सार्वजनिक सडकलाई निजीरूपमा प्रयोग गर्ने विकृति बढेको छ । विशेषगरी नगर क्षेत्रमा जथाभावी सवारी पार्किङ गर्ने, पसल तथा ग्यारेजको सामान राख्ने, निर्माण सामग्री थोपर्ने गरिंदै छ भने ग्रामीण क्षेत्रका सडकमा बिस्कुन सुकाउने, दाउरा–घाँस राख्ने, घरेलु चौपाया बाँध्नेलगायतका विकृति छ । सार्वजनिक सडक यसरी कब्जा गर्दा आपत्विपतको बेला एम्बुलेन्स, वारुणयन्त्रसमेत गुड्ने ठाउँ छैन । वीरगंज महानगरको फूलबारी टोल, रानीघाट, भिस्वाआसपासका सडकहरूमा अहिले मोटरसाइकलसमेत चल्न सक्ने अवस्था छैन । कतै निजी त कतै निर्माण कम्पनीले निर्माण सामग्री थुपारेर सडक अवरुद्ध पारेका छन् । निर्माण कम्पनीहरूमध्येमा पनि महानगरको ठेक्का सकार गरेका ठेकेदारहरूको रवाफ नै भिन्दै छ । उनीहरू महीनौंसम्म सडक ढाकेर ढुङ्गा, गिट्टी, बालुवा तथा निर्माण सामग्री थोपर्छन् । १४ फिट, १६ फिट सडकमा यात्रुलाई सकस हुँदा समेत उनीहरूको ध्यान जाँदैन । महानगरको मुख्य बजार क्षेत्र होस् वा अन्यत्र समस्या उस्तै छ । बाइपास सडक क्षेत्रमा बितेको साता वीरगंज महानगरपालिकाले सडक अतिक्रमण हटाउन अभियान शुरू ग¥यो । सडक अतिक्रमण गरी राखिएका सामग्रीहरू जफत गर्ने महानगरपालिकाको अभियान थियो । हुनत महानगर क्षेत्रमा यस्ता अभियान धेरैपटक चलिसकेको छ । सामाजिक सङ्घसंस्थाहरूले पनि यसलाई प्राथमिकता दिएका छन् । तर अभियान चलुन्जेल पालना हुने र अभियान सकिएपछि जहाँको तहीं पुग्ने गरेको पाइन्छ ।

त्यतिमात्रै होइन, कुनै चाडपर्व वा विवाह, व्रतको बेला सार्वजनिक सडक कब्जा गरेर कार्यक्रम गर्ने चलन छ । कालोपत्रे सडकलाई भत्काएर डोब खन्ने र टेन्टको किल्ला गाड्ने गरिन्छ । कतिपय स्थानमा सडकमैं यज्ञ गरिन्छ । गाउँ या शहर, यसरी सडक कब्जा गर्नुलाई हाम्रो समाजका मानिसहरू आफ्नो ठूलै बहादुरी र शान सम्झन्छन् । नत्र सार्वजनिक सडक कब्जा गरेर कार्यक्रम गर्न लाज लाग्नु पो पर्ने हो । यहाँ त हेल्मेट नलगाएर ट्रफिक प्रहरीको अगाडि मोटरसाइकल कुदाउनु, मास्क नलगाइ बजारमा निस्कनु, विनावर्दी कार्यालय जानुलाई इज्जत सम्झनेहरू छन् ।

यसलाई जनचेतनाको अभाव भन्न मिल्दैन । यो त हेपाहा, अराजक र घमण्डी प्रवृत्ति हो । यस्तो प्रवृत्ति सभ्य, शान्त र मर्यादित समाज निर्माणको बाधक पनि हो । यो अवस्थामा कानून पालना गराउने जिम्मेवार निकाय कहिलेकाहीं निर्मम बन्न सक्नुपर्छ । सडक अवरोधको कारण सवारी दुर्घटना भइरहेका छन् । सडकमा उभ्याएर राखिएका सवारीसाधन वा निर्माण सामग्रीमा आकस्मिक अवस्था एवं रातविरातको समयमा अर्को सवारीसाधन गएर ठोक्किंदा अप्रिय घटनाहरू भइरहेका छन् । निजी प्रयोगको कारण सडकको टिकाउनपन कमजोर भई समयअगावै खाल्डाखुल्डी हुने, भत्कने, बिग्रने गरेका छन् । सडकलाई सधैं अवरोधरहित राख्नु स्थानीय प्रहरी प्रशासनको काम, कर्तव्य र अधिकारभित्र पर्छ । सार्वजनिक सडक निजी प्रयोजनका लागि अवरोध गर्ने जोकसैलाई पनि कडा कारबाईको लागि स्थानीय पालिकाले पनि व्यवस्था गर्नुपर्छ । भएका कतिपय ऐन, कानून, अनुगमन र कारबाईको अभावमा कार्यान्वयन हुन सकेको छैन । यसर्थ सम्बन्धित क्षेत्रको स्थानीय पालिका र प्रहरी प्रशासनबीच समन्वय गरी कानून कार्यान्वयन गराउनु र सडक संरक्षणमा जुट्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here