- अनन्तकुमार लाल दास
कुनै पनि राष्ट्रको निर्माणमा विद्यार्थीहरूको भूमिका अति नै महŒवपूर्ण हुन्छ किनभने आजको विद्यार्थी नै भोलि देशका नागरिक हुन्छन् । युवा वर्गको काँधमा नै राष्ट्र निर्माण र विकासको भार हुन्छ । उनीहरू भित्र शक्तिको अथाह सागर लुकेको हुन्छ । उनीहरूमा असीमित उत्साह हुन्छ । खाँचो उनीहरूको यस शक्तिको उपयोग सिर्जनात्मकरूपमा गरिनु हो अन्यथा उनीहरूले आफ्नो शक्तिलाई तोडफोड र विध्वंसकारी क्रियाकलापमा लगाउन सक्छन् ।
कोरोना महामारीजस्तो सङ्क्रमणकालीन अवस्थामा यदि सही ढङ्गले उनीहरूको व्यवस्थापन गरिएन भने उनीहरूमा नकारात्मक ऊर्जाको सञ्चार हुन्छ जुन स्वयं उनीहरू र देशको हितमा राम्रो हुँदैन । आवश्यक–अनावश्यक मागलाई लिएर उनीहरूको आक्रोश बढिरहेको समाचार दिनहुँ छापामा प्रकाशित भइरहन्छ । यदि विद्यार्थीहरूको यस शक्तिलाई सिर्जनात्मक कार्यमा लगाउन सकियो भने देशको कायापलट हुन सक्छ ।
यहाँ प्रश्न उठ्छ उनीहरूमा असन्तोषको कारण के होला ? उनीहरूले आफ्नो शक्तिको दुरुपयोग किन र कसका लागि गरिरहेका छन् ? यसको पहिलो कारण हो आधुनिक शिक्षा प्रणाली दोषयुक्त हुनु । यस प्रणालीमा विद्यार्थीकोे बौद्धिक विकास नहुनु र विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान नदिनु प्रमुख हो । परिणामस्वरूप बेरोजगारीहरूको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको छ र सँगसँगै उनीहरूमा पलायनवादी सोचको विकास तीव्र गतिले भइरहेको छ ।
यस परिवेशमा विद्यार्थीहरूले जागीरको लागि भौंतारिनु नै छ भन्ने बुझेर अध्ययनप्रति लापरवाह हुँदै जान्छन् । अर्कोतिर विद्यार्थीहरूमा राजनैतिक दलहरूको प्रभावले गर्दा पनि असन्तोष बढ्न थाल्छ । केही स्वार्थी र अवसरवादी राजनीतिज्ञहरूले आफ्नो स्वार्थको लागि विद्यार्थीहरूको प्रयोग गरिरहेका छन् ।
त्यहीं कोरोनाकालमा विद्यालयहरू बन्द रहेका छन् । धेरैजसो विद्यार्थीहरू आर्थिक अभावले गर्दा अनलाइन पढाइ पनि गर्न सकिरहेका छैनन् । यसले गर्दा पनि विद्यार्थीहरू आलसी र परिश्रमबाट भाग्न थालेका छन् र येनकेन प्रकारेण डिग्री पाउने लक्ष्य बनाएका छन् । उनीहरू समाजको हरेक क्षेत्रमा फैलिएको असन्तोषलाई पनि गम्भीरताका साथ अवलोकन गरिरहेका छन् । यो उनीहरूमा असन्तोष बढाउने अर्को प्रमुख कारण हो । यदि समयमैं उनीहरूमाथि ध्यान दिइएन भने आउने दिनमा स्थिति विस्फोटक पनि हुन सक्छ ।
आजको विद्यार्थी जति प्रबुद्ध, कुशल, सक्षम र सीपयुक्त हुन्छ, त्यत्तिकै देशको भविष्य पनि उज्ज्वल हुन्छ । यस दृष्टिकोणले पनि होला उनीहरूको काँधमाथि कैयन दायित्व हुन्छ, जसको निर्वाह गरेर उनीहरूले राष्ट्र निर्माणको दिशामा महŒवपूर्ण योगदान दिन सक्छन् । तर उनीहरूले के हेरिरहेका छन् भने जनतालाई कोरोनाबाट जोगाउन सरकार ठूल्ठूला भाषण र निर्देशन दिइरहेको छ, स्वयं भने राजस्व सङ्कलन गर्न भीड जम्मा गरी कोरोनालाई निम्तो दिइरहेको छ । यस परिवेशमा उनीहरूले पनि त्यही सिकिरहेका छन् र ठूलो भएपछि त्यस्तै गर्छन् भन्ने पनि समस्या टडकारो छ ।
विद्या ग्रहण गर्नु मात्र होइन, हासिल गरेको विद्यालाई समाज र राष्ट्रको लागि उपयोग गर्नु पनि विद्यार्थीबाट अपेक्ष्Fित छ । विद्यालयमा प्राप्त हुने संस्कार नै समाज र राष्ट्रप्रति दायित्व निर्वाह गर्ने प्रेरणा बन्दछ । आज विद्यालयमा हुने राजनीतिक हस्तक्षेपले गर्दा पनि यस प्रकारको प्रेरणा दिन विद्यालयहरू सफल भइरहेका छैनन् । शिक्षा र राजनीति दुवै लिएर विद्यार्थीहरू कसरी अघि बढ्न सक्छन् भन्ने कुरा सोच्दा पनि अजब लाग्छ, किनभने विद्या र राजनीतिको सम्बन्ध परस्पर भिन्न र विपरीत रहेको छ ।
तसर्थ राष्ट्र विकासका लागि समर्पित हुनका लागि पनि विद्यार्थीहरूले आफ्नो दायित्व राम्ररी निर्वाह गर्नुपर्छ । शिक्षाको क्षेत्रमा विशिष्टता हासिल गरेर नै विद्यार्थीहरू राष्ट्र र समाजप्रति राम्ररी कर्तव्य निर्वाह गर्न सक्छन् । अन्यथा उनीहरू न यताका न उताका हुन्छन् । आधुनिक युग विज्ञानको युग हो । आज जुन देशको विकास जति छिटो हुन्छ, त्यो देश त्यतिकै समृद्ध हुन्छ। यस कारण विद्यार्थीहरूको लागि के आवश्यक छ भने आफ्ना लागि नौलो अनुसन्धानको ढोका खोल्नुपर्छ ।
जुनसुकै क्षेत्रमा अध्ययनरत विद्यार्थीले त्यही क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान गर्नुपर्छ । उनीहरूले मानव जीवनलाई बढी सुरक्षित र स्वस्थ बनाउने प्रयास गर्न सक्छन् । इन्जिनीयरिड्ढो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले विविध प्रकारको कलकारखाना र पुलहरूको निर्माण आदिको विकासमा आफ्नो योगदान दिन सक्छन् । तर विडम्बना के छ भने हाम्रो देशको जनशक्ति सरकारी नीतिको फितलोपनाले गर्दा पलायन भइरहेको छ । यस्ता पलायन रोक्न सक्ने विद्यालय र क्याम्पस आज बन्द छन् र सरकारबाट पूर्णतया उपेक्षित पनि छन् । जीवनको लागि परिपक्व ज्ञान अति नै आवश्यक हुन्छ ।
आधा–अधूरो ज्ञानले भ्रमित हुने सम्भावना हुन्छ । यस कारण विद्यार्थीहरूले स्वयंलाई परिपक्व बनाउने प्रयास गर्नुपर्छ । आफ्नो परिवारका अन्य सदस्यहरूलाई ज्ञान सम्पन्न बनाउन सघाउ पु¥याउनुको साथै देशको सांस्कृतिक सम्पदाको विकास गर्न परिपक्व ज्ञानको प्रयोग गर्नुपर्छ । विश्व तीव्र गतिले विकास पथमा अघि बढिरहेको हुनाले प्रगतिको प्रत्येक क्षेत्रमा उनीहरूलाई कठिन प्रतिस्पर्धाको गर्नुपर्ने हुन्छ । तसर्थ यसप्रति सचेत हुनुपर्छ किनभने प्रतिस्पर्धामा सामेल हुनको लागि सामाजिक गतिविधिप्रति सचेत हुनु र अरूलाई पनि यसप्रति सचेत हुन प्रेरित गर्नुपर्छ ।
स्वस्थ बुद्धि र चिन्तनद्वारा नै मानिसको विकास हुने भएकोले आफ्नो र राष्ट्रको समृद्धिका लागि विद्यार्थीहरूले नैतिक बल बढाउनुपर्छ र समाजमा नैतिक–जीवनको आदर्श प्रस्तुत गर्नुपर्छ । समाजमैं बसेर आज विद्यार्थीले शिक्षा ग्रहण गरिराखेका छन् । शिक्षा प्राप्त गर्न पहिलेजस्तो गुरुकुलमा गएर बस्नु पर्दैन । यस कारण ले पनि होला उनीहरूमाथि आज राष्ट्र, परिवार र समाज आदिको कैयन जिम्मेवारी थपिएको छ । जुन विद्यार्थीले आफ्नो यस जिम्मेवारी र कर्तव्यको निर्वहन गर्दछ, उसलाई नै सही विद्यार्थी भन्न सकिन्छ ।
यस कारण राष्ट्र निर्माणको लागि उनीहरूमा कर्तव्यपरायणता हुनु अति आवश्यक छ । अनुशासनबेगर कुनै पनि कार्य राम्ररी सम्पन्न हुँदैन । राष्ट्र निर्माणको मुख्य आधार अनुशासन नै हो । तसर्थ अनुशासनमा बसेर देश विकासको चिन्तन गर्नु विद्यार्थीको लागि अति आवश्यक हुन जान्छ ।
जसरी कमजोर जग भएको भवन बढी दिन टिक्दैन, त्यसैगरी अनुशासनहीन राष्ट्र पनि धेरै दिन सुरक्षित रहन सक्दैन । यस कारणले पनि होला विद्यार्थीहरूलाई अनुशासित सैनिक जस्तै कर्तव्यप्रति सचेष्ट रहनुपर्छ । अनि मात्र उनीहरूले राष्ट्र निर्माणमा योगदान दिन सक्छन् । हाम्रो पालनपोषण, विकास, ज्ञानार्जन आदि समाजमैं बसेर सम्भव हुन्छ । यस कारण हाम्रो दायित्व समाजको उत्थानको लागि चिन्तन–मनन गर्नु पनि हो ।
विद्यार्थीहरूले समाज सेवाद्वारा आफ्नो समाजको उत्थानमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । अशिक्षितहरूलाई शिक्षित बनाउन सक्छन् । शिक्षाको प्रचार र प्रसार गर्न सक्छन् । यसैगरी समाजमा व्याप्त छुवाछूत र कुरीति समाप्त गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। यसरी विद्यार्थीहरू देशमा पिछडिएको वर्ग र समुदायलाई मुख्य धारासँग जोड्न प्रेरणा दिन सक्छन् ।
विद्यार्जनबाट विद्यार्थीहरूमा चिन्तन र मनन शक्तिको विकास हुनु स्वाभाविक हो । तर के गर्ने आज विद्यालय बन्द रहेको अवस्था छ । आज शिक्ष्Fा कसैको प्राथमिकतामा छैन । राष्ट्रप्रति योगदान दिने विद्यार्थीहरूले नेतागिरीजस्तै आलङ्कारिक वाक्य वाचन गर्नु उचित होइन । यसबाट देश र समाजलाई हानि हुन्छ । भविष्यमा देशको उत्तरदायित्व विद्यार्थीहरूले नै लिनु छ।
यस कारण के आवश्यक छ भने उनीहरू राष्ट्रहितको पक्षमा विचार गरेर यस्ता कार्य गरून् जसबाट राष्ट्र प्रगति पथमा निरन्तर अघि बढोस् । जब विद्यार्थीहरू समाज सेवाको लक्ष्य लिएर अघि सर्छन् त्यस बेला मात्र उनीहरू इमानदार राष्ट्र निर्माता बन्न सक्छन् । खाँचो विद्यार्थीहरूले आफ्नो शक्तिको सही मूल्याङ्कन गर्दै त्यसलाई सिर्जनात्मक कार्यमा उपभोग गर्नु हो ।