कथा

  • नूतनदेव

अस्ति मात्र हो, घरखर्चका लागि पाँच हजार दिएको । घरखर्च वा अन्य कामका लागि पैसा दिएर हिसाब माग्ने उसको बानी थिएन । तर उसलाई थाहा हुन्थ्यो, दिएको प्रत्येक किस्ताको पैसामध्ये केही न केही जोगाइन्छ । खुशी पनि हुन्थ्यो, त्यो पैसा कुनै दिन आफ्नै काम आउँला भनेर ।

तर एक दिन ऊ निराशाको हदमा पुग्न बाध्य भयो । उसलाई स्वास्थ्य परीक्षणका लागि केही रुपियाँ चाहिएको थियो । उसले पत्नीसँग माग्यो– उनको सदाझैं उत्तर आयो– मेरो कमाइ छ र दिउँ । कुरा सत्य हो, उनको कुनै कमाइ थिएन । बिहे गरेर भिœयाइएदेखि उनले विशुद्ध गृहिणी भएर जीवन बिताएकी थिइन् । तर साँच्नेले जुन पनि परिस्थितिमा साँच्छ । ऊ त भुक्तभोगी नै थियो, जान्दथ्यो, कमाइ नभए पनि पत्नीसँग सधैं आफूभन्दा बढी रकम हुन्छ भनेर । धेरैपटक यस कुराको प्रमाण पनि पाएको थियो ।

उनको त्यस जवाफले उसको मथिङ्गल मात्र रिङाएन, सम्पूर्ण वस्तु–परिस्थितिको सिंहावलोकन गर्न कर लगायो । ती सङ्घर्षका दिनहरू उसले बिर्सेको थिएन । जीवनको प्रारम्भिक जीवन निकै कष्टकर, सङ्घर्षपूर्ण थियो । त्यसमा पत्नीले पनि राम्रै साथ दिएको हो । त्यसैले दशैंमा एउटा गतिलो सारी पत्नीलाई दिन ऊ छटपटिन्थ्यो र महीना दिनअघिदेखि कहाँ, कसबाट पैसाको जोहो हुन सक्छ, विचार पु¥याइरहन्थ्यो । त्यसको जोरजाम गर्न भोग्नुपरेको सकसको ऊ एक्लो साक्षी थियो । आफ्ना दुःख ऊ कसैसँग साझा गर्दैनथ्यो ।

त्यो समयको पनि सम्झना भयो, जब शिशुहरूका लागि आमाको दूध अपर्याप्त भएपछि बजारबाट पाउडर दूध किन्नुपथ्र्यो । पैसा त कमाएजति साँझ बिहानको खर्च टार्नै अपुग हुन्थ्यो। त्यस्तोमा दूध किन्नु ठूलो पुरुषार्थको कुरा थियो । तिनताक भारतबाट आउने पाउडर दूधको पनि कालाबजारी हुने गर्दथ्यो । १६ रुपियाँ डब्बा पर्ने दूध १८/२० मा किन्नुपर्दथ्यो । दूधको पनि दुई किसिम थियो । एउटाको आधिकारिक मूल्य १६, अर्कोको २२ । रु २२ पर्ने दूध किन्न पाएको बेला उसमा शूरवीरको भाव जाग्रत हुन्थ्यो ।

जाबो छ रुपियाँ कम भएको दूध किन्न त उसका लागि महीनाभर चिन्तित हुनुपर्दथ्यो भने ठूलो रकमको दूध किन्न पाउँदा आफूलाई साँच्ची नै भाग्यमानी ठान्दथ्यो । तर कम मूल्यको दूध खुवाउनुपर्दा सधैं मुटु चुँडिएको अनुभव गर्ने उसका शिशुहरू आज अजङ्गका पहलवान भइसकेका थिए । कमाइ पनि राम्रै थियो । तिनका लागि स्वास्थ्य परीक्षण गराउन रकम दिनु सामान्य कुरा थियो । तर मानिस भन्छन् नि मानिस आफ्नै कारणले दुःख पाउँछ । उसलाई सन्तानहरूसँग पैसा माग्न जहिले पनि हीनताबोध हुन्थ्यो । जसलाई जीवनभरि आफूले दिएर हुर्कायो, उसैसँग माग्नुलाई उसले मनोवैज्ञानिक आपत्तिको रूपमा बुझेको थियो ।

