‘शिक्षक नरम र विद्यार्थी अनुशासित हुनुपर्छ’ –मुरलीधर प्रसाद

1
490
  • राजेश मिश्र

‘जहाँ चाह, वहाँ राह’ प्रसिद्ध हिन्दी लोकोक्तिको अर्थ हो– जहाँ चाहना हुन्छ, त्यहाँ बाटो पनि प्रशस्त हुन्छ । उनलाई पढ्ने इच्छा थियो । तर बाधक थियो, आर्थिक विपन्नता । यद्यपि आफ्नो गुरुजीबाट प्रोत्साहन पाएपछि उनले प्रयत्न गरे । छात्रवृति पाए ।

क्याम्पस पुग्नको लागि झन्डै दुई महीनासम्म ३५ किमीको दूरी हिंडेर दैनिक ओहोरदोहोर गरे । गाउँबाट बिहान ५ बजे हिंडेपछि १० बजे क्याम्पस पुग्थे । कक्षा सकेपछि साँझ ४ बजे फर्किंदा उनी राति ७/८ बजेसम्म धोरे आइपुग्थे । नौ कक्षामा हुँदा विवाह भइसकेको थियो । यद्यपि उनको दृढ इच्छाशक्तिको अगाडि सबै बाधा नतमस्तक भए । तर कसरी ?

एसएलसीपछि उनले कखरा सिकेको गाउँको विद्यालयमा केही महीना पढाउने मौका पाए । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट आइएड (इन्टरमिडियट इन एडुकेशन)को पढाइ सकेपछि चितवन हानिए । चितवनको एक विद्यालयमा ६ महीना परीक्षणकालमा रहने गरी अस्थायी नियुक्ति पाए । पढाउन थालेको दुई महीना नबित्दै शिक्षकमा भर्ना खुल्यो । फाराम भरे । परीक्षा दिए । उत्तीर्ण भए । विसं २०२८ सालमा चितवन जिल्लाको जयमङ्गला माविमा निम्न माध्यमिक तहको स्थायी शिक्षक भएर पढाउन थाले ।

गृह जिल्ला पर्साको तत्कालीन जिल्ला उचाङ्गल मावि पोखरियामा जिल्लान्तर सरुवा भएर विसं २०३३ सालमा आए । झन्डै १० वर्षअघि सेवानिवृत्त भए । निमावि तह अर्थात् कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी विषय पढाउँथे । शिक्षक पेशामा रहेसम्म उनले हजारौं विद्यार्थीमा अङ्ग्रेजीको ज्ञान अङ्कुरित गरे । उहिले पर्साको ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक गन्तव्य पोखरिया नै थियो । उनी फुसको घर भाडामा लिएर बस्थे ।

अभिभावकहरू आफ्ना बच्चालाई उनकै सानिध्यमा राख्न रुचाउँथे । थुप्रै विद्यार्थी उनीसँगै बस्थे । उनका थुप्रै शिष्य चिकित्सक, इन्जिनीयर, शिक्षक, निजामती सेवालगायत विभिन्न क्षेत्रमा छन् ।

यसबाहेक फुर्सतको समय तरकारी बारीमा व्यतीत गर्थे । बिहान र बेलुका केही समय ट्युशन पढाउँथें भने बाँकी समय मौसम अनुसारकोे तरकारीखेती पोखरियामा गर्थे । प्रायः उनी भजनको राग अलाप्दै बारीमा काम गरिरहन्थे । पहिरनमा कुर्ता–मर्दानी तथा काँधमा गम्छा राखेर विद्यालयको लागि प्रस्थान गर्दथे ।

एक मिनट पनि समय खेर नफाल्ने प्रकृतिका उनी ‘सादा जीवन उच्च विचार’का व्यक्तित्व हुन् । बाल्यकालदेखि नै धर्मकर्ममा विशेष रुचिका कारण अहिले उनको सेवानिवृत्त जीवन पुस्तक अध्ययन तथा धार्मिक कर्ममा समर्पित छ । अहिले जन्मथलो धोरेमा परिवारसँग आनन्दमय जीवन बितिरहेको उनी बताउँछन् ।

उनी हुन् पर्साको पकहामैनपुर गापा वडा नं १ धोरेका सेवानिवृत्त शिक्षक मुरलीधर प्रसाद । उनका हजारौं शिष्यमध्ये यो स्तम्भकार पनि एकजना हो । म गुरुजीको जन्मथलो पर्साको धोरे पुगेें । झन्डै तीन घण्टा कुराकानी भयो । बाल्यकालदेखि अहिलेसम्मको उनको अनुभव तथा अहिलेको शिक्षाको अवस्थालगायतका विविध जिज्ञासामा उनीसँग संवाद भयो ।

