्याँस, अक्सिजन उद्योगको व्यवसाय यस अवधिमा प्रभावित भएन र उनीहरूले पहिलेभन्दा बढी आम्दानी गरेका छन् ।
वीरगंज नाकाबाट चालू आवको साउनमा साढे ६ अर्ब रुपैयाँको प्रशोधित तेल निकासी भएको वीरगंज भन्सारको तथ्याङ्कले देखाउँछ । जुन अघिल्लो आव २०७७/७८ भन्दा २८७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
चालू आवको साउनमा ५ अर्ब ७८ करोड २५ लाख ११ हजार मूल्यबराबरको २ करोड ५२ लाख ९ हजार ६ सय ४४ किलो सोयाबिन तेल भारतको बिहार, उत्तर प्रदेश, मध्यप्रदेश, दिल्लीलगायतका ठाउँमा निकासी भएको छ । जबकि गत आवको सोही अवधिमा १ अर्ब ४९ करोड ३९ लाख ९२ हजार मूल्यबराबरको १ करोड ८ लाख ७६ हजार १७३ किलो सोयाबिन तेल निकासी भएको थियो ।
त्यसैगरी, चालू आवमा ६५ करोड ४४ लाख मूल्यबराबरको ३३ लाख ८ हजार ८८१ किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको छ । गत आवको साउनमा जम्मा ५० लाख ९७ हजारको ३५ हजार ७९० किलो मात्र उक्त तेल भारत निकासी भएको थियो ।
सूर्यमुखी तेलको निकासी गत आवको तुलनामा ठूलो परिमाणले वृद्धि भएको छ । अगस्तदेखि डिसेम्बरसम्म भारत सरकारले प्रशोधित पाम तेलको निकासी खोलेपछि यस क्षेत्रका १४ वटा उद्योग विदेशबाट पाम तेलको कच्चा तेल आयात गरी निकासी गरेका थिए ।
निम्बसको प्रोबायोटेक इन्डस्ट्रिज प्रालिले प्रशोधित तेल भारत निकासी गर्दैन । उसले स्वदेशी बजारमैं आफ्नो तेल खपाउने गरेको छ । पशुपक्षीको आहारा दाना, मस्यौरा, पीठो पनि उत्पादन गर्दै आएको छ ।
रूँगटा समूहको ओम चावो बिरो, ओसिबी फूड्स एन्ड फिड्सले चामल, दाल, तेललगायतको उत्पादन गर्छ । चाचान समूहको नारायणी पल्सेस प्रालिले दाल उत्पादन गर्छ भने नारायणी आयल रिफाइनरीले तेल उत्पादन गर्छ । त्यसैगरी, सुशील वनस्पति उद्योग, त्रिवेणी समूहको महालक्ष्मी सोल्भेन्ट, अन्नपूर्ण भेजिटेबल्स एन्ड सोप प्रालि, त्रिवेणी दाल एन्ड आयल, गणपति, नन्दन, शिवशक्ति, मुक्ति आयललगायतले तेल, खाद्यान्न उत्पादन गर्छन् ।
कोरोनाकालमा भने औषधि उद्योगले राम्रो आम्दानी गरेको छ । सेनिटाइजर उत्पादनलाई प्राथमिकतामा राखेर औषधि उद्योगले मनग्य आम्दानी गरेको वीउवासङ्घका उपाध्यक्ष माधव राजपालले बताए । नेशनल हेल्थकेयरले कोरोनामा रेमडेसिभिर इन्जेक्शन उत्पादन थालेको छ भने अन्यले अनुसन्धान गरिरहेका छन् । वीरगंज करिडोरमा नेपाल, क्वेस्ट, एपेक्स, जिडी फर्मास्युटिकल्स, हिमालय प्यारेन्ट्रिल, म्याग्नस, प्राइमो, सुप्रिम, आर्यालगायत औषधि उद्योगहरू सञ्चालनमा छन् ।
बहुराष्ट्रिय उद्योग सूर्य नेपाल, डाबर नेपाल, ब्रिटानिया नेपाल, कन्साई नेरोलेक पेन्ट उत्पादन गर्ने केएनपी, मदिरा उद्योग हिमालय डिस्टिलरी प्रालि पनि पूर्णरूपमा सञ्चालनमा छन् ।
औद्योगिक कोरिडोरमा रहेका उद्योगका सञ्चालकहरूले सरकारसँग कोरोना खोप माग गरेका छन्। सबै मजदूरले खोप पाएपछि उद्योगको उत्पादन पनि बढ्ने उनीहरूको भनाइ छ ।