यसो पनि होइन कि उसले सम्पत्ति कमाएको थिएन । आफ्नो हैसियत अनुसार मनग्गे कमाएको थियो । तर पैसाप्रति उसको दुराग्रह थियो । पैसा उसको हातमा टिक्दैनथ्यो । मानिस भन्छन्, दुःखजिलो जीवन बिताएको मानिसमा सम्पत्तिप्रति मोह हुन्छ, हतपती पैसा खर्च गर्दैन। तर ऊ यस सूत्रको विपरीत थियो । पैसा उसको हातमा टिक्दैनथ्यो । यस कारण होइन कि उसमा कुनै दुव्र्यसन थियो, तर पैसा हातमा आयो कि हात चिलाउन थाल्थ्यो । खर्च गर्नैपर्ने। कहिले चाहिंदो काममा र धेरैजसो नचाहिने काममा भएपनि । उसको सोच थियो, मैले खर्च गरिनँ भने अरूको हातमा पैसा पर्दैन ।

समाजमा धनको समान वितरण हुन पाउँदैन । देशमा आर्थिक क्रियाकलाप चलायमान हुँदैन । त्यसैले जहिले पनि उसको हात टकमटक रहन्थ्यो । सम्पत्ति सबै पत्नीको नाममा थियो । सम्पन्न सन्तानहरूको त्यसमा दृष्टि थियो र पत्नीको लागि आफू सबल भएको मनोवैज्ञानिक प्रमाण । सम्पत्ति बेच्ने कुरा कति अवसरमा नउठेको होइन । तर समर्थनमा कसैका हात उठ्दैनथ्यो ।

सम्पत्ति बेचिहाल्नुपर्ने अवस्था त थिएन, तर थप काम गर्नका लागि पूँजी आवश्यक हुन्छ । पूँजीको जोहो गर्ने कुनै उपाय थिएन । अनि बेलाबेला कुरा उठ्ने गर्दथ्यो । पछि उसले थाहा पायो, उसले मर्ने धम्की दिए पनि सम्पत्ति बेचिनेछैन । धम्कीको कुरा पछि, असाध्य रोगले पीडित भएपनि त्यो सम्पत्ति उसका लागि उपयोगी हुने कुरामा उसलाई विश्वास लाग्न छाडिसकेको थियो ।

कुनै समय आफ्नो शैक्ष्Fिक जीवनमा उसले अर्थशास्त्र पढेको थियो । पढेको मात्र थियो, अर्थशास्त्रको सिद्धान्तलाई आफैंले व्यवहृत गर्न भने सकेको थिएन वा जान्न चाहेको थिएन । त्यसैले सम्पत्ति पत्नीको नाममा र आर्थिक अधिकार सन्तानको नाममा गरिदिएको थियो ।

ऊ अहिले जीवनको चौथो उत्तरार्धमा थियो । म गर्छु, गर्न सक्छु भन्ने कुराको पनि कसैलाई विश्वास दिलाउन अक्षम भइसकेको थियो । यद्यपि उसमा उत्कट साहस र प्रयत्नशीलता थियो । ऊ केही काम गर्न चाहन्थ्यो, जसले आफ्नो अबको खर्च आफैं टार्न सकोस् । उसको कमाइ पटक्कै थिएन भन्ने पनि होइन । आज पनि झन्डै अर्धशतकको हाराहारीमा महीनाको कमाइ थियो । तर खर्च गर्ने बानीले गर्दा जहिले पनि आर्थिक तङ्गी हाबी रहन्थ्यो । स्थिर आमदानी थियो । बढी मेहनत गरेर बढी आय हुने अवस्था थिएन । त्यसैले बढी आयका लागि अन्य व्यवसाय गर्न चाहन्थ्यो तर आर्थिक अभावले गर्न दिइरहेको थिएन ।

यस्ता मानिस हठी हुन्छन् । उसलाई अर्थशास्त्रको एउटा सिद्धान्तको सम्झना भयो । उपयोगिता ¥हासको सिद्धान्त । हिजो ऊ परिवारका लागि सबैथोक थियो । उसको इशारामा सबै, जे पनि गर्न तयार रहन्थे । आज उसको स्वास्थ्य जाँचको लागि केही रुपियाँ दिन कोही तयार छैन । पैसा नभएर होइन, पत्नीसँग नै त्यति पैसा दिन सक्ने क्षमता जहिले पनि हुन्छ । कहिलेकाहीं आलमारीमा पत्नीको पर्समा अनायास आँखा पुग्थ्यो । कहिले पनि त्यो रित्तो मात्र होइन, उसले सोचेभन्दा बढी रकम ठसाठस भरिएको पाउँथ्यो । तर आफूले थाहा पाएको कुराको भेउ लाग्न दिंदैनथ्यो ।