मदनमोहन कदम निचे, खडे बन्सी बजाते हैं,
कभी हाथी, कभी घोडे, कभी पैदल दबाते हैं ।
कभी हलवा, कभी पुडी, कभी चना चबाते हैं ।
कभी तोषक, कभी तकिया, कभी भुँइया लोटाते हैं ।

समय सधैं एकनाशको हुँदैन । बाटो हिंडिरहँदा कच्ची र पक्की, हिलो र धूलो आदि भेटे जस्तै जीवनकालमा अनुकूल र प्रतिकूल समय नआउने होइन । रामायण, गीता तथा महाभारत जस्ता धर्मग्रन्थहरूमा ज्ञानको असीमित भण्डार छ । धार्मिक पुस्तक तथा प्रकृतिले मानवलाई धेरै कुरा सिकाउँदो रहेछ । तर आज ज्ञानगुनका कुराभन्दा पनि मानवीय गतिविधि राजनीतिक वा व्यापारमुखी कर्तव्यमा बढी आकर्षित छ । त्यसैले २१औं शताब्दीमा सामाजिक सम्बन्ध नाफा र नोक्सानको तराजुमा मापन भइरहेको छ ।

यस कारण पढाइमा रुचि बढ्यो

आमा (स्व तेतरी देवी) निरक्षर थिइन् । बुबा (स्व कोदई साह सोनार) केवल हस्ताक्षर गर्न सक्थे । बुबा खेतीपाती तथा आमा घरसारको काम सम्हाल्थे । बुबासँग खेतबारीमा गइरहँदा खेतीपातीसम्बन्धी ज्ञान उनैबाट हासिल भयो ।

एकपटक बुबा बिहान खेततर्फ जाँदै गर्दा अ¥हाए, “बबुओ, हम खेत में जातानी, कडा घाम बा, ओहिसे २ घण्टा के बाद मिठा (गुड) आ पानी ले के अइहे ।” अर्थात् ‘बाबु, म खेतमा काम गर्न जाँदैछु । कडा घाम छ । त्यसैले २ घण्टापछि गुड र पानी लिएर आउनु ।’ बुबाको आदेशानुसार गुड र पानी लिएर खेतमा पुगें । तिर्खाएका बुबाले गुड र पानी खाँदै तिर्खा मेटाइरहेका थिए । बुबाको आँखा छलेर मैले हलो चलाउन थालें । “छोरो अहिले तिमी सानो छौं, चोटपटक लाग्न सक्छ,” भन्दै बुबाले नजीक पुगेर भने, “छोरा हामी किसान हौं । खेतीपाती र हलो–कोदालो पनि सिक्नै पर्छ । यद्यपि म चाहन्छु मेरापछिका पुस्ताहरू अब शिक्षार्जनतर्फ बढी ध्यान दिनुपर्छ । के हामी सधैं हलो कोदालो नै चलाइरहने ?”

हुनत ठूल्दाइसँग म पनि विद्यालय जान्थें । तर उहिलेको समाजमा सन्तानलाई केवल साक्षर बनाउनुपर्छ भन्ने थियो । किनभने कसैले हिसाबकिताबमा झुक्याउन नसकोस् । शिक्षा हासिल गरेपछि चेतनाको विकास र व्यक्तित्व विकासका साथै सरकारी/निजी जागीर गर्न समेत सक्षम भइन्छ भन्ने कुरा अपवादबाहेक देहाती समाज अनजान थियो ।

आजको जस्तो न त बृहत्तर शिक्षा उपलब्ध थियो, न त शिक्षाको आवश्यकता ठानिन्थ्यो । “के हामी सधैं हलो–कोदालो नै चलाइरहने ?” बुबाको मुखारबाट निस्केको यो शब्दले पढाइप्रति म समर्पित भएँ । पढाइप्रति अटुट रुचिका कारण आर्थिक समस्या र वैवाहिक जीवन बाधक हुन सकेन ।

यही सेरोफेरोमा एक दोहा पनि छ, “जापर जाकर सत्य सनेहु, सो तेहिं मिलत, न कछु सन्देहु।” यस पङ्क्तिको अर्थ हो, सत्यनिष्ठाका साथ यदि अन्तर्रात्मादेखि नै कुनै विषयमा लगाव हुन्छ भने त्यहाँ जुनसुकै रूपमा पनि कसैको प्रोत्साहन/सानिध्य वा छात्रवृत्ति जस्ता थुप्रै माध्यमको ओत प्राप्त हुन्छ । जस्तै मलाई पढाएका गुरुको प्रोत्साहन र सरकारी छात्रवृत्तिको सहयोगले मैले आइएड पढ्न पाएँ । शिक्षक बन्न सकें ।

