कोरोना सङ्क्रमणबाट जोगाउनका लागि भारतबाट प्रवेश गर्नेहरूलाई कम्तीमा दश दिन र बढीमा चौध दिनसम्म क्वारेन्टाइनमा राख्नका लागि सरकारले देशभरका दशवटा नाकामा एक हजार मानिस अट्ने होल्डिङ सेन्टरको निर्माण शुरू गरेको छ । पहिलो कोरोनाकालमा भारतबाट आउनेहरूलाई ठाकुर राम बहुमुखी क्याम्पस, त्रिजुद्ध मावि र सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । सीमा सिल गरिएको थियो अनि भारतमा विभिन्न कारणवश रहेका नेपालीहरू लकडाउनमा घर फिर्ता आउँदा अनिवार्यरूपमा तोकिएका क्वारेन्टाइनमा १४ दिन बसेर स्वास्थ्य परीक्षण गराएर मात्र घर जान पाउने व्यवस्था गरिएको थियो । पहिलो कोरोनाकालमा गरिएको सीमा सिल अहिले पनि यथावतै छ । तर सीमा सिल भएपनि खुला सीमा भएको कारण रक्सौल र वीरगंजमा मानिसहरू कामका लागि, बजार गर्न, आफन्त भेट्न आदि कामका लागि आवतजावत रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गर्दै आएको छ । पछिल्लोपटक असार १३ गतेसम्म साताव्यापी निषेधाज्ञा थप गर्दै आए पनि असार २० गतेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी छ । यो अवधिमा पर्सा जिल्लाको मुख्य नाका वीरगंज–रक्सौल मात्र खोलिएको छ । तर मालवाहक सवारीसाधनहरूको आवतजावतका लागि मात्र । यो अवधिमा मुख्य नाकाबाट विदेशीलाई पूर्णरूपमा रोक लगाइएको छ । तर जिल्लामा रोक लगाइएका अन्य नाकाहरूझैं वीरगंज–रक्सौल नाकामा पनि नाम मात्रको रोक छ । निजी सवारीसाधनहरू आउजाउ नभए पनि मानिसहरूको आवतजावत निर्बाधरूपमा जारी छ ।
भारतबाट आउनेहरूलाई अनिवार्यरूपमा तोकिएको होल्डिङ सेन्टरमा राख्ने, उनीहरूको स्वास्थ परीक्षण गर्ने जस्ता नियमहरू बनाइएका छन तर त्यसको पालना हुन सकेको छैन । अहिले यो नियम पालना हुन नसक्नुको प्रमुख कारण होल्डिङ सेन्टरको व्यवस्था नभएकोले पनि हो । एक हजार मानिस अट्ने होल्डिङ सेन्टर भदौ मसान्तसम्म तयार भइसक्ने निर्माणको जिम्मा पाएको नेपाली सेनाले बताएको छ । यसो हुने हो भने अब तेस्रो भेरियन्टको कोरोना केही हदसम्म नियन्त्रण हुन सक्ने आशा लिन सकिन्छ । दोस्रो कोरोनाकालमा भारतबाट मानिसहरू निर्बाध प्रवेश गर्दैछन् । सार्वजनिक सवारीसाधनहरू बन्द छन् तर पनि वीरगंजलगायतबाट सार्वजनिक सवारीसाधनहरू सञ्चालनमा छन् र भारतीयहरू स्वास्थ्य मापदण्डविना नेपाल प्रवेश गर्दै गरेकाले हामीकहाँ कोरोना निरन्तर बढ्दो छ ।
पिसिआर र एन्टीजेन परीक्षणपछि मात्र भारतीयहरूलाई राजधानी प्रवेश गर्न पाउने व्यवस्था पनि यसअघि गरिएको थियो । अहिले प्रवेशमा रोक लगाइएको छ तर कडाइ नगरिएको कारण उनीहरूको आवतजावत जारी छ । आवतजावत रोक्न समस्या भएको छ भने यसअघि गरिएको पिसिआर र एन्टीजेनको अनिवार्य परीक्षणले कोरोना नियन्त्रण धेरै हदसम्म प्रभावकारी हुन सक्छ । होल्डिङ सेन्टर निर्माणको क्रममा रहेको र सो निर्माण नहुन्जेल यो विधि अपनाएर नियन्त्रण गर्नेतर्फ सोच बनाउँदा राम्रो होला । तर निर्णय मात्र गर्ने सोको कार्यान्वयनमा भने पटक्कै ध्यान नदिने प्रवृत्ति पालेर बसेकाहरूलाई राय, सल्लाह, सुझाव ‘भैंसीको अगाडि बिन बजाए’ जस्तो त हो नि ?