यी सब कुराले उसमा निराशा आएको थियो भन्ने पनि होइन । उसमा गजबको जीवटता थियो । जहिले पनि टिभीहरूमा जनावरहरूको जीवनचक्र हेर्दा उसलाई जीवनबारे बुझ्ने फराकिलो दृष्टिकोण प्राप्त हुन्थ्यो । कसरी साथीसङ्गीको उपयोगिता समाप्त हुँदै जाँदा उनीहरू उसलाई निर्दयतापूर्वक मर्न छाडेर आफू अघि बढ्दथे । मानिस पनि त पशु नै हो । शिक्षा, सभ्यता, कानून, नैतिकता, धार्मिक आग्रहले गर्दा मात्र मानिस त्यति कठोर हुन नसकेको हो, अन्तर्मनमा त मानिस र पशुको प्रवृत्ति उपयोगिताको सिद्धान्तमा नै अडेको रहेछ । जनावर बलले श्रेष्ठ हुन्छ, मानिस धनसम्पत्तिले श्रेष्ठ हुन खोज्छ । यस्तो नभइदिएको भए एउटी पत्नी जससँग पतिले कमाएको सम्पत्ति छ, दिनका लागि किन अन्काउँछे…?

उसले अब आफ्नो आवश्यकताका लागि सकेसम्म कसैसँग नमाग्ने निधो नै गरिसकेको थियो । तर उसको खर्च गर्ने बानी भने यथावत् थियो । उसको सोच थियो, जीवन यस्तै हो भने आफ्नै मूल्यमा किन नबाँच्ने ? मृत्युसँग केको डर ? मृत्युबाट आजसम्म कोही पनि जोगिन सकेको छैन । धनी पनि मरेकै छ, गरीब पनि मरेकै छ । राजा, जोसँग अपार साधन छ, ऊ त बाँच्न सकेको छैन, बरु सामान्य मानिसभन्दा थोरै बाँच्दछ ।

म एउटा सामान्य मानिस, जसले शतायु सिद्धान्त अनुसार तीन चौथाइ जीवन भोगिसकेको छ, उसलाई केको पीर ? तर उसलाई केही दीर्घरोग पनि थियो । त्यसमा एउटा असाध्य रोग थपिन पुगेको थियो । उसले त्यसपछि कुनै पनि रोगको परीक्षणका लागि पहल गरेन । यो नयाँ रोगले उसलाई थला पार्दै लगेको थियो । ज्वरो निकै नहुने । घरपरिवारलाई यस कुराको खासै चिन्ता थिएन । रोगले कहिले खाने कहिले नखाने गर्दा कमजोर शरीरलाई डाइटिङ गरेको भनेर खिसी गर्नु परिवारमा सबैको बानी परिसकेको थियो ।

एक दिन उसको एकजना पुराना मित्र, जो अब प्रसिद्ध चिकित्सक भइसकेको थियो, एउटा कार्यक्रममा भेट भयो । उसले स्वास्थ्य अवस्थाबारे सोधेको थियो । उनले बुढेसकालमा शरीर स्वस्थ राख्न खानपिन घटाएको भनेको थियो । चिकित्सकको आँखाबाट यद्यपि उसको रोग छिप्न सकेको थिएन । उसले कुरैकुरामा रोगको निदान पनि गरिसकेको थियो र रोग बल्झिसकेर अब उपचारको हद पार गरेको बुझिसकेको थियो । चिकित्सकले उसको घर आएर परिवारसँग कुरा गर्ने मनसाय व्यक्त गरेको थियो । तर उसले निहँु पारेर यो कुरा पछिको लागि भनी टारिदिएको थियो ।

त्यसको केही दिनपछि बिहान उसलाई नराम्ररी खोकी आयो । खोकीमा रगतको केही छिटा पनि थियो । उसलाई कुनै बिस्मात् लागेन । ऊ खुशी थियो, बाथरूम पस्यो र एक्कासि ढल्यो ।
लडेको आवाज सुनेर पत्नी कुद्दै बाथरूम पसी । त्यतिन्जेल उसले उपयोगिता ¥हासको अर्थशास्त्रको सिद्धान्त परिपालना गरिसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here