शिक्षक हात्तीमा चढेर आउँथे

गाउँको विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरेपछि पकहामैनपुर अवस्थित रामचरित माविमा नाम लेखाएँ । यस विद्यालयमा शिक्षकको अभाव थियो । यस विद्यालयका संस्थापक रामचरित भगतले वीरगंजको रात्रि क्याम्पसमा पढाउने शिक्षक ईश्वरीप्रसाद सिंहसँग सम्पर्क गरे । दिनमा रामचरित माविमा पढाउनको लागि अनुरोध गरे ।

एकातर्फ शिक्षक सिंहलाई वीरगंज देखि पकहामैनपुर दैनिक आउन जान समस्या थियो । अर्कोतर्फ विद्यालयमा शिक्षकको आवश्यकता थियो । एकअर्कालाई सहयोग गर्ने वाचासहित सहमति भयो । शिक्षक सिंह वीरगंजदेखि सीमावर्ती रक्सौल र त्यहाँबाट रेल चढेर भेलवा स्टेशन आइपुग्थे । टे«न आउनुभन्दा अगावै भेलवा स्टेशनमा हात्ती पुगिसकेको हुन्थ्यो । भेलवादेखि विद्यालयसम्म हात्तीमा सवार भएर शिक्षक सिंह आउँथे । ट्रेनको तालिका अनुसार दिउँसो हात्ती चढेर पुनः भेवला रेलवे स्टेशन फर्किन्थे ।

त्यसपछि भेलवाबाट रक्सौल हुँदै वीरगंंज पुग्थे । विद्यालयको पठनपाठनमा शिक्षक सिंहको योगदान थियो । आठ कक्षा प्रथम श्रेणीले उत्तीर्ण गरें । विद्यालयमा शिक्षकको अभाव त थियो नै शिक्षक पाउनु पनि उति सजिलो थिएन । अन्ततः मैले त्यति बेलाको चर्चित सीमावर्ती सिकटा बजारमा अवस्थित जनता उच्च माविमा नाम लेखाएँ । त्यति बेला माध्यमिक तह कक्षा ११ सम्म पढ्नुपथ्र्यो । सिकटाबाट कक्षा ११ अर्थात् एसएलसी उत्तीर्ण गरें ।

जिम्मेवारी बोध

खेतमा हुने उब्जनीले वर्षभरिलाई खान पुग्दैन थियो । आर्थिक अवस्था कमजोर हुनेले शहरमा बसेर पढ्ने सपना देख्नु पनि गा¥हो थियो । रामचरित माविमा मलाई पढाएका मेरा गुरु शिक्षक जगरनाथप्रसाद कुर्मीले मलाई प्रोत्साहित गरे । छात्रवृत्ति पाइन्छ भन्दै फाराम भर्न जोड दिए । उतिबेला ठाकुर राममा पढ्ने सम्पूर्ण विद्यार्थीले रु ७० प्रतिमहीना छात्रवृत्ति पाउँथे ।

तर होस्टेलमा बस्नको लागि प्रवेश परीक्षा दिनुपथ्र्यो । उत्तीर्ण हुनेले होस्टेलमा बस्नको लागि रु ६० प्रतिमहीना बुझाउनुपथ्र्यो । प्रवेश परीक्षामा पहिलो नम्बरमा मेरो नाम आयो । छात्रवृत्तिको रकम तत्कालै पाउँदैनथियो । पढाइ शुरू भएको केही महीनापछि मात्र छात्रवृत्ति रकम पाउन शुरू हुन्थ्यो । त्यस कारण साउन र भदौ गरी वर्षात्का दुई महीना धोरेदेखि वीरगंज झन्डै ३५ किमी दैनिक ओहोरदोहोर गरें ।

असोज महीनामा पहिलो महीनाको छात्रवृत्ति पाएँ । रु ६० होस्टेलमा बुझाएपछि रु १० ले पुस्तक र खाना आदि आवश्यकता कसरी पूरा गर्ने ? भन्ने तनाव थियो । होस्टेल नपाएका चिनजानका विद्यार्थी साथीहरूले आफूहरूसँगै मलाई पनि डेरामा राख्न रुचि देखाए । साथीहरूले कोठाभाडाबापत बरु आफूहरूलाई पढाइ दिने जिज्ञासा राखे । मसँग पैसाको अभाव थियो । उनीहरूलाई मसँग पढाइमा सहयोगको अपेक्षा थियो ।

‘रोगिया के भावे, उ वैदा फुर्मावे’ अर्थात् चाहनाबमोजिम इच्छापूर्ति हुनु । निश्शुल्क कतै बस्न पाइयो भने छात्रवृत्तिको रकम बचत हुन्थ्यो र म पढ्न सक्थें भन्ने मेरो चाहना थियो । दैवको लीला नै भन्नुपर्छ । मेरा अपेक्षा साथीहरूले पूरा गरिदिए । म साथीहरूसँग बसें । यसरी अभिभावकलाई पनि आर्थिक भार परेन । रु ७० ले एक महीनाको खाना र पढाइको खर्च पूरा हुन्थ्यो ।

ग्लानि छैन, सन्तुष्ट छु

चितवन जिल्ला बस्ने एक परिचितलाई पत्रिकामार्फत मैले आइएड उत्तीर्ण गरेको कुरा जानकारी भइसकेको थियो । उनले मलाई उच्च शिक्षाका लागि सुझाव दिन चाहन्थे । तर न त हामी नजीक थियौं, न त कुरा गर्ने कुनै द्रुत माध्यम थियो । अन्ततः उनले हुलाकमार्फत पत्र पठाए । पत्रमा हालखबर सोध्नुका साथै ‘मुरली, तिमी काठमाडौं जाऊ ।

बिएड गर’ उल्लेख थियो । अझै पढ्ने मनमा इच्छा थियो । तर परिवारको आर्थिक अवस्था भनेको भोजपुरी एक उखान जस्तै थियो, ‘माड घोंटाए ना, पिठा ढकेल ।’ अर्थात् घाँटीबाट तरल पदार्थ छिर्न सम्भव नरहेको अवस्थामा पीठो कसरी निल्नु ? वीरगंज बसेर पढ्ने आर्थिक हैसियत नभएको विद्यार्थीले काठमाडौंको बारेमा कसरी सोच्न सक्छ ? निर्धन केटो गाउँबाट आएर वीरगंज पढ्नु नै मेरो जीवनको सबैभन्दा महŒवपूर्ण पल थियो । छात्रवृत्ति नपाएको भए शायद आइएड पनि पढ्न पाउँथिनँ । तर मैले जति पढें सो अनुसारको सरकारी जागीर पनि पाएँ। कुनै प्रकारको ग्लानि छैन, सन्तुष्ट छु ।

शिक्षा खरीद–बिक्री गर्ने वस्तु होइन

“मैले धेरै पढेको छु, ज्ञान बेच्न सक्छु । म धेरै धनी छु, शिक्षा किन्न सक्छु” भन्ने सोच आजको आधुनिक परिवेशको परिणाम होे । शिक्षा खरीद–बिक्री गर्ने वस्तु होइन । शिक्षकले विद्यार्थीमा शिक्षाको बीउ अङ्कुरित गर्नु वा विद्यार्थीले शिक्षकबाट शिक्षा ग्रहण गर्नु नितान्तरूपमा दुवै पक्षको घनिष्टता नङ र मासु जस्तै हुनुपर्छ । शिक्षक नरम हुनुपर्छ । विद्यार्थी आज्ञाकारी र अनुशासित हुनुपर्छ । अर्थात् नैतिकरूपमा दुवै पक्ष एकअर्काप्रति समर्पित भए गुणस्तरीय शिक्षा आदानप्रदान हुन सक्छ ।

बेन्जामिन फ्रेन्कलिनले भनेका छन्– धर्मविनाको विज्ञान अन्धो हुन्छ भने विज्ञानविनाको धर्म लङ्गडो हुन्छ । यहीं सेरोफेरोमा हामीकहाँ प्रचलित एउटा कथा धेरैलाई थाहा होला । एकजना अन्धो र एकजना लङ्गडो मानिस थिए । जीवन निर्वाह गर्न दुवैजना अपूरो थिए । एकापसमा विमर्श गरेपछि अन्धोले लङ्गडोलाई पिठयूँमा बोकेर हिंड्थ्यो । लङ्गडोले बाटो देखाउँथ्यो ।

यसरी दुवैजना एकापसमा समाहित भए । दुवैको जीवन सहज भयो । जीवनकालमा किताब वा विज्ञानको ज्ञानले मात्र पुग्दैन । धर्म, संस्कार, संस्कृति, नैतिकता आदिको समेत जीवनकालमा धेरै महŒव छ । त्यसैले बालबालिकाहरूमा धर्म र विज्ञान यी दुईटै पक्षबारे ज्ञान प्रवद्र्धन गर्नु आजको आवश्यकता